प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण, मल्ल अनुपस्थित
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेपछि सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश डा. शर्माले पदभार ग्रहण गरेका हुन्।
प्रधानन्यायाधीश शर्माले पदभार सम्हाल्ने क्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित हुँदा न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाल सहभागी भए। मल्ल, रेग्मी र फुँयाल शर्माभन्दा अघि क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा न्याय परिषद्बाट सिफारिस भएका थिए।
पूर्वमन्त्री गुप्तालाई थुनामा राख्ने विशेषको आदेश सर्वाेच्चबाट बदर, धरौटीमा रिहा गर्न आदेश
पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश सर्वाेच्च अदालतले बदर गरिदिएको छ।
सर्वाेच्च अदालतका इजलास नं. ७ का न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको आदेशलाई बदर गर्दै धरौटी माग गर्ने आदेश गरेको सर्वाेच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दि । उनले धरौटी माग गर्ने मंगलबार आदेश भए पनि लिखित आदेश नआएका कारण धरौटी कति माग गरिएको भन्नेबारे बुधबार थाहा हुने बताए।
यस अघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । त्यसयता गुप्ता कारागारमा छन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता सरदर २६३ रुपैयाँ खर्च भएको छ। निर्वाचन आयोगले मंगलबार निर्वाचन खर्च विवरण सार्वजनिक गरेको हो।
आयोगका अनुसार सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएकोमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ। कुल मतदाता संख्या एक करोड ८९ लाख ३ हजार ६८९ लाई आधार मान्दा प्रतिमतदाता सरदर २६३ रुपैयाँ खर्च देखिएको आयोगले प्रस्ट पारेको छ।
देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश मेघराज पोखरेलको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश जारी गरेको हो।
अन्तरिम आदेश मागका सम्बन्धमा भने सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ। अन्तरिम आदेश दिने नदिने भन्ने छलफलका लागि जेठ ११ गतेको पेसी तोकिएको छ।
आफूहरू अनुसन्धानका लागि सहयोग गर्न मन्जुर रहेको तथा सम्पत्ति शुद्धीकरणको मात्र कसुरको मुद्दा हेर्न विशेष अदालत रहेकामा क्षेत्राधिकारविहीन अदालतबाट पकाउ पुर्जी जारी भएको भन्दै देउवा सर्वोच्च गएका थिए।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न सात निर्णय गरेको छ। सरकारका प्रवक्ता रहेका शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयहरू सार्वजनिक गरेका छन्।
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि प्रहरीले अदालतबाट तीन दिन म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ। पर्सा प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा जिल्ला अदालतबाट तीन दिनको म्याद ल्याएर अनुसन्धान अगाडि बढाएको हो।
प्रसाईंले सामाजिक सन्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
विपक्षीलाई अर्थमन्त्रीको जवाफ– आफ्नै भाषा र दस्ताबेज अनुमोदन गराउन अर्को चुनाव कुर्नू
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूलाई विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा आफ्नै दस्ताबेज अनुमोदित गराउन अर्को चुनाव कुर्नुपर्ने जवाफ दिएका छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले निर्वाचनबाटै जनताले अनुमोदन गरेको भाषा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा समेटिएको प्रस्ट पारे।
उनले भने, ‘फागुन २१ को निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ। जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार यहाँ प्रस्तुत गरिएको हो। किनकि हामीले निर्वाचन लड्नुभन्दा अगाडि रूपान्तरणका सय आधार भनेर वाचापत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदन गरेको हो।’
प्रहरीको नयाँ नारा : चुस्त प्रहरी सेवा, सुरक्षित समुदाय
नेपाल प्रहरीले ‘चुस्त प्रहरी सेवा, सुरक्षित समुदाय’ रणनीतिक विषय तय गरी नयाँ रणनीतिक योजना बनाएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ०८३ देखि ०८५ सम्मका लागि तीनवर्षे नयाँ रणनीतिक योजनाको मंगलबार सार्वजनिक गरेका छन्।
नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण भन्ने मूल भावसहित प्रहरीले नयाँ रणनीतिक योजनाको कार्यान्वयन थालेको हो। नागरिककेन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, मानव अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकतामार्फत नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी, भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने अपेक्षासहित योजना तयार भएको महानिरीक्षक कार्कीले बताए।
किम्फमा २९ देशका ५० भन्दा बढी चलचित्र देखाइने
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २३औँ संस्करण मे २७ देखि ३१ सम्म हुने भएको छ। काठमाडौंको ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा आयोजना हुने महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिनेछन्।
यस वर्ष किम्फले नेपाली चलचित्रप्रेमी, फिल्मकर्मी तथा आम दर्शकमाझ अन्तर्राष्ट्रियस्तरमा प्रशंसित फिचर, वृत्तचित्र, छोटा चलचित्र तथा साहसिक चलचित्रहरू प्रस्तुत गर्ने भएको छ। नेपाल पानोरमा खण्डमा समकालीन नेपालको कथा उजागर गर्ने स्थानीय प्रतिभाका चलचित्रहरू समावेश गरिएका छन्।
सुकुमवासीलाई वैकल्पिक बसोबासका लागि सरकारले मासिक खर्च उपलब्ध गराउने
सरकारले सुकुमवासीलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहनस्वरूप खर्च उपलब्ध गराउने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि सुकुमवासीलाई बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार पाँच सदस्य भएको परिवारलाई मासिक १५ हजार र सोभन्दा बढी सदस्यका लागि प्रतिसदस्य थप रु दुई हजार तीन महिनासम्म उपलब्ध गराइने छ।