अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको २३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा अफ्रिकी राष्ट्रहरूले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपमा सहभागी १० मध्ये नौ अफ्रिकी राष्ट्रले नकआउट चरणमा स्थान बनाए । सेनेगल, आइभोरी कोस्ट तथा कंगो राउन्ड अफ ३२ मा युरोपियन टोलीविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्न सफल रहे । कंगोले इंग्ल्यान्ड, आइभोरी कोस्टले नर्वे तथा सेनेगलले बेल्जियमविरुद्ध नकआउट चरणमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिस्पर्धाको एक समय यस्तो समीकरण बनेको थियो, तीनवटै युरोपका बलिया टोलीविरुद्ध अफ्रिकी टोली लगभग जितनजिक पुगेका थिए । इंग्ल्यान्ड, नर्वे तथा बेल्जियमले खेलको ८६औँ मिनेटमा निर्णायक तथा पुनरागमन गोल गरे । इंग्ल्यान्ड र नर्वेले ८६औँ मिनेटमा विजयी गोल गरे । बेल्जियमले सेनेगलविरुद्ध ८६औँ मिनेटमै पुरागमन गोल फर्काएको थियो ।
एक किसिमले सेनेगल, आइभोरी कोस्ट र कंगोलाई प्रतिस्पर्धाको ८६औँ मिनेट ‘अनलक्की’ साबिक भएको देखिन्छ । यसपछि उनीहरू पराजित भए । पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान पक्का गरेको दक्षिण अफ्रिका सहआयोजक क्यानडासँग ९२औँ मिनेटमा पराजित भएको थियो । मोरोक्कोको वर्ल्ड न्युजकी खेलपत्रकार इक्रम सहाना अफ्रिकन टोलीलाई ८६औँ र त्यसपछिका समय नफापेको बताउँछिन् । ‘लगातार दुई दिन अफ्रिकाका बलिया टोली ८६औँ मिनेटको सिकार भए, यही अवधिमा युरोपियन टोलीले पुनरागमन मात्र गरेनन्, जितसमेत निकाल्न सफल भए,’ सहाना भन्छिन्, ‘वास्तवमा जितनजिक पुगेको कुनै टोली अन्तिम तीन मिनेट सम्हालिन नसक्दा पराजित हुन्छन् भने त्योभन्दा बढी पीडादायी के हुन सक्छ ।’
सेगेगल २–३ बेल्जियम
सन् २००२ को विश्वकपमा सेनेगलले साबिक विजेता फ्रान्समाथि १–० को सनसनीपूर्ण जित निकालेको थियो । सेनेगलले चालू विश्वकपमा यस्तै प्रदर्शन गरी २४ वर्षपछि नकआउट चरणमा स्थान पक्का गर्यो । उसले राउन्ड अफ ३२ मा बेल्जियमविरुद्ध प्रतिस्पर्धा गरेको हो । सेनेगलले खेल अवधिमा बेल्जियमजस्तो टोलीविरुद्ध ८५औँ मिनेटसम्म २–० को अग्रता लिएको थियो । सेनेगल विश्वकपमा लगभग अर्को इतिहास रच्ने तयारीमा थियो । खेलाडी, समर्थक तथा अफिसियल मनोवैज्ञानिक जितको भावनाका रूपमा प्रस्तुत भइसकेका थिए । सात मिनेट बेल्जियमलाई रोक्दा सेनेगल प्रिक्वार्टरफाइनलमा पुग्ने थियो ।
खेलमा नाटकीय परिवर्तन भयो । खेलको ८६औँ मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गरे । एक गोल फर्काएको बेल्जियमले त्यसको तीन मिनेटभित्रै २–२ को बराबरी गोल फर्कायो । सेनेगलविरुद्ध अन्तिम समयमा बराबरी गोल गरेको बेल्जियमले खेल नियन्त्रणमा लियो । खेलको १०५औँ मिनेटमा टेलेमासले पेनाल्टी गोल गर्दा सेनेगल ३–२ ले स्तब्ध भयो । बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले सेनेगल अन्तिम समयमा सम्हालिन नसक्दा आफूहरूले खेलमा फर्कन समय पाएको बताए । ‘सेनेगलको क्षमता र उनीहरूका खेलाडीबारे राम्रो थाहा थियो । बेल्जियम लगभग पराजित भइसकेको थियो । ८६औँ मिनेटमा लुकाकुको गोलसँग सेनेगल दबाबमा आएजस्तो लाग्यो,’ प्रशिक्षक गार्सियाले भने, ‘प्रतिस्पर्धामा एउटा सानो गल्तीले नतिजा परिवर्तन हुन्छ । सेनेगलको हकमा यस्तै भयो ।’
