- फाइनलमा लिग वान प्रतिद्वन्द्वी निसलाई ३–१ ले पराजित गर्दै सन् १९९९ यता लेन्सले पहिलोपटक जित्यो ठुलो उपाधि
लेन्सले पहिलोपटक फ्रेन्च कप उपाधि उचालेको छ । शनिबार बिहान भएको फाइनलमा लेन्सले फ्रेन्च लिग वान प्रतिद्वन्द्वी निसलाई ३–१ ले हराएको हो । लेन्सले क्लब इतिहासमा फ्रेन्च लिग जितेको यो पहिलोपटक हो । टोलीले सन् १९९९ पछि पहिलोपटक ठुलो उपाधि उचालेको छ ।
लेन्सको जितमा फ्लोरिअन थाउभिन, ओडसोन इडोउआर्ड र अब्दुल्लाह सीमाले समान एक गोल गरेका थिए । निसका लागि डिजिब्रिल कोउलिबालीले एक गोल फर्काएका थिए । फाइनल खेल पेरिस सेन्ड जर्मेन पिएसजीको घरेलु मैदानमा भएको थियो । यसपटक पिएसजी भने अन्तिम ३२ बाटै बाहिरिएको थियो । पिएसजी फ्रेन्च लिग वान टोली पेरिस एफसीसँग १–० ले पराजित भएको हो । पिएसजीले पछिल्लो दुई सिजन लगातार उपाधि उचालेको थियो । यद्यपि, पिएसजीले यसपटक फ्रेन्च लिग वानको उपाधि उचालिसकेको छ ।
पहिलो हाफमै दुई गोल
फाइनल खेलमा लेन्सले दुई गोल गरेपछि टिमले सहज जित निकाल्यो । पहिलो हाफमा कुल तीन गोल भएका थिए । निसले एक गोल फर्काएको थियो । तर, दोस्रो हाफमा पुनः लेन्सले एक गोल फर्काएपछि उपाधि जित्न सफल भयो । खेलमा बल पकड भने निसले नै बनाएको थियो । तर, फाइनल थर्डमा भने लेन्स नै सफल भयो । खेलको २४औँ मिनेटमा फ्लोरिअनले अग्रता दिलाएका थिए । सन् २०१८ को विश्वकप जितेको टिममा रहेका फ्लोरिअन आगामी विश्वकपका लागि भने टिमबाट बाहिरिसकेका छन् । ओडसोनले ४१औँ मिनेटमा दोस्रो गोल गर्दा लेन्स २–० ले अगाडि बढ्यो । तर, पहिलो हाफको इन्जुरी समयमा कोउलीबारीले एक गोल फर्काएपछि खेल २–१ का झर्यो । तर, सिमाले खेलको ७७औँ मिनेटमा गोल गरेपछि लेन्स ३–१ ले विजयी भएको हो ।
फ्रेन्च लिगमा दोस्रो स्थान
फ्रेन्च लिगमा भने लेन्सले दोस्रो स्थान प्राप्त गरेको छ । लेन्स भन्दा ६ अंक बढी जोड्दै पिएसजी च्याम्पियन बनेको हो । फ्रेन्च लिगमा ३४ खेलबाट पिएसजीले ७६ अंक जोड्यो । लेन्स भने ७० अंक जोड्न सफल भयो । जसमा टोलीले २२ खेल जित्यो । चार खेल बराबर हुँदा आठ खेलमा पराजित भएको हो । लेन्सले यसपटक ६६ गोल गर्दा ३५ गोल व्यहोरेको थियो । यता, फ्रेन्च कपको उपविजेता निस भने अन्तिम समयमा रेलिगेसनमा बचेको हो । उसले ३४ खेलबाट ३२ अंकसहित १६औँ स्थानमा आफूलाई राख्न सफल भयो । १८ टिम सहभागी फ्रेन्च लिगका अन्तिम दुई टिम रेलिगेसनमा पर्ने गरेका छन् । २३ अंकको नान्टेर र १७ अंकको मेट्ज रेलिगेसनमा परेका छन् । यसपटक पिएसजी र लेन्स तथा लिल च्याम्पियन्स लिगका लागि छनोट भएका छन् ।