स्वास्थ्य बिमा बोर्डले बिमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य परीक्षण नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन आग्रह गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि बिमा कार्यक्रमअन्तर्गत तोकिएको मापदण्डअनुसार मात्रै स्वास्थ्य सेवा प्रदान गर्न र अनावश्यक परीक्षण नगर्न तथा नगराउन अनुरोध गरेको छ।
बोर्डका अनुसार हालसम्म ०८२ मंसिर मसान्तसम्मको दाबी रकम मात्र भुक्तानी गरिएको छ। सरकारले आवश्यक बजेट विनियोजन गरेपछि पुसदेखि यताको दाबी रकम भुक्तानी गरिने जनाएको छ।
विज्ञप्तिअनुसार चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको छ। यससँगै ०८२ मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाहरूको दाबी बक्यौता फरफारक भएको बोर्डले जनाएको छ।
मंसिरपछिको दाबी रकम भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय तथा पहल निरन्तर भइरहेको बोर्डले उल्लेख गरेको छ।
बोर्डले भुक्तानी प्रक्रियामा ढिलाइ भए पनि सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बिमित सेवाग्राहीको उपचारमा कुनै अवरोध वा कठिनाइ सिर्जना नगर्न तथा बिमा कार्यक्रमअन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ।
