शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

ओलीमाथि बढ्दै छ दबाबः शंकर पोखरेल पनि पार्टी पुनर्गठनको पक्षमा, योगेश भट्टराईले मागे राजीनामा

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि पदत्याग गर्न दबाब बढ्दै गएको छ। शुक्रबारदेखि जारी सचिवालय बैठकमा पार्टी पुनर्गठनको आवाज बलियो बन्दै गएको छ। 

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि ओलीलाई साथ दिएनन्। उनले पार्टी पुनर्गठनको आवाज उठाएका छन्। एक पदाधिकारीका अनुसार अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने उनको भनाइ थियो। 
त्यस्तै, उपमहासचिव योगेश भट्टराईले राजीनामा दिन सुझाव दिएका छन्। अहिलेको नेतृत्वबाट पार्टी चल्न नसक्ने उनको भनाइ छ। 

रेलमार्गको नाममा साढे तीन करोड दुरुपयोग

हचुवाका भरमा गरिने निर्णयले नागरिकलाई कतिसम्म असर गर्छ भन्ने उदाहरण बनेको छ, पूर्वपश्चिम विद्युतीय रेलमार्ग । सरकारले छ वर्षअघि सुरु गरेको यो योजनामा करोडौँ रकम खर्च मात्रै भएको छैन, निजी सम्पत्ति रोक्का गर्दा नागरिकले दुःख पनि पाएका छन् । सबैभन्दा ठूलो कुरा त, सरकारप्रतिको नागरिकको विश्वास टुटेको छ ।

रेलमार्ग बन्ला र विकास होला भन्ने आशामा आफ्नो जग्गा लामो समयसम्म रोक्का राखेका नागरिकले निराशाबाहेक केही नपाएको अवस्था छ । तत्कालीन समयमा सरकारले सही नियतका साथ रेलमार्गको योजना ल्याएको भए पनि कार्यान्वयनमा कति पनि चासो नदिँदा यसको असर नागरिकको विश्वास र विकास निर्माणमा परेको छ ।

विस्तारपछि यस्तो देखियो सूर्यविनायक–धुलिखेल सडकखण्ड (फोटोफिचर)

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विस्तार भइरहेको ६ लेन सडकको काम तीव्र गतिमा भइरहेको छ।

१६ किलोमिटरको उक्त सडक विस्तारको काम तीन वर्षअघि सुरु भएको थियो। धेरै ठाउँमा विस्तारको काम सम्पन्न भइसकेको छ भने केही ठाउँमा धमाधम काम भइरहेको छ।

अष्टलक्ष्मी शाक्यले ओलीलाई भनिन्– एमाले पार्टी तपाईंको मात्र पेवा होइन

नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले पार्टी केपी शर्मा ओलीको मात्र पेवा नभएको बताएकी छिन्। शुक्रबारदेखि ओलीनिवास गुन्डुमा एमालेको सचिवालय बैठक जारी छ ।

बैठककै बिचमा उनले केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको घमण्ड र गुटगत सोचउस्तै रहेको उल्लेख गर्दै एमाले केपी ओली गुटको कम्पनी नभएको दाबी गरिन्। उनले केपी ओलीले तीन कार्यकाल पार्टीको नेतृत्व गरिसकेकाले यति वेला कार्यकर्ताको भावना बुझ्न आग्रह गरिन् ।  

विधानविपरीत जानेलाई कांग्रेसले धन्यवाद दिएर बिदा गर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले विधानविपरीत चल्नेलाई धन्यवाद दिएर बिदा गर्ने बताएका छन्। शनिबार बिहान विराटनगरस्थित कोइरालानिवासमा पत्रकारहरूसँग बोल्दै सभापति थापाले  विधानविपरीत कार्य गर्नेहरूलाई अब पार्टीमा स्थान दिइरहन नसक्ने भन्दै धन्यवाद दिएर बिदा गर्न सकिने बताएका हुन्। 

