सिकेको सिकाउँदै : साक्षर अभियान

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

बलवा नगरपालिकालाई साक्षर घोषणा गर्ने उद्देश्यसहित माध्यमिक तहका छात्रछात्राहरू अहिले बलवाको नगर क्षेत्रमा परिचालित भएका छन्। घरको ढोका–ढोका पुगेर निरक्षर खोज्ने र निरक्षरलाई साक्षर बनाउन उनीहरू व्यस्त भएका हुन्।

यही मसान्तभित्र पालिकालाई साक्षर बनाउनुपर्ने लक्ष्यअनुरूप आफूले सिकेको समुदायलाई सिकाउन छात्रछात्रा लागिपरेका छन्। विद्यालयका शिक्षक तथा प्रधानाध्यापकसमेतको रेखदेख र सहयोग तथा समन्वयमा साक्षर अभियान सञ्चालन गरिएको हो । 

बलवा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजकिशोर झाले विभिन्न १२ सूचकमध्ये कम्तीमा ६ सूचक पूरा गरे साक्षर मानिने भएकोमा  पालिकामा अभियान अन्तिम चरणमा रहेको र छात्रछात्राको प्रयोगले सकारात्मक नतिजा आइरहेको बताए ।

उनले सामाजिक विषयमा दिइने २५ मार्कमध्ये १६ मार्क समुदाय साक्षरलगायतका यस्तै प्रकृतिका गतिविधिमा दिइने भएकोमा छात्रछात्राका लागि यो राम्रो अवसर रहेको बताए । 

उनले माध्यमिक तहका बलवा नगरपालिकाअन्तर्गतका विद्यालयहरूका कक्षा ९, १०, ११ र १२ का विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकसमेत अहिले पठनपाठन प्रभावित नहुने गरी अभियानमा लागेको बताए । अभियानमा लागेका छात्रछात्राहरूसमेत विद्यालयमा सिकेको अक्षरको ज्ञान आफ्नै समुदायमा सिकाउन पाउँदा नौलो अनुभव भइरहेको बताउँछन् ।

बलवा नगरपालिका– १ स्थित जनता मावि बन्चौरीमा कक्षा १० मा अध्ययनरत छात्रा राखी साहले सिकाउने क्रममा आफ्नै टोल–छिमेकका अभिभावकहरूले रुचिका साथ सिकिरहेको देख्दा आफूहरूमा समेत उत्साह जागेको बताउँछिन् । उनी आफूहरूमा यस्तो जिम्मेवारीले आत्मबल जागेको थप्छिन्। अभियान रतौली युवा क्लब, सेभ द चिल्ड्रेन तथा आसमान नेपालको समन्वय तथा सहयोगमा अभियान सञ्चालन हुँदै छ । 

सुझावित समाचार