शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

खुला प्रतिस्पर्धाबाट सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

सरकारले खुला प्रतिस्पर्धाबाट सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ।  छनोट समितिको सिफारिसबाट प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गरेका हुन्। 

त्रिभुवन विश्वविद्यालयमा भोला थापा नियुक्त भएका छन्।  पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, राजर्षि जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेल नियुक्त भएका हुन्। 

एन्फा पदाधिकारीको वैदेशिक यात्रामा अवरोध नगर्न उच्च अदालतकाे अन्तरिम आदेश

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न अन्तरिम आदेश दिएको छ।

पंकजविक्रम नेम्वाङले दायर गरेको रिटमा न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरिदिएको हो। राष्ट्रिय खेलकुद परिषद्ले ०८२ चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो। तर, ०८३ जेठ १ मा पुनः निलम्बन फुकुवा भएको उल्लेख गर्दै अदालतले यस्तो आदेश दिएको हो।

वर्षाले रोपाइँलाई साथ, अर्को साता पनि अनुकूल मौसम

देशभर मनसुन सक्रिय भएसँगै धान रोपाइँले गति लिएको छ। यो साताभर अधिकांश क्षेत्रमा पर्याप्त वर्षा भएपछि किसान खेतमा व्यस्त भएका छन् भने आगामी सातासमेत मनसुनी गतिविधि कायम रहने पूर्वानुमानले रोपाइँलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी गरेको १९–२५ असारको कृषि–मौसम सल्लाह बुलेटिनअनुसार आगामी साताभर देशभर मनसुनी वायुको सामान्य प्रभाव रहनेछ। पहाडी तथा तराईका अधिकांश क्षेत्रमा मध्यम वर्षा हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

संवैधानिक परिषद् बैठक : प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त सिफारिस

संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्त र दुई आयुक्त नियुक्तिको सिफारिस गरेको छ।

प्रधानमन्त्री कार्यालयमा शुक्रबार बसेको बैठकले मोरङका मानबहादुर कार्कीलाई प्रमुख आयुक्त तथा काठमाडौंका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई आयुक्तमा सिफारिस गरेको हो। कार्की सर्वाेच्चका रजिष्ट्रार हुन् भने डा.सुब्बा नेपाल प्रहरीका पूर्वडिआइजी हुन्। त्यस्तै, वाग्ले न्याय सेवाकै पूर्वकर्मचारी हुन्।  आयोगमा प्रमुख आयुक्त र आयुक्तको पद रिक्त छ। 

यी हुन् बैतडी दुर्घटनाका १९ घाइते

धनगढीबाट बैतडी आउँदै गरेको यात्रुवाहक बस पाटन नगरपालिका– ८, गैराखानमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य छ भने गम्भीर चोटपटक लागेकाहरूलाई डडेलधुरा अस्पताल भर्ना गरिएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा पाटन नगरपालिका– ६ का जनकप्रसाद पन्त (४३), सिद्धार्थ भण्डारी (११) र मोहन पन्त (३१), पाटन– ३ का चालक दिनेश भाट (२५) र दुरा बोहरा (२५), पुर्चाैडी नगरपालिका– ८ की स्वास्थ्यकर्मी रत्नाकुमारी भण्डारी (३५), पुर्चाैडी– १ की स्वास्थ्यकर्मी अनुगरा ठगुन्ना (३५) रहेका छन्।

हाजिर भएको नभई नियुक्ति मितिबाट ज्येष्ठता कायम हुने सर्वोच्चको फैसला

ज्येष्ठताका आधारमा कर्मचारीको बढुवा गर्दा कार्यालयमा हाजिर भएको मिति नभई नियुक्ति मितिको आधारमा गरिनुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । फरक–फरक फैसला भएपछि एकरूपता कायम गर्न संयुक्तबाट पूर्ण इजलासमा पठाइएको एक रिटमाथि यस्तो फैसला आएको हो । 

एमालेको निष्कर्ष– सरकारको काम अत्यन्त फितलो‚ अपरिपक्व र विवादास्पद (पूर्णपाठसहित)

नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको काम अत्यन्त फितलो‚ अपरिपक्व र विवादास्पद रहेको टिप्पणी गरेको छ। शुक्रबार ‘सरकारको वाचा र यथार्थ’को ६बुँदे समीक्षा सार्वजनिक गर्दै एमालेले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको हो।

महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्तिमार्फत प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोडिएका उल्लेख गर्दै सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै देखिएको आरोप लगाएका छन्।

स्वास्थ्य बिमा बोर्डले भन्यो– अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू

स्वास्थ्य बिमा बोर्डले बिमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य परीक्षण नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन आग्रह गरेको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि बिमा कार्यक्रमअन्तर्गत तोकिएको मापदण्डअनुसार मात्रै स्वास्थ्य सेवा प्रदान गर्न र अनावश्यक परीक्षण नगर्न तथा नगराउन अनुरोध गरेको छ।

बर्ड फ्लु प्रभावित किसानलाई ५० करोड निकासा

कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।

मन्त्रालयले बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अन्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम रकमान्तर गरेर विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लुका कारण आर्थिक क्षति व्यहोरेका किसानलाई राहत उपलब्ध गराउन विभागले मन्त्रालयसँग बजेट माग गरेको थियो।

नेप्से आठ अंकले घट्दा कारोबार रकममा वृद्धि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से ८.३० अंकले घटेर दुई हजार ६५३.४० विन्दुमा कायम भएको हो।

३४५ कम्पनीका ८५ लाख ८४ हजार कित्ता सेयर चार अर्ब ४१ करोड २३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ। बिहीबार चार अर्ब ११ करोडमाथि रहेको कारोबार रकममा शुक्रबार वृद्धि भएको हो।

सुझावित समाचार