‘पार्टीभन्दा बाहिर रहेका नेता–कार्यकर्तालाई मूलधारमा ल्याउन आफूहरूले सक्दो उचित वातावरण सिर्जना गरिरहेको, तर पनि आउन नचाहेर बाहिर अराजकता फैलाउनेलाई धन्यवाद दिएर  बिदाइ गर्नुको विकल्प छैन,’ सभापति थापाले पत्रकारहरूसँग भने। 

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी : उद्योगमन्त्री यादवद्वारा औद्योगिक क्षेत्र निरीक्षण

वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।

औद्योगिक क्षेत्र निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले हेटौँडा कपडा उद्योगलाई पुनर्जीवन दिन सरकार गम्भीर रहेको बताइन्। ‘अब कपडा उद्योग सञ्चालनमा ल्याउन आवश्यक काम धमाधम अगाडि बढाइन्छ,’ उनले भनिन्, ‘सरकारी स्वामित्वका उद्योगलाई पुनः चलायमान बनाउने सरकारको नीति अनुसार हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखिएको छ ।’

नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुईजना पक्राउ

रुपन्देहीमा नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोबार हुने गरेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरूको पहिचान एवं खोजतलास गर्ने क्रममा प्रहरीले नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैँची तथा प्रिन्ट हुन बाँकी, प्रिन्ट गरिएका अवस्थामा रहेका नक्कली नोटसमेतका  सामानसहित  दुईजनालाई पक्राउ गरेको छ।

दुना-टपरी उद्योगले फेरियो देवीको जिन्दगी

उमेरले छ दशक पार गर्न लाग्यो । काम गर्ने जोस जाँगर युवाको भन्दा कम छैन। बिहानको नित्यकर्म सकेपछि उद्योगमा जाने । उद्योगमा रहेको मेसिनको सरसफाइ गर्ने, त्यसपछि मेसिन चलाउने। मेसिन तातो भएपछि सालको पातलाई मेसिनमा राखेर धमाधम दुना टपरी बनाउने काममा ठाकुरबाबा नगरपालिका १, कञ्चनपुरकी ६० वर्षीया देवी बिक व्यस्त हुन्छिन्। बिकले यसरी सालको पातबाट दुना टपरी बनाउन थालेको चार वर्ष हुन थाल्यो। 

बिकले गरेको मेहनत र आत्मविश्वास देख्दा एकछिन हरकोही छक्क पर्छ। दुना टपरी बनाउने काममा बिक घण्टौँसम्म खट्न सक्छिन्। आफू बाहेक दुना टपरी उद्योगमा अहिले तीन जनाले काम गर्दै आएको बिकले बताइन् । उनले भनिन् , ‘दुना टपरी बनाउन मेसिन भएर मात्र पुग्दैन । त्यसको लागि  सालको पात चाहिन्छ। पात वनमा सजिलोसँग पाइन्छ। आफूले सबै काम गर्न सकिदैन। त्यहीँ भएर उद्योगको लागि आवश्यक पर्ने सालको पात ल्याउने काममा गाउँका ४० जना दिदीबहिनीले गर्दै आउनु भएको छ। वनमा त्यसै खेर गइरहेको सालको पातको सदुपयोग भइरहेको छ । भने काम गर्ने जति सबैलाई थोरै भएपनि आम्दानी पनि भएको छ।’

नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई नवीकरण भएका शैक्षिक परामर्शदातृ संस्थाबाट मात्रै सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श संस्थाहरूको नामावली सार्वजनिक गर्दै स्वीकृतिप्राप्त संस्थामार्फत मात्र परामर्श लिन अनुरोध गरेको हो।

मन्त्रालयको जेठ ६ गतेको निर्णयअनुसार प्रकाशित सूचीमा एक हजार ४५९ शैक्षिक परामर्शदातृ संस्थाहरू समावेश छन्। उक्त सूची मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा पहिलो जित दर्ता गरेको छ।

जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। नेपालले किर्गिस्तानलाई २५–१८, २५–२० र २५–१३ ले हरायो।

समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

सुझावित समाचार