नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सम्पन्न

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ आइतबार काठमाडौंमा सम्पन्न भएको छ । 

शनिबारदेखि सुरु भएको प्रतियोगिताका विजेता खेलाडीलाई आइतबार साँझ राष्टिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहताले नगद पुरस्कार, सिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतियोगितमा पुरुष सिनियरतर्फ शरदकुमार राई पहिलो, विजय लिम्बू दोस्रो र विजय गुरुङ तेस्रो भएका थिए । महिलातर्फ खुसी विक पहिलो, समीक्षा राई दोस्रो र समिरा रानामगर तेस्रो भए ।

यस्तै, गरेर पुरुष जुनियरतर्फ अंकित विक पहिलो, अभिषेश परियार दोस्रो र सन्देश नेपाली तेस्रो भएका छन् । 
पुरुष तथा महिला सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै, जुनियर पुरुष तथा महिला समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा देशभरबाट १५० पुरुष र १०० महिला खेलाडीको सहभागिता रहेको थियो । दुईदिने प्रतियोगितामा पहिलो दिन शनिबार छनोट चरणका खेल भएका थिए भने आइतबार दोस्रो दिन उत्कृष्ट खेलाडीबिच प्रतिस्पर्धा भएकाे थियाे ।

यसअघि आइतबार बिहान प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एमबुद्ध पार्क महानगरपालिकामा हुँदा आफूहरूले सोचेजस्तो बनेको बताउँदै यसले स्केटिङ तथा स्केटबोर्डिङ खेललाई उचाइमा पुगाउन मद्दत पुग्ने बताएका थिए ।

उनले भने खुला सार्वजनिक जग्गामा यस्ता स्केटबोर्डसहितका खेलका लागि खेलमैदमान बनाएर खेलको विकास गर्ने अभियानमा सरकार रहेको बताएका थिए ।

काठमाडौं महानगरपालिकाको वडानम्बर ५ मा हाँडीगाउँ पहेँलो पुलनेर बनेको एमबुद्ध पार्कको निर्माणले आफू उत्साहित भएको उल्लेख गर्दे मन्त्री पोखरेलले यो पार्कको सुरक्षित भएर सदुपयोग गर्न पनि स्थानीयलाई आग्रह गरेका थिए ।

पुरस्कार वितरण गर्दै (राखेप)का सदस्यसचिव मेहताले सरकारले सबै खेलको विकास विस्तार गर्ने र खेलाडीको पीरमर्का बुझ्ने नीति लिएको बताए । 

उनले स्केटमा पूर्वाधार विकास भइरहेको बताउँदै यसले खेल र खेलाडीको विकासमा सहयोग पुग्ने बताउँदै अब देश, विदेशबाट खेलाडीले मेडल जित्ने अपेक्षा गरे ।

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा आयोजना भइसकेका छन् । उद्घाटन र पुरस्कार वितरण कार्यक्रम संघका अध्यक्ष अच्युत खनालको अध्यक्षतामा भएको थियो ।

सुझावित समाचार