- मुम्बईलाई रोमाञ्चक खेलमा हराउँदा खेलाडी बक्समा रहेका डेभिडले विपक्षीलाई माझी औँला देखाउँदै अभद्र व्यवहार गरेका थिए
इन्डियन प्रिमियर लिग (आइपिएल)को अनुशासन कमिटी १९औँ संस्करणमा खेलाडीप्रति कडाइका साथ प्रस्तुत भइरहेको छ । खेलका दौरान वा खेलपछि खेलाडीले कुनै पनि अनुचित क्रियाकलाप गरे कमिटीले कारबाही गर्दै आइरहेको छ । अघिल्लो वर्षको तुलनामा यसपटक चर्चित खेलाडीले पनि कारबाही भोगेका छन् । यसक्रममा रोयल च्यालेन्जर्स बेंग्लोरका टिम डेभिडलाई पनि कारबाही गरिएको भारतीय एजेन्सीले जनाएको छ ।
यसै साता बेंग्लोरले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गरेको थियो । रोमाञ्चक प्रतिस्पर्धामा बेंग्लोरले मुम्बईलाई हराएको थियो । जितसँगै बेंग्लोर शीर्ष स्थानमा पुग्यो । मुम्बईलाई रोमाञ्चक खेलमा हराउँदा खेलाडी बक्समा रहेका डेभिडले विपक्षी खेलाडीलाई माझी औँला देखाउँदै अभद्र व्यवहार गरेका थिए । आइपिएलको आचारसंहिता उल्लंघन भएको पाएपछि डेभिडलाई कारबाही गरिएको छ । खेलका म्याच रेफ्रीहरूले उनलाई ३० प्रतिशत म्याच फी जरिवाना गराएका छन् । साथसाथै डेभिडलाई दुई डिमेरिट अंक पनि प्रदान गरिएको छ ।
अनुशासन कमिटीले डेभिडले लेभल १ को अपराध गरेका थिए । यसै अपराधका कारण उनी कारबाहीमा परेका हुन् । ‘खेल भइरहँदा खेलाडीले अश्लील शब्द वा सांकेतिक रूपमा प्रकट गर्न मिल्दैन । डेभिडले यस्तै काम गरेको देखियो,’ अम्पायरहरूले कमिटीलाई बुझाएको रिपोर्टमा भनिएको छ । डेभिडले खेलाडी बक्सबाट उठेर मुम्बई इन्डियन्सका खेलाडीलाई औँलाको इसारा गरेका थिए । यद्यपि, मुम्बई प्लेअफको दौडबाट लगभग बाहिरिसकेको छ ।
गल्ती स्विकार्दा कम सजाय
बेंग्लोरका डेभिडले खेलका दौरान आफूले गर्न नहुने कार्य गरेको स्विकारेका छन् । उनले म्याच रेफ्री अमित शर्मालाई आफूबाट गल्ती भएको र नियमअनुसार सजाय भोग्न तयार भएको बताएका थिए । त्यसपछि आइपिएलको अनुशासन कमिटीले उनलाई कम जरिवाना र डिमेरिट अंक प्रदान गरेको हो । ‘मैले गल्ती गरेको थिएँ । गल्ती गर्नेले सजाय पाउनुपर्छ । यसका लागि तयार थिएँ,’ डेभिडले भने, ‘आउँदा दिनमा यस्तो काम नगर्ने प्रतिबद्धता गर्छु ।’ यसैगरी, बेंग्लोरका प्रशिक्षक एन्डी फ्लावरलाई पनि कारबाही गरिएको छ । अनुशासनविपरीत काम गरेको आरोपमा फ्लावरलाई खेलमा प्राप्त हुने रकममध्ये १५ प्रतिशत जरिवाना लगाइएको छ । सोही प्रतिस्पर्धामा फ्लावरले फोर्ग अम्पायरसँग आक्रामक शैलीमा वार्ता गरेका थिए ।
३ डिमेरिट पाउँदा प्रतिबन्ध
आइपिएलको अनुशासन कमिटीले ३ डिमेरिट अंक पाउँदा खेलाडी प्रतिबन्धमा पर्ने जनाएको छ । अहिले डेभिडले २ डिमेरिट अंक पाएका छन् । उनले १ डिमेरिट अंक पाउँदा स्वतः एक खेल गुमाउनेछन् । यसैगरी आइपिएलको ५५औँ खेलमा दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेललाई १२ लाख भारु तिराएको छ । पन्जाब किंग्ससँगको प्रतिस्पर्धामा अक्षरले स्लो ओभर फ्याँकेका थिए । आइपिएलको अनुशासन कमिटीका अनुसार खेलमा स्लो ओभरको रणनीति बनाएका कारण नै दिल्लीका कप्तानलाई जरिवाना गराइएको हो । यस खेलमा दिल्लीले पन्जाबलाई तीन विकेटले हराएको थियो ।
सोसल मिडियामा पोस्ट गर्दा अनुमति चाहिने
बिसिसिआईले आइपिएलका दौरान खेलाडीले व्यक्तिगत भिडियो सोसल मिडियामा सार्वजनिक गर्नुपरे आधिकारिक रूपमा अनुमति लिनुपर्ने जनाएको छ । आधिकारिक रूपमा सम्बन्धित निकायसँग अनुमति नलिई भिडियो सेयर गर्दा कारबाही हुने बिसिसिआईले जनाएको छ । बिसिसिआईले आइपिएलको एन्टी–करप्सन तथा सुरक्षा व्यवस्थालाई मध्यनजर गरी यस्तो नियम बनाएको हो । आइपिएलमा यस्तो नियम लागू भए पनि अहिलेसम्म कडाइका साथ पालना भएको देखिँदैन ।