- १९ चैतमा पहिलोपटक सदनमा सेनालाई आरोपित गर्दा बाहिर मात्र होइन, एमालेकै केही नेताबाट समेत विरोध भयो, मंगलबार दोस्रोपटक सेनालाई आक्षेप लगाएपछि संसद्कै रेकर्डबाट अभिव्यक्ति ‘डिलिट’ गरियो
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको रोस्टमबाटै नेपाली सेनामाथि पटक–पटक गम्भीर आक्षेप लगाउँदै आएका छन् । बादलले १९ चैतमा पहिलोपटक सदनबाट सेनालाई आरोपित गर्दा पार्टीभित्रकै केही नेताले समेत विरोध गरेकामा मंगलबार दोस्रोपटक फेरि दोहोर्याएको उस्तै अभिव्यक्तिलाई सभामुख डिपी अर्यालले संसद्को रेकर्डबाटै ‘डिलिट’ गर्न लगाएका छन् । प्रश्न उठेको छ– सेनाबारे संसद्बाट निरन्तर दिएको विवादास्पद अभिव्यक्ति एमालेको ‘लाइन’ नै हो कि दलका नेता बादल नसच्चिएका हुन् !
१९ चैतको संसद् बैठकमा उनले रास्वपाको अभूतपूर्व विजयमा नेपाली सेनादेखि सुशीला सरकार, विदेशी शक्तिकेन्द्रहरू लगायतले ठुलो भूमिका खेलेको दाबी गरेका थिए । त्यस्तै, बजेट अधिवेशनको पहिलो दिन मंगलबार दलको नेताको हैसियतमा सम्बोधन गर्दै उनी अघिल्लो सम्बोधनमा जस्तै जेन–जी आन्दोलन र नेपाली सेनाको भूमिकाप्रति आक्रामक रूपमा प्रस्तुत भए । ‘नीति तथा कार्यक्रम राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति सरकारको नीति तथा कार्यक्रम किन मौन ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा सेना रहस्यमयी ढंगबाट किन मूकदर्शक ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दै छ ?’ बादलले लगातार सरकारमाथि प्रश्न गरेका थिए ।
राजनीतिशास्त्री कृष्ण पोखरेल बादलले केपी ओलीको ‘लाइन’ बोलेको बताउँछन् । ‘उहाँ (बादल)ले आफैँ बोलेकै होइन, केपी ओलीको विचार, लाइन बोल्नुभएको हो, किनभने उहाँ दलको नेता पनि ओलीजीकै समर्थनमा बन्नुभो, अरू पदाधिकारी पनि अध्यक्षकै परामर्शमा तोकिएकाले उहाँ अहिले नजिकको विश्वासपात्र बन्नुभएको छ,’ उनले भने, ‘नेपाली सेनाले साथ नदिएकै कारण आफू सत्ताच्युत हुनुपरेको तुष उहाँभित्र अझै कायम छ, त्यसैले आफ्नो राजनीतिक लाइन अहिले बादलजी मार्फत प्रकट गरिरहनुभएको छ ।’
एमाले पदाधिकारी तहमा रहेका उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेल अध्यक्ष ओलीको सम्मानजनक बहिर्गमनका पक्षमा रहेका कारण उनीहरू अहिले बादलको तहमा ओर्लिएर अध्यक्षको लाइन नबोलेको पनि पोखरेलको बुझाइ छ । उनले नेपाली सेनालाई विवादतमा तान्नु गलत भएको पनि बताए ।
‘नेपाली सेना जहिले पनि जता शक्ति हुन्छ, त्यतै ढल्किने र पक्षमा उभिने गर्दै आएको सत्य हो । नाकाबन्दीताका केपीजीलाई पनि सेनाले साथ दिएकै हो, जेन–जी आन्दोलनताका उहाँले सेनाको सुझावलाई नजरअन्दाज गर्दा संस्था ज्यादा रिसाएको हुन सक्छ । त्यसैले आफूलाई सहयोग गरेन भन्ने ठानेर व्यक्तिगत तुष अहिले जिम्मेवार संस्थाप्रति अराजनीतिक तरिकाले प्रकट गराउनु गलत छ,’ उनले भने ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बादलले लगातार सरकारमाथि प्रश्नहरूको वर्षा गरेपछि रास्वपाका कतिपय सांसदले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए । खासगरी नेपाली सेनालाई विवादमा तान्न खोजेकोमा रास्वपाले मात्र होइन, विपक्षी बेन्चमै रहेका श्रम संस्कृति पार्टी र राप्रपाले पनि आपत्ति जनाएका थिए ।
