कांग्रेसको संस्थापन पक्षसँग सार्थक संवाद हुन नसकेपछि समानान्तर महाधिवेशनको तयारीमा रहेको इतर पक्षको विस्तारित बैठक सोमबार बस्दै छ । काठमाडौं महाराजगन्जस्थित चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा सोमबार दिउँसो १ बजे बस्ने गरी विस्तारित बैठक बोलाइएको छ ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यका साथै काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई आमन्त्रण गरिएको इतर पक्षका नेता मीन विश्वकर्माले जानकारी दिए । ‘बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौंमा उपलब्ध जिल्ला सभापति सहभागी हुनुहुन्छ । वर्तमान परिस्थितिको समीक्षा र भावी योजनाबारे बैठकमा विस्तृत छलफल हुन्छ,’ उनले भने ।
गत शुक्रबार बसेको संस्थापन इतर पक्षको बैठकले सहमतिका लागि संस्थापन पक्ष सकारात्मक नभएको निष्कर्ष निकाल्दै विस्तारित बैठक बोलाएको हो । विस्तारित बैठकबाटै राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी छ । आगामी ६ साउनमा राष्ट्रिय कार्यकर्ता भेला आह्वानको तयारी रहेको इतर पक्षका एक नेताले नयाँ पत्रिकालाई बताए । राष्ट्रिय भेलाले १५औँ महाधिवेशनको तालिका ल्याउने तीन नेताले दाबी गरे ।
‘गगन थापासँग सहमति हुँदैन भन्ने निष्कर्ष रह्यो । सहमतिको खाका ल्याउँछु भनेको पनि महिना दिन बित्यो । अदालतबाट फैसला भएको पनि यतिका दिन भयो । सहमतिको कुनै प्रयास छैन । उहाँहरू एकलौटी ढंगले चलेपछि हामी चुप लागेर बस्ने कुरा भएन । हामी पनि १५औँ महाधिवेशनको तयारी गर्छौँ,’ ती नेताले भने, ‘तीन महिना गइसक्यो, सदस्यता नवीकरण गरेका र अद्यावधिक गरेका दुवैलाई मानौँ, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्यलाई केन्द्रीय समितिमा राखौँ भनेको हो । त्यसमा पनि उहाँहरू तयार नभएपछि कुरा प्रस्टै छ नि ।’
आत्मसमर्पण गर्ने पक्षमा आफूहरू नरहेको नेता कान्छाराम तामाङ बताउँछन् । ‘हामी आत्मसमर्पण गर्ने पक्षमा छैनौँ । गगन थापाजी एकलौटी रूपमा अगाडि बढेपछि हामी पनि आफ्नो ढंगले अगाडि बढ्नुपर्ने हुन्छ,’ उनले भने । कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य गर्न नहुने र १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा मर्ज गर्नुपर्ने मुख्य माग इतर पक्षको छ । तर, ती दुवै मागमा संस्थापन पक्ष तयार देखिएको छैन ।
इतर समूहका नेताहरूले विशेष महाधिवेशनअघि गत पुसभित्रै १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेका छन् । नवीकरण गरिसकेपछि पुनः अद्यावधिक गर्न नपर्ने अडान इतर पक्षको छ । इतर पक्षको माग राजनीतिक नभई प्राविधिक विषय मात्र भएको संस्थापन पक्षको बुझाइ छ । ‘सदस्यता अद्यावधिकको विषयमा धेरै कोलाहल मच्याउने काम भइरहेको छ । बुझ्नुपर्ने कुरा के हो भने सम्पूर्ण सदस्यको विवरण डिजिटल प्रविधिमा अपडेट गर्ने मात्रै हो । त्यसमा विवाद झिक्नुपर्ने कुनै कारण छैन,’ सहमहामन्त्री प्रकाश स्नेहीले भने ।
१५औँ महाधिवेशन प्रविधिमैत्री बनाउने संस्थापनको घोषणा
कांग्रेसले १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने भएको छ । महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने तयारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेसन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो । निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन इभिएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने निर्णय भएको समितिका सदस्यसचिव राजु कटुवालले बताए ।
‘कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ । साथै, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन अर्थात् पेपरलेस प्रविधि वा इभिएम प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गर्दछ,’ समितिको निर्णयमा भनिएको छ ‘निर्वाचन प्रक्रिया सुरु भइसकेपछि निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने भएकाले निर्वाचन अवधिमा विधानमा अन्यथा उल्लेख भएकोमा बाहेक निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायहरूलाई आग्रह गर्ने निर्णय गर्दछ ।’
समितिले लैंगिक समावेशितालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुरमा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकताका साथ खटाउने निर्णय पनि गरेको छ । उपत्यकाका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिलाहरूले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नेछन् ।
क्रियाशील सदस्यताको म्याद १५ दिन थप
कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय फेरि थपेको छ । आगामी ३ साउनसम्म क्रियाशील सदस्यता लिन सकिने गरी कांग्रेसले समय थपेको हो । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले समय थपेको हो । ‘वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, साथै अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्यसमेत जारी रहेकाले सम्बन्धित जिल्लामा खटिनुभएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि ३ साउनसम्म थप गरिएको छ,’ समितिको आइतबार बसेको बैठकको निर्णयमा भनिएको छ ।
समितिका सदस्य प्रकाश स्नेहीले केन्द्रीय प्रतिनिधिको सुझावका आधारमा समय थपिएको बताए । यसअघि नयाँ सदस्यताका लागि २० असारसम्मको समय तोकिएको थियो । अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन सकिने व्यवस्था कांग्रेसले गरेको छ ।
कांग्रेसले तीन लाखभन्दा बढी नयाँ सदस्य बनाउने लक्ष्य राखेको छ । नयाँ र पुराना नवीकरण गरी १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य कांग्रेसको छ । करिब सात लाखले क्रियाशील सदस्यता नवीकरण गरेको कांग्रेसले जनाएको छ । नयाँ सदस्यताका लागि आवेदन दिने क्रम जारी छ । ‘नयाँ सदस्यताको काम देशव्यापी रूपमा भइरहेको छ । तीन लाखभन्दा बढीले नयाँ सदस्यता लिने अपेक्षा गरिएको छ । यसो गर्दा कांग्रेस नेपालमा सबैभन्दा धेरै सदस्य भएको पार्टी बन्दै छ,’ उनले भने ।
क्रियाशील सदस्य कांग्रेसका प्राथमिक मतदाता हुन् । कांग्रेसमा क्रियाशील सदस्य नै वडादेखि केन्द्रीय नेतृत्व चयन गर्ने आधार भएकाले नयाँ क्रियाशील सदस्यतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सदस्यता टुंग्याउन कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । क्रियाशील सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा कुनै समस्या वा गुनासो प्राप्त भएमा सो सम्बन्धमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने निर्णय गरिएको छ । उक्त सिफारिसका आधारमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकको आवश्यक व्यवस्था मिलाउने भएको छ । कांग्रेसको १५औँ महाधिवेशन आगामी १६–१९ असोजमा गर्ने कार्यतालिका छ ।