खेलकुद पूर्वाधार बजेटको प्राथमिकतामा

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण
  • खेलकुदमा चार अर्ब तीन करोड बजेट विनियोजन, तीन वर्षभित्र फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका १० फुटबल रंगशालाको स्तरोन्नति, पाँच वर्षभित्र प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने

सरकारले खेलकुदको पूर्वाधारतर्फ ध्यानकेन्द्रित गर्दै आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार दुवै सदनलाई सम्बोधन गर्दै खेलकुदतर्फ चार अर्ब तीन करोड बजेट विनियोजन गरेका हुन् । गत वर्षको खेलकुदमा कम बजेट विनिययोजन गरे पनि सरकार पूर्वाधारकेन्द्रित देखिन्छ । चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब आठ करोड बजेट विनियोजन गरेका थिए । तर, यो बजेट युवासहित थियो ।

गत वर्षको तुलनामा यसपटक दुई अर्ब पाँच करोड रुपैयाँ बजेट कम देखिन्छ । गत वर्षको तुलनामा यसपटक खेलकुदमा छुट्याइएको बजेट ३३ प्रतिशतले कम हो । अर्थमन्त्री वाग्लेले बजेट भाषणमा क्रिकेट र फुटबलको भौतिक पूर्वाधारमा जोड गरेका छन् । उनले पाँच वर्षभित्र देशका प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण हुने जनाए । ‘प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ,’ वाग्लेले भने ।

उनले क्रिकेटसँगै फुटबलमा देशभर रहेका १० फुटबल रंगशालामा आठ हजार दर्शक क्षमताको मैदानमा स्तरोन्नति गर्ने जनाए । यसका साथै तीनवटा रंगशालामा फ्लडलाइट जडान गर्ने घोषणा सरकारले गरेको छ । यो तीन वर्षभित्र सम्पन्न गरिनेछ । ‘खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँगै जोड्न आगामी तीन वर्षमा फ्लडलाइटसहितको रंगशाला स्तरोन्नति गरिनेछ,’ बजेट भाषणमा अर्थमन्त्री वाग्लेले भने ।

नेपालमा फुटबलका देशैभर दुई दर्जनभन्दा बढी रंगशाला रहे पनि दशरथ रंगशालामा मात्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको छ । तर, यस मैदानको गुणस्तर र मापदण्डमाथि प्रश्न उठ्दा अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य घोषणा हुँदै आएको छ । जसका कारण नेपालले ‘होम म्याच’समेत विपक्षीको मैदानमा गएर खेल्दै बाध्य हुँदै आएको छ ।

दशरथ रंगशालाको माटोको सतह, दुबो र पूर्वाधारकै गुणस्तरमा अन्तर्राष्ट्रिय संस्था एसियन फुटबल महासंघ (एएफसी)ले प्रश्न गर्दै आएको छ । क्रिकेटतर्पm पनि देशैभर एक दर्जनभन्दा धेरै मैदानमा राष्ट्रिय प्रतियोगिता हुँदै आएका छन् । मूलपानी माथिल्लो मैदान र त्रिवि मैदानले मात्रै अन्तर्राष्ट्रिय मान्यता पाएका छन् । सरकारको यो निर्णयसँगै नेपालमा थप अन्तर्राष्ट्रियस्तरका मैदान हुनेमा खेलकुदवृत्त खुसी देखिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले सरकारको बजेटलाई सकारात्मक रूपमा लिएको नयाँ पत्रिकालाई बताए । ‘मैले यस खेलकुदमा छुट्याइएको बजेटलाई सकारात्मक रूपमा लिएको छु । हामी यसअनुसार अगाडि बढछौँ,’ मेहताले भने, ‘मुख्य गरी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेछ ।’

नेपालका क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए । ‘सरसरी हेर्दा यो बजेटमा क्रिकेटलाई प्राथमिकतामा राखेको देखिन्छ,’ चन्दले भने, ‘यसले हामीले आगामी दिनमा अहिलेको भन्दा राम्रो नतिजा निकाल्न सक्छौँ ।’ यसैगरी, नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले आगामी वर्षका लागि सरकारबाट राम्रो बजेट आएको बताए ।

‘सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भनेको छ । यो निकै सकारात्मक पक्ष हो,’ नेम्वाङले भने, ‘हामीलाई काठमाडौंमै दशरथ रंगशालाभन्दा पनि राम्रो अन्तर्राष्ट्रियस्तरको रंगशाला आवश्यक भइसकेको छ । सरकारले यसमा ध्यान दिँदा थप राम्रो हुने थियो ।’

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई निःशुल्क स्वास्थ्योपचार
सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वाग्लेले भने, ‘अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश जीवनपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरेको छ ।’ यसैगरी, सरकारले खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ ।

तीन वर्षभित्र १० फुटबल रंगशालाको स्तरोन्नति
सरकारले आगामी तीन वर्षभित्र फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका १० फुटबल रंगशालाको स्तरोन्नति गर्ने जनाएको छ । अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् । यसैगरी, ‘खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहितको स्तरोन्नति गरिनेछ,’ बजेट भाषणमा उनले भने ।

आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने
सरकारले आगामी पाँच वर्षभित्र देशका प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ,’ उनले भने । आगामी तीन वर्षभित्र विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिनेछ । क्यानका अध्यक्ष चन्दले क्रिकेटमा लगानी हुनुपर्ने बताएको कुरा पूरा हुन लागेको बताए । ‘मैले बारम्बार भनिरहेको थिएँ, क्रिकेटमा राम्रो लगानी हुनुपर्छ । हामीले त्रिवि क्रिकेट मैदानजस्तै रंगशाला देशका विभिन्न स्थानमा हुनुपर्छ भनेका थियौँ,’ उनले भने, ‘अहिलेको बजेटले अब क्रिकेटमा व्यापक परिवर्तन आउनेछ ।’

प्रमुख सात सहरमा कभर्डहल
देशका प्रमुख सहर (विराटनगर, काठमाडौं, सुर्खेत, बुटवल, लहान, पोखरा र धनगढीको फाप्लामा दुई हजार क्षमताको इन्डोर मल्टिपल कभर्डहल आगामी तीन वर्षभित्र बनाउने घोषणा छ । कर्णालीमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद र मधेश प्रदेशमा हुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम सरकारले बजेट विनियोजन गर्ने बताएको छ ।

तीनवटा रंगशालाको डिजाइन पुनरावलोकन हुने
सरकारले देशका विभिन्न स्थानमा रहेका तीनवटा क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन हुने जनाएको छ । काठमाडौंको मूलपानी रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद क्रिकेट र कैलालीको फाप्ला क्रिकेट रंगशालाका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गर्ने अर्थमन्त्री वाग्लेले बताए ।

See More On

सुझावित समाचार