सभामुख डोलप्रसाद अर्यालले जेन–जी आन्दोलनसँग जोडिएको देश जलाउने देशद्रोही रास्वपाको ‘अराजक जत्था’ र ‘नेपाली सेना मूकदर्शक’ शब्द अशिष्ट र अमर्यादित भन्दै रेकर्डबाट हटाइएको जानकारी दिएका छन् । तर, एमाले प्रमुख सचेतक ऐन महरले त्यसप्रति आपत्ति जनाउँदै हटाउनुको कारण मागेका थिए । दलको उपनेता पद्मा अर्यालले नेता बादलले सत्यतथ्यमा आधारित प्रश्न उठाउँदा दुईवटा शब्द हटाउने कुरामा आपत्ति रहेको बताइन् ।
‘सभामुखले दुईवटा शब्द हटाउनुभो । नेपालको झन्डा ओढेर विध्वंस मच्चाएको कुरा जायज र साँचो कुरा हो । त्यस्तो शब्दलाई नै असंसदीय भन्नु अनुचित छ । सभामुखले शब्द टिपेर होइन, आसय हेरेर निर्णय गर्नुपर्थ्यो,’ अर्यालले भनिन् । अर्यालको भनाइबाटै बादलले दलको लाइनअनुसार नै अभिव्यक्ति दिएका थिए । त्यही कारण पनि एमालेले आफ्नो असहमतिलाई पनि संसदमा दर्ज गराएको थियो ।
१९ चैतमा बसेको संसद्को बैठकमा पनि रास्वपाको अभूतपूर्व विजयमा नेपाली सेनादेखि सुशीला सरकार, विदेशी शक्तिकेन्द्रहरू लगायतले ठुलो भूमिका खेलेको दाबी गरेका थिए । ‘रास्वपाको अभूतपूर्व विजयमा तथ्यहरूले के स्पष्ट गर्छ भने नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बार्बरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था र पात्रहरूलाई पनि एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु,’ उनले भने ।
बादलको त्यस्तो अभिव्यक्तिको तत्काल प्रतिवाद गर्दै उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालबाटै आपत्ति जनाएका थिए । त्यसलगत्तै सामाजिक सञ्जालबाट उपाध्यक्ष पौडेलले खण्डन गर्दै दलको नेताका हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेका बताएका थिए । ‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) दलको नेताका हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए ।
उनको अभिव्यक्तिले तरंग ल्याएपछि उपाध्यक्ष पौडेलको दबाबमा २० चैतमै केन्द्रीय सचिवालयको बैठक पनि बस्यो । बादलको अभिव्यक्तिलाई सचिवालयमा छलफलको एजेन्डासमेत बनाएर एमालेले सच्याएको थियो । ‘उहाँको अभिव्यक्तिबाट जनमतलाई अलिकति नस्विकारेको जस्तो देखिएको हुनाले जनताले दिएको मतलाई हामीले सम्मान गर्छौँ भनेर हामीले कन्फ्युजनलाई स्पष्ट पारेका छौँ,’ बैठकपछि एमालेले भनेको थियो, ‘मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा बैठकले स्पष्ट पारेको छ ।’
तर, एक साता नबित्दै २५ चैतमा पोखरामा पार्टीको गण्डकी प्रदेशमा सम्पन्न भेलामा बादल पुरानै अभिव्यक्तिमा दृढ हुँदै आक्रामक मात्र सुनिएनन्, पौडेललाई लक्षित गर्दै उल्टै दक्षिणपन्थीको आरोपसमेत लगाए । बादलले केपी ओलीसँगको परामर्शमै संसद्लाई सम्बोधन गरेको संकेत गरेर अभिव्यक्तिमा अडिग रहेको मात्र बताएनन्, पार्टीभित्र दक्षिणपन्थीहरू एक्सपोज भएको बताए ।
‘पार्टीको उपाध्यक्षले सार्वजनिक रूपमा एउटा स्टेटमेन्ट जारी गर्नुभयो । संसद्मा दलको नेताबाट जुन धारणा राखियो त्यो पार्टीको मान्यताविपरीत छ । त्यसमा घोर आपत्ति छ र त्यसबारेमा सचिवालयको बैठक बसेर उपयुक्त निर्णय दिइनेछ भन्नुभयो,’ बादलले पोखरामा भने, ‘यहाँ हेर्नुस्, अन्तर्संघर्षको स्थिति के छ । को–को मान्छेहरू वक्तव्यबाट उत्तेजित भए, भित्र लुकेका थिए र बाहिर देखिए । किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्र हो ।’ त्यति मात्र होइन, उनले पार्टीको लाइन नै आफूले सदनमा बोलेको प्रस्टीकरणसमेत दिए । ‘त्यहाँ जे बोलियो, जे सदनमा दिइयो, पार्टीको लाइन बोलेको हो । मैले पार्टीको निर्णय दृढतापूर्वक लागू गरेको हो । त्यो वास्तवमा देश र जनताको दुस्मनलाई बोल्डली प्रहार गरिएको हो,’ उनले भनेका थिए ।