काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा पहिलो जित दर्ता गरेको छ।

जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। नेपालले किर्गिस्तानलाई २५–१८, २५–२० र २५–१३ ले हरायो।

समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

शनिबार नै भएको खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो। भारतले २५–९, २५–१४ र २५–१७ को सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गरेको छ र सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

त्यस्तै, आज भएको पहिलो खेलमा कजाकस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ। कजाकस्तानले २५–९, २५–१८ र २५–१५ को सेटमा जित हात पारेको हो। च्याम्पियनसिपमा आइतबार तीन खेल हुनेछन्।

सुझावित समाचार