सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा नगरपालिकामा लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरेका छन्। नगर प्रमुख सुशीला शाहीको असहमतिबिच मुख्यमन्त्री शाहले लम्कीचुहा नगर अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा उद्घाटन गरेका हुन्।
नगर प्रमुख शाही यति वेला अजरबैजानको भ्रमणमा छिन्। अस्पताल उद्घाटनमा अवरोध र अप्रिय घटना हुन सक्ने भन्दै ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। यसअघि नगर प्रमुख शाहीको अवरोधका कारण अस्पताल उद्घाटन रोकिएको थियो। उद्घाटन समारोहमा उपप्रमुख जुना चौधरी र केही वडाध्यक्षहरू भने सहभागी थिए।
उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले पालिकाको सहमति, स्थानीय बासिन्दाको माग र आवश्यकताका आधारमा लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाइएको बताए। अस्पतालको स्तर वृद्धि अब कसैले विरोध गर्दैमा नरोकिने उनको भनाइ थियो।
‘मुख्यमन्त्री भएको तीन वर्ष भयो। पहिलो चोटी मुख्यमन्त्री भएजस्तो लागिरहेको छ। आज यत्रो सुरक्षा घेराभित्र उद्घाटन हुँदै छ,’ कार्यक्रमस्थलमा ठुलो संख्यामा सुरक्षाकर्मी खटिएको विषयमा व्यंग्यात्मक रूपमा उनले भने।
सुरुमा पालिकाले नै सहमतिपत्र दिएपछि प्रदेश सरकारले संघीय सरकारको अनुमति लिएर लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो। त्यसका लागि कर्मचारीको संगठन तथा व्यवस्थापन सर्भेलगायतका प्रक्रियाहरू पनि गरिएका थिए। तर, अस्पताल स्तरोन्नतिका सबै प्रक्रिया पूरा भएपछि नगरपालिका अस्पताल हस्तान्तरणसम्बन्धी सम्झौता गर्न तयार भएन।
सुरुमा सहमति दिए पनि स्तरोन्नतिका कुनै पनि प्रक्रिया प्रदेश सरकारले छलफल नगरेको र अन्तिममा एकैपटक अस्पताल हस्तान्तरणको सहमति गर्न बोलाएको भन्दै नगर प्रमुख शाहीले विरोध गर्दै आएकी छिन्। उनले कार्यरत कर्मचारी व्यवस्थापन, दायित्व भुक्तानीलगायतका विषयमा सहमति नभएसम्म अस्पताल हस्तान्तरण नहुने बताउँदै आएकी छिन्। यसबारे प्रदेश सरकारले आफूहरूसँग छलफल गर्नुपर्ने उनको भनाइ छ।
मुख्यमन्त्री शाहले भने यसअघि नगर अस्पताल हुँदा कार्यरत कर्मचारीको प्रदेश सरकारले व्यवस्थापन गर्ने तथा आर्थिक र प्रशासनिक विषयलाई पनि टुंग्याइने प्रतिबद्धता जनाए। उनले कर्मचारी व्यवस्थापनको दायित्व प्रदेश सरकारको भएको बताए। नगर प्रमुख नभएको अवस्थामा उपप्रमुख कार्यवाहक हुने भन्दै मुख्यमन्त्री शाहले अस्पतालको विवादको विषय टुंग्याउनका लागि अग्रसरता लिन उपप्रमुख चौधरीलाई आग्रह गरे।
सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले नगर अस्पताल प्रादेशिक अस्पताल बन्नु लम्कीबासीका लागि खुसीको कुरा भएको बताइन्। नगर प्रमुख शाही अस्पताल व्यवस्थापन समितिको अध्यक्ष आफैँ बन्न खोजेका कारण हस्तान्तरण गर्न नमानेको खड्काको दावी थियो।
सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले लम्कीचुहा प्रादेशिक अस्पतालमा अब विशेषज्ञसहितको सेवा सुरु हुने बताए। ‘न्यून शुल्कमा विशेषज्ञ सेवा दिने हो। एकजना विशेषज्ञ डाक्टर खटाइसकेका छौँ, विस्तारै अरू जनशक्ति पनि खटाउँछौँ,’ उनले भने। मन्त्रालयका अनुसार प्रादेशिक अस्पतालमा एक सय ४६ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको छ।
‘अस्पताल स्तरोन्नति हुनु हाम्रा लागि खुशीको कुरा हो, तर नगरपालिकाको सबै टिम भएको भए राम्रो हुन्थ्यो’ कार्यक्रममा नगर प्रमुख र केही वडाध्यक्षको अनुपस्थितिप्रति उपप्रमुख चौधरीले भनिन्, ‘तर कहाँ के मिलेन, मलाई पनि अफ्ठेरो लागिरहेको छ।’ मुख्यमन्त्री र नगर प्रमुखबिच नमिलेको कुरा मिलाएर जान उनले आग्रह गरिन्।
कार्यक्रममा बोल्ने राजनीतिक दलका प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्तिहरूले प्रहरी घेरामा अस्पताल उद्घाटन गर्नुपर्ने अवस्था दुखद भएको बताए। उनीहरूले अब विनाअवरोध अस्पतालको सेवा विस्तार हुनुपर्ने बताए।
सुरुमा पालिका र प्रदेशबिचको सहमतिमै अस्पताल स्तरोन्नतिको प्रक्रिया अगाडि बढे पनि मुख्यमन्त्री र नगर प्रमुखबिच व्यक्तिगत टसल सुरु भएपछि त्यसको असर अस्पताल स्तरोन्नतिमा देखिएको स्थानीय बताउँछन्। लम्कीचुहा मुख्यमन्त्री शाहको क्षेत्र हो भने उनीहरू दुवैजना नेपाली कांग्रेसका हुन्।
‘मुख्यमन्त्री र नगर प्रमुखबिच व्यक्तिगत टकराव नभएको भए अस्पताल स्तरोन्नतिमा कुनै समस्या हुने थिएन,’ एक स्थानीयले भने, ‘यही कारण एकले अर्कोलाई बाइपास गर्न खोज्दा त्यसको मारमा अस्पताल परेको हो।’