यामलले पाएनन् १० नम्बर जर्सी

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी ४८ राष्ट्रले अन्तिम टोली घोषणा गरिरहेका छन् । खेलाडीको घोषणासँगै उनीहरूले लगाउने जर्सी नम्बर पनि सार्वजनिक गरिएको छ । टोलीमा १० नम्बरको जर्सी कुन खेलाडीले पाए भन्नेमा आमचासो रहने गरेको छ । फुटबलमा १० नम्बरको जर्सी विशेष हुन्छ । एक किसिमले यो जर्सी लगाउने खेलाडीलाई प्ले मेकरका रूपमा लिइन्छ । 

प्रशिक्षक र फुटबल संघको आपसी सहमतिमा १० नम्बरको जर्सी खेलाडीलाई प्रदान गरिन्छ । यसपटक स्पेनको १० नम्बरको जर्सीका प्रबल दाबेदार बार्सिलोनाका लामिन यामल हुन् । तर, स्पेनले सहभागी खेलाडीको जर्सी सार्वजनिक गर्दा यामलले १० नम्बरको जर्सी पाएनन् । उनले अब विश्वकपमा १९ नम्बरको जर्सी लगाउनेछन् ।

यामलले १० नम्बरको जर्सी पाएनन् भन्ने चर्चाको विषय बनेको छ । डानी ओल्मोलाई १० नम्बरको जर्सी दिइएको छ । यसैगरी, स्पेनले गाभीलाई ९ नम्बरको जर्सी दिएको छ । स्पेनमा यसअघि ९ नम्बरको जर्सी मुख्य स्ट्राइकरले पाउँथे । फर्नान्डो टोरेस र अल्भारो मोराटाजस्ता खेलाडीले ९ नम्बरको जर्सी लगाएर युरोकप तथा विश्वकप खेलेका थिए । तर, अहिले स्पेनले ९ नम्बरको जर्सी मिडफिल्डरलाई दिएको छ । गोलरक्षक डेभिड रायाले १ नम्बरको जर्सी पाएका छन् । 

See More On

सुझावित समाचार