कारागारबाट फरार १५ वर्ष सजायका कैदी कपिलवस्तुबाट पक्राउ

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

लागुऔषध मुद्दामा कुल १५ वर्ष कैद सजाय पाएका र कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।  मंगलबार विजयनगर गाउँपालिका– ४, देउपुराका ३३ वर्षीय बब्लु भन्ने बुधई यादवलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकाे छ । 

प्रहरीका अनुसार यादवलाई दाङ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तथा कपिलवस्तु जिल्ला अदालतबाट अर्को लागुऔषध मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। यससँगै उनलाई कुल १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।

कैद भुक्तानका क्रममा उनी जेन–जी आन्दोलनका वेला ०८२ भदौ २४ गते दाङको तुल्सीपुर कारागारमा भएको तोडफोडपछि फरार भएका थिए। फरार प्रतिवादीको खोजीका क्रममा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरीक्षक महेशकुमार आचार्यको नेतृत्वमा खटिएको टोलीले ०८३ असार १४ गते कपिलवस्तुको विजयनगर गाउँपालिका– ४, जोलाही चोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई ०८३ असार १५ गते कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराई थप कैद भुक्तानका लागि कारागार कार्यालय, कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

See More On

सुझावित समाचार