आइभोरी कोस्ट १–२ नर्वे
अर्को अफ्रिकन राष्ट्र आइभोरी कोस्टले पनि ८६औँ मिनेटमै पीडादायी नतिजा सामना गर्यो । इंग्लिस प्रिमियर लिगका अनभुवी खेलाडीको साथमा रहेको नर्वेले आइभोरी कोस्टविरुद्ध त्यति राम्रो प्रदर्शन गर्न सकिरहेको थिएन । आइभोरी कोस्टले नै खेलमा अग्रता लियो । नर्वेले खेलको ८६औँ मिनेटमा अर्लिन हाल्यान्डको गोलमा जित निकाल्यो । हाल्यान्डको गोलसँगै आइभोरी कोस्टका खेलाडीले नतिजा स्वीकार गर्न सकेनन् । नर्वेविरुद्ध बल पोसेसन उत्कृष्ट बनाएको आइभोरी कोस्टले हाल्यान्डलाई खेलको ८६औँ मिनेटमा अनमार्क गर्दा ठुलो क्षति व्यहोर्यो ।
‘सुरुको दुर्भाग्य आइभोरी कोस्टबाट भयो । उनीहरूले नर्वेलाई दबाबमा राखेका थिए । निर्धारित समय सकिन तीन मिनेटअगाडि हाल्यान्डले एक मौका पाए । उनीहरूले नर्वेजस्तो आक्रामक खेल खेल्नेलाई अन्तिम समयमा खुला राख्न हुँदैनथ्यो,’ वर्ल्ड न्युजकी खेलपत्रकार सहानाले भनिन्, ‘युरोपियन राष्ट्रहरू खेलमा फर्कन सक्छन् । तर, अफ्रिकनहरूसँग यस्तो क्षमता खासै छैन ।’
कंगो १–२ इंग्ल्यान्ड
५२ वर्षपछि कंगोले विश्वकपमा स्थान बनायो । कंगो पहिलो चरणबाटै बाहिरिने धेरैको अनुमान थियो । पोर्चुगलजस्तो बलियो प्रतिद्वन्द्वी रहेको समूहबाट कंगोले इतिहास रचेर नकआउट चरणमा स्थान पक्का गर्यो । राउन्ड अफ ३२ मा कंगोको प्रतिद्वन्द्वी पूर्वविजेता इंग्ल्यान्ड थियो । इंग्ल्यान्ड चालू विश्वकपमा उपाधि दाबेदारमध्ये एक टोली हो । इंग्ल्यान्डले कंगोमाथि सहज जित निकाल्ने सुरुवाती अनुमान थियो । खेलमा भने कंगो पूरै छाएको थियो । इंग्ल्यान्डका खेलाडी मैदानमा सेट हुन नपाउँदै कंगोले १–० को अग्रता लियो । इंग्ल्यान्डका खेलाडी र समर्थक कंगोको अप्रत्याशित गोलमा स्तब्धझैँ भए ।
इंग्ल्यान्डले बराबरी गोल फर्काउन खुबै कोसिस गर्यो । कंगो इंग्ल्यान्डलाई शारीरिक र काउन्टरमा दबाब राखेर खेल जित्ने प्रयासमा देखिन्थ्यो । यसै कारण मध्यान्तरपछि कंगोले रक्षात्मक रणनीति अपनाउँदै डिफेन्डरलाई मैदानमा छिरायो । अर्कोतिर इंग्ल्यान्ड बराबरी गोलका लागि प्रयासरत थियो । कप्तान ह्यारी केनले ७५औँ मिनेटमा हेडिङ गोल गरी १–१ को बराबरीमा पुर्याए । खेलको ८६औँ मिनेटमा केनले डिबक्सभित्र उत्कृष्ट गोल गरी इंग्ल्यान्डलाई २–१ को जित दिलाए । ‘तीनवटै अफ्रिकन राष्ट्रहरूले निर्धारित समयको तीन मिनेट सम्हालिन नसक्दा हार सामना गरे,’ सहानाले भनिन्, ‘८६औँ मिनेट अनलक्की हुँदा अफ्रिकन टोली अगाडि बढ्न सकेनन् ।’