नेप्से आठ अंकले घट्दा कारोबार रकममा वृद्धि

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से ८.३० अंकले घटेर दुई हजार ६५३.४० विन्दुमा कायम भएको हो।

३४५ कम्पनीका ८५ लाख ८४ हजार कित्ता सेयर चार अर्ब ४१ करोड २३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ। बिहीबार चार अर्ब ११ करोडमाथि रहेको कारोबार रकममा शुक्रबार वृद्धि भएको हो।

नेप्सेका १३ समूहमध्ये आज ६ समूहको सूचक उकालो लागेको छ। वित्त समूह १.०६ प्रतिशतले बढ्दा विकास बैंक, जलविद्युत्, लघुवित्त, निर्जीवन बिमा र व्यापार समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ। बाँकी समूह एक प्रतिशतभन्दा थोरैले ओरालो लागे।

बजार घटे पनि सानिगाढ हाइड्रो र स्नो रिभर्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिंगा हाइड्रो र नेपाल फाइनान्स पनि १४ प्रतिशतभन्दा धेरैले बढेका छन्। सर्वाधिक घटेका अपर लाहोरे खोला र धौलागिरि लघुवित्तका लगानीकर्ताले क्रमशः १३ र ११ प्रतिशतभन्दा धेरै गुमाएका छन्।

कारोबार भएको सेयर संख्या र कारोबार रकमका आधारमा आज एग्रिकल्चर बोन्ड शीर्ष स्थानमा छ। उक्त धितोपत्रको चार लाख ३० हजार कित्ता सेयर ४३ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको हो।
 

सुझावित समाचार