बर्दियाका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी महिलालाई दिने गरिएको न्यानो झोलाको मूल्यमा व्यापक अन्तर देखिएको छ । बर्दिया अस्पताल र स्थानीय तहमा सुत्केरी महिलालाई दिने भनेर खरिद गरिएको न्यानो झोलाको मूल्यमा व्यापक अन्तर देखिएकाे हो ।
सरकारले आमा र शिशुको मृत्युदर कम गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्न न्यानो झोला वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । सरकारले देशभरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र शिशुलाई न्यानो झोला वितरण गर्दै आएको छ। सरकारले हिमाली जिल्लामा एक हजार रुपैयाँ र पहाडी तथा तराईका जिल्लामा नौ सय रुपैयाँ नबढ्ने गरी न्यानो झोलाको मूल्य निर्धारण गरेको छ। तर, सरकारी निकायले खरिद गरेको न्यानो झोलाको मूल्यमा अस्पताल र स्थानीय तहपिच्छे मूल्यमा व्यापक अन्तर देखिएको छ।
बर्दिया अस्पताल गुलरियाले न्यानो झोला १२ रुपैयाँमा, राजापुर नगरपालिकाले ५४५ रुपैयाँमा, बारबर्दिया नगरपालिकाले ७८३ रुपैयाँमा र गेरुवा गाउँपालिकाले ७७१ रुपैयाँमा खरिद गरेको छ।
त्यसैगरी, बढैयाताल गाउँपालिकाले ८४७ रुपैयाँमा, ठाकुरबाबा नगरपालिकाले ८७० रुपैयाँमा न्यानो झोला खरिद गरेको छ। मधुवन नगरपालिका र बाँसगढी नगरपालिका धेरै पहिला न्यानो झोला खरिद गरेको भन्दै न्यानो झोलाको खरिद मूल्य दिन चाहेनन्। यसरी एउटै वस्तुको खरिदमा पनि मूल्यमा व्यापक अन्तर हुनुले स्वास्थ्य क्षेत्र आर्थिक चलखेल रहेको देखिन्छ । स्थानीय तहले औषधि खरिद गर्दा सोझै खरिद इ–बिल्ड र सिलबन्दीको माध्यमबाट खरिद गरेका छन् ।
बर्दिया अस्पताल इ–बिल्डमार्फत न्यानो झोला खरिद गरेको थियो । न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, मोजा, र्यापर र नेम्फिन रहेको हुन्छ ।