राजनीतिक दाउपेचले प्रदेशमा अस्थिरता, साढे तीन वर्षमै २८ मुख्यमन्त्री

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

०७९ को निर्वाचनपछि सातवटा प्रदेशमा २८ मुख्यमन्त्री फेरिएका छन् । एउटै व्यक्ति पटक–पटक मुख्यमन्त्रीमा दोहोरिएकासमेत गरी २८ पुगेका हुन् । यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित छन् ।

कोशीमा साढे तीन वर्षमा ६ मुख्यमन्त्री फेरिएका छन् । एमालेबाट हिक्मत कार्की तीनपटक र कांग्रेसबाट उद्धव थापा दुईपटक तथा केदार कार्की एकपटक मुख्यमन्त्री बनेका हुन् । हिक्मत कार्की पछिल्लोपटक २७ वैशाख ०८१ देखि मुख्यमन्त्री छन् ।

मधेशमा यो अवधिमा पाँच मुख्यमन्त्री फेरिएका छन् । जसपाका सरोज यादव, जनमतका सतिस सिंह, लोसपाका जितेन्द्र सोनल, एमालेका सरोजकुमार यादव र कांग्रेसका कृष्णप्रसाद यादव एक–एकपटक मुख्यमन्त्री बनेका हुन् । यादव १९ मंसिर ०८२ देखि प्रदेश सरकारको नेतृत्वमा छन् । त्यस्तै, बागमतीमा तीनपटक मुख्यमन्त्री फेरिएकामा दुईपटक कांग्रेस र एकपटक तत्कालीन माओवादीले नेतृत्व गरेका छन् । विगतमा कांग्रेसबाट बहादुरसिंह लामा र तत्कालीन माओवादीबाट शालिग्राम जमरकट्टेल मुख्यमन्त्री रहेकामा २० साउन ०८२ यता कांग्रेसका इन्द्र बानियाँले सरकार हाँकिरहेका छन् ।

गण्डकीमा चारपटक मुख्यमन्त्री फेरिएका छन् । कांग्रेस र एमालेले दुई–दुईपटक नेतृत्वको अवसर पाएका छन् । कांग्रेसका सुरेन्द्रराज पाण्डे र एमालेका खगराज अधिकारी पालैपालो मुख्यमन्त्री बनेका हुन् । हाल पाण्डे १६ जेठ ०८१ देखि नेतृत्वमा छन् ।

लुम्बिनी प्रदेशमा पनि चारपटक नै मुख्यमन्त्री फेरिएका छन् । एमाले र तत्कालीन माओवादीले दुई–दुईपटक नेतृत्व पाएका छन् । एमालेबाट पहिला लीला गिरी मुख्यमन्त्री रहेकामा ७ साउन ०८१ यता चेतनारायण आचार्यले नेतृत्व गरिरहेका छन् । यसअघि तत्कालीन माओवादीबाट जोखबहादुर महरा र डिल्लीबहादुर चौधरीले नेतृत्व सम्हालिसकेका छन् ।

कर्णालीमा दुईपटक मुख्यमन्त्री हेरफेर भएकामा एकपटक तत्कालीन माओवादी र एकपटक एमालेले नेतृत्व पाएका छन् । सुरुमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेकामा २७ चैत ०८० यता एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन् । सुदूरपश्चिममा भने मुख्यमन्त्री चारपटक फेरिएका छन् । दुईपटक कांग्रेस, एकपटक एमाले र एकपटक तत्कालीन नेकपा एसले नेतृत्व सम्हालेका हुन् । एमालेबाट राजेन्द्रसिंह रावल, कांग्रेसबाट कमलबहादुर शाह र नेकपा एसबाट दीर्घ सोडारी मुख्यमन्त्री बनेका हुन् । कांग्रेसका शाह २० साउन ०८१ देखि दोस्रो पटक नेतृत्वमा छन् ।

सुझावित समाचार