देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण
देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश मेघराज पोखरेलको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश जारी गरेको हो।

अन्तरिम आदेश मागका सम्बन्धमा भने सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ। अन्तरिम आदेश दिने नदिने भन्ने छलफलका लागि जेठ ११ गतेको पेसी तोकिएको छ।

आफूहरू अनुसन्धानका लागि सहयोग गर्न मन्जुर रहेको तथा सम्पत्ति शुद्धीकरणको मात्र कसुरको मुद्दा हेर्न विशेष अदालत रहेकामा क्षेत्राधिकारविहीन अदालतबाट पकाउ पुर्जी जारी भएको भन्दै देउवा सर्वोच्च गएका थिए। 

उक्त निवेदनलाई पेसी सूचीको प्राथमिकतामा राख्न आदेश दिँदै सर्वोच्चले भनेको छ, ‘यस अवस्थामा अनुसन्धानको मिसिल हेरी अपनाइएका प्रक्रियाहरूको समेत परीक्षण गरी अन्तरिम आदेश जारी हुने नहुने निष्कर्षमा पुग्नुपर्ने अवस्थाको विषय देखिँदा निवेदनमा अन्तरिम आदेश हुने नहुने निष्कर्षमा पुग्न दुबै पक्षको छलफलको लागि मिति २०८३।०२।११ गतेको पेसी तोकिदिएको छ।’

सुझावित समाचार