विपतसम्बन्धी सूचना, गुनासा, उद्धार तथा समन्वय सेवालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले विपत् हटलाइन नम्बर १२३४ लाई देशभरका सबै जिल्लामा सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्र सञ्चालन हुँदै आएको टोल–फ्री विपत् नम्बर ११४९ लाई प्रतिस्थापन गर्दै नयाँ हटलाइन १२३४ लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ। अन्य ७४ जिल्लाबाट गरिएका फोन भने स्वतः सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा ‘राउट’ हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
यस व्यवस्थासँगै नागरिकले विपतसम्बन्धी सूचना, समस्या, गुनासा वा सुझावका लागि आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। यसले उद्धार, समन्वय तथा सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधार कार्यसूची कार्यान्वयन गर्दै परिणाममुखी, जवाफदेही र प्रभावकारी नागरिक सेवा प्रवाहको नीति अपनाइएको छ। सोही निर्णयअनुसार देशभरका ७७ वटै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र २४ सै घण्टा सञ्चालनमा ल्याइएका छन्।
मन्त्रालयले विपतको समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र आवश्यक परे विपत् हटलाइन १२३४ मा सम्पर्क गर्न सबै नागरिकलाई आग्रह गरेको छ।
