शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

गणेश नेपालीलाई सहिद घोषणा गर्न माग, परिवारले बुझेनन् शव

महानगरको प्रहरीसँग विवादपछि शरीरमा आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीलाई सहिद घोषणा गर्न उनको परिवारले माग गरेको छ। सरकारी प्रतिनिधिहरूसँग भएको छलफलमा परिवारका सदस्यले सहिद घोषणा लगायत माग राखेका छन्। 

नेपालीका आमा–बुबा समेत शुक्रबार मुगुबाट काठमाडौं आइपुगेका छन्। आमा–बुबा लगायत परिवारका सदस्यसँग शुक्रबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो। छलफलमा शहिद घोषणा, दोषीलाई कारबाही, राहत, रोजगारी लगायतका विषयमा छलफल भएको स्रोत बताउँछ । मागमा सरकारी पक्ष सकारात्मक भएपछि सहमति नहुँदा परिवारले शनिबारसम्म शव बुझेका छैनन्। 

भोलि र पर्सी पूर्वी र मध्य नेपालमा ठुलो वर्षाको सम्भावना

पश्चिम नेपालमा केन्द्रित रहेको मनसुनी वर्षा आइतबारबाट पूर्वी र मध्य नेपालमा सिफ्ट हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन कोशी, मधेश,  बागमती र गण्डकी तथा लुम्बिनीका पूर्वी क्षेत्र केन्द्रित वर्षाको सम्भावना छ । त्यसमा पनि कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा अति भारी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ ।

मौसमविद् रोजन लामिछानेले लुम्बिनीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रुपमा कम पानी पर्ने देखिएको बताए । ‘पानी त देशभर पर्छ । तर, मनसुनको न्यून चापीय रेखा पूर्वमा नेपालको तराई नजिक आउदैछ । यसले आइतबारबाट पूर्वी र मध्य नेपालमा अलि बढी पानी पर्ने देखिन्छ,’ उनले भने, ‘मधेशमा पनि पानी पर्छ । त्यहाँका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।’ 

कीर्तिपुरबाट पक्राउ परेका नेकपाका नेता र जेनजी प्रतिनिधिहरू रिहा

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट पक्राउ परेका नेकपाका नेता तथा जेनजी प्रतिनिधिहरू छुटेका छन्। नेकपाका केन्द्रीय सदस्य तथा भूमी आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्का तथा जेनजी प्रतिनिधिहरू माजिद अन्सारी, सरिष्मा थापा लगायतलाई प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको हो।

प्रहरीको काममा अवरोध गरेको भन्दै कीर्तिपुरबाट उनीहरु पक्राउ परेका थिए। होल्डिङ सेन्टरमा बाढी पसेपछि उनीहरु बुझ्न गएका थिए। त्यहाँ राखिएका सुकुम्बासीलाई भक्तपुरमा स्थानान्तरण गर्ने काममा अवरोध गरेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरु सबै रिहा भइसकेको काठमाडौं परिसरका एसपी पवन भट्टराईले बताए। नियन्त्रणमा लिने क्रममा अपशब्द प्रयोग गरेको आरोप लागेको छ। 

बझाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, १२ जना घाइते

बझाङ जिल्लाको केदारस्यु गाउँपालिका–७, सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का पूर्ववडासदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका–७ का जिपचालक देवबहादुर धामी गम्भीर घाइते भएका छन्। यस्तै, दुर्गाथली गाउँपालिका–६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्।

कपिलवस्तुमा वाणगंगा खोलामा फसेका ७ जनाको सकुशल उद्धार

कपिलवस्तुको वाणगंगा नगरपालिका–८, बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाको बहाव बढ्दा बिच भागमा फसेका सातजना युवाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार दिउँसो करिब २: ५० बजे घटनाको सूचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विपत् उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो। टोलीले समन्वयात्मक रूपमा उद्धार अभियान सञ्चालन गरी सबै ७ जनालाई सुरक्षित रूपमा बाहिर निकालेको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये वाणगंगा नगरपालिका–४ का १७ वर्षीय सम्राट गिरी, १७ वर्षीय ज्ञानेन्द्र परियार, १८ वर्षीय निर्वाचन नेपाली, १७ वर्षीय कृष्ण तिवारी, १७ वर्षीय मनीष थापा, वडा नं. १ बैरयाका १६ वर्षीय विकल्प रेस्मी तथा वडा नं. ८ त्रिलोक मार्गका १७ वर्षीय सुवास घिमिरे रहेका छन्।

शरीरमा पेट्रोल छर्किएर आगो लगाएका व्यवसायी राउतको उपचारको क्रममा मृत्यु

शरीरमा पेट्रोल छर्किएर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ। उनको वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

राउतले शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा आगो लगाएका थिए। उनको शरीरको ५० प्रतिशतभन्दा धेरै भाग जलेको थियो। व्यक्तिगत तनावमा उनले यसरी आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। 

विपत् हटलाइन १२३४ अब देशभर सञ्चालन

विपतसम्बन्धी सूचना, गुनासा, उद्धार तथा समन्वय सेवालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले विपत् हटलाइन नम्बर १२३४ लाई देशभरका सबै जिल्लामा सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्र सञ्चालन हुँदै आएको टोल–फ्री विपत् नम्बर ११४९ लाई प्रतिस्थापन गर्दै नयाँ हटलाइन १२३४ लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ। अन्य ७४ जिल्लाबाट गरिएका फोन भने स्वतः सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा ‘राउट’ हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यस व्यवस्थासँगै नागरिकले विपतसम्बन्धी सूचना, समस्या, गुनासा वा सुझावका लागि आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। यसले उद्धार, समन्वय तथा सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सुन्दरीघाट राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा

काठमाडौंको कीर्तिपुर नगरपालिका १० स्थित सुन्दरीघाट राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ । बर्षाको कारण बागमती नदीको बहाव बढेकाले सुकुमबासी होल्डिङ सेन्टर डुवान परेको हो ।

गएराति ०१:३८ बजे होल्डिङ सेन्टरमा रहेका १५४ जना सुकुमबासी मध्ये ५४ जनालाई उद्धार गरी क्रितिपुर स्थित स्मृति भवनमा लगिएको छ । ६ जना होस्टलमा बसेको र ९४ जना जान नमानी त्यही पानी नभएको स्थानमा बसेको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चितवनमा कृषिमन्त्री गीता चौधरीको छड्के अनुगमन, किसानसँग प्रत्यक्ष संवाद

कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले शनिबार बिहानैदेखि चितवन जिल्लाका विभिन्न गाउँ तथा कृषि क्षेत्रको छड्के अनुगमन गरेकी छिन्।

बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बिउ, विषादी तथा अन्य कृषि सामग्री पाएका छन् वा छैनन्, बजारमा कालोबजारी, कृत्रिम अभाव तथा कृत्रिम मूल्यवृद्धि भए–नभएको अवस्थाबारे स्थलगत जानकारी लिन मन्त्री चौधरी फिल्डमा पुगेकी हुन्।

मन्त्री चौधरीले चितवनका विभिन्न पालिका तथा खेतबारीमा पुगेर किसानसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिन्। उनले धान रोपाइँलगायत मौसमी बालीको अवस्था, मल–बिउको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिइन्।

ऋण असुलीबाट शिवशिखरका थप ९६ जना पीडितले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।समितिका अनुसार शिवशिखर सहकारीका ९६ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिवशिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। 

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

सुझावित समाचार