संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति ओजस्वी शेरचनसहित २९ जना सांसदले सुर्तीजन्य र मदिराजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसमक्ष माग गरेका छन्। हस्ताक्षरसहितको ध्यानाकर्षणपत्र बुझाउँदै सांसदहरूले सुर्तीजन्य र मदिराजन्य वस्तुमा कर वृद्धि गर्न माग गरेका हुन्।
‘नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ठुलो जनधनको क्षति हुनुका साथै नसर्ने रोग स्वास्थ्य उपचार खर्च र स्वास्थ्य बिमामा अत्यधिक आर्थिक भार बढिरहेको अवस्था छ,’ सांसदहरूले अर्थमन्त्री डा. वाग्लेसमक्ष बुझाएको पत्रमा भनिएको छ, ‘हाल नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर दक्षिण एसियामै न्यून (३३.३ प्रतिशत) रहेको छ, जबकि छिमेकी राष्ट्र भारतमा ५८ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, श्रीलंकामा ६८ प्रतिशत कर छन्।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को रणनीतिअनुसार सुर्तीजन्य पदार्थको उपभोग न्यूनीकरण गर्न कुल करको हिस्सा खुद्रा मूल्यको कम्तीमा ७५ प्रतिशत हुनैपर्छ। तर, यो कार्यान्वयन नेपालले गर्न नसकेको सांसदहरूले बुझाएको पत्रमा उल्लेख छ। सुर्तीजन्य र मदिराजन्य पदार्थबाट भएको घाटाको सम्बन्धमा समितिले विश्लेषणात्मक विवरणसमेत अर्थमन्त्रीलाई बुझाएको छ। सांसदहरूले आगामी बजेटमार्फत सुर्तीजन्य पदार्थ तथा मदिराजन्य वस्तुमा अन्तःशुल्क र स्वास्थ्य जोखिम कर उल्लेख्य रूपमा वृद्धि गरी जनस्वास्थ्य संरक्षण तथा स्वास्थ्य बिमा प्रणालीको दिगोपनमा सहयोग पुग्ने नीति अवलम्बन गर्न माग गरेका छन्।
ध्यानाकषर्णपत्रमा हस्ताक्षर गर्नेहरूमा समितिकी सभापति डा. ओजस्वी शेरचन, डा. आनन्दबहादुर चन्द, डा. लेखजंग थापा, समीक्षा बाँस्कोटा, खिमा विक, भरतप्रसाद पराजुली, कृष्णकुमार कार्की, स्मृति सेन्चुरी, रचना खतिवडा, मञ्जु भुसाल, टेबहादुर शाक्य, अरबिन्द साह, खगेन्द्र सुनार, अशोककुमार चौधरी, ध्रुवराज राई, ज्ञानेन्द्रसिंह महता, कृपा महर्जन, रुकेश रञ्जित, कुशुम महर्जनलगायत छन्।
पछिल्लो तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण बर्सेनि ३९ हजारजनाले मृत्युवरण गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसीका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण मुख्यतः मुख तथा फोक्सोको क्यान्सर, मुटु रोग, दम, नसाको रोग, श्वासनलीको संक्रमण र क्षयरोगजस्ता घातक रोग लाग्ने गर्छ।
कर वृद्धि गर्न विज्ञको पनि सुझाव
भाइटल स्ट्राटेजिज एसिया प्रशान्त क्षेत्रका निर्देशक डा. तारासिंह बमले सुर्तीजन्य पदार्थमा उच्च कर तथा मूल्य वृद्धि गर्न अत्यावश्यक देखिएको बताए। कर वृद्धि गर्दा युवाहरूमा धुम्रपान सेवन रोक्न मुख्य टेवा पुग्ने उनको भनाइ छ।
‘धुम्रपान गर्नेहरूलाई छोड्न प्रोत्साहित गर्नका लागि कर वृद्धि अत्यावश्यक छ, स्वास्थ्य समस्या र व्यक्तिगत खर्च घटाउने सबैभन्दा प्रभावकारी उपायहरूमध्ये एक हो,’ उनले भने, ‘नेपाल सरकारले विश्वव्यापी रूपमा भएका असल अभ्यासको साथै विश्व बैंकको सिफारिसअनुसार खुद्रा मूल्यको कम्तीमा ७५ प्रतिशतसम्म कर वृद्धि गर्नुपर्छ। राजनीतिक इच्छाशक्ति भयो भने सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सकिन्छ।’
उनका अनुसार कर वृद्धि गर्दा अवैध व्यापार बढ्छ भन्ने हल्ला चलाइए पनि यसको कुनै वास्तविक आधार भने देखिँदैन। हाल सुर्ती उद्योगहरूले सार्वजनिक स्वास्थ्य नीतिलाई कमजोर बनाउन यस्ता भ्रमहरू फैलाउने गरेको डा. बमको भनाइ छ।2026-05-27-08-06-56.jpeg)
2026-05-27-08-02-24.jpeg)