दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौँदेखि बिग्रिएर थन्किएका पाँचवटा डायलाइसिस मेसिन मर्मत गरिएको छ । मेसिन बिग्रिएर थन्किएपछि मिर्गौला रोगका बिरामीलाई समस्या हुने गरेको थियो । त्यसलाई मध्यनजर गर्दै मेसिन मर्मत गरिएको हो ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. सुरेश रसाइलीका अनुसार पोखराबाट हेमो डायलाइसिससम्बन्धी प्राविधिक ल्याएर मर्मत गरिएको हो । मेसिनहरू बनेपछि बिरामीहरूलाई सहज हुने भएको छ ।
मेसिन बनेपछि दैनिक थप ११ जना मिर्गौलाका बिरामीले डायलाइसिस सेवा पाउनेछन् । तीन सिफ्टमा चल्ने प्रतिष्ठानको डायलाइसिस सेवा दैनिक ३३ जना बिरामीले प्राप्त गर्दै आएका छन् । बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म डायलाइसिस सेवा सञ्चालन हुनेछ । उक्त सेवावाट हालसम्म ९१ जना मिर्गौलाका बिरामीले सेवा लिएका छन् । डायलाइसिस सेवाका लागि १८ जना नर्सिङ स्टाफलाई तालिमसमेत दिइएको छ ।