- प्रधानमन्त्री शाह ६ मंसिरमा अपराह्न दिल्ली पुग्ने र ७ मंसिरमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी ८ मंसिरमा स्वदेश फर्कने गरी भ्रमणको तयारी । परराष्ट्र मन्त्रालयले थाल्यो आन्तरिक तयारी । तयारीकै सिलसिलामा भारतीय विदेशसचिव विक्रम मिश्री पनि तिहारअघि काठमाडौं आउँदै ।
काठमाडाैं- प्रधानमन्त्री बालेन्द्र शाह भारतको तीनदिने औपचारिक भ्रमणमा जाने तयारी सुरु भएको छ । सरकारको नेतृत्व सम्हालेको आठ महिनापछि प्रधानमन्त्री शाहको भारत भ्रमण तय भएको छ । प्रधानमन्त्री बनेपछि यो उनको पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ ।
नेपाल र भारत दुवैले प्रधानमन्त्री शाहको भ्रमणको कार्यतालिका सार्वजनिक गर्न बाँकी छ । दुवै देशका परराष्ट्र मन्त्रालयले एकैसाथ भ्रमण तालिका सार्वजनिक गर्ने तयारी गरेका छन् । गत वर्ष २१ फागुनको निर्वाचनपछि झन्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहको भ्रमणलाई नेपाल र भारत दुवैले चासोका साथ हेरेका छन् ।
परराष्ट्र स्रोतका अनुसार ६ मंसिरमा अपराह्न दिल्ली पुग्ने र ७ मंसिरमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी ८ मंसिरमा स्वदेश फर्कने गरी भ्रमणको तयारी भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जाने तयारी छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीकै सिलसिलामा कात्तिक तेस्रो साता (तिहारअघि) भारतीय विदेशसचिव विक्रम मिश्री पनि काठमाडौं आउँदै छन् । उनी १८ कात्तिक (आगामी बुधबार) आउने परराष्ट्र स्रोतले जानकारी दिएको छ । यता परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाबारे नेपाल–भारत आर्थिक सहकार्यसँग सम्बन्धित सरोकारवाला मन्त्रालयहरूसँग छलफल तीव्र पारेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण गर्ने तयारी भइरहेको बताए । ‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी मन्त्रालयबाट तयारी भइरहेको छ । भ्रमणको मिति उपयुक्त समयमा जानकारी गराउनेछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।
स्रोतका अनुसार हालसम्मको तयारीअनुसार प्रधानमन्त्री शाह र मोदीबिच ७ मंसिरमा हैदराबाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ । त्यसक्रममा दुई देशबिच समझदारीपत्र आदानप्रदान, परियोजना उद्घाटन तथा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेलगायत कार्यक्रम रहनेछन् ।
सोही दिन प्रधानमन्त्री शाह तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्ने कार्यक्रमबारे पनि छलफल भइरहेको छ । यसबाहेक भारतमा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकर तथा प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग शिष्टाचार भेट गर्ने कार्यक्रमबारे छलफल भइरहेको छ ।
भ्रमणका क्रममा अयोध्यादेखि जनकपुरसम्म रेल सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी रहेको एक उच्च अधिकारीले बताए । भारतीय सहयोगमा पनौतीमा निर्माण सम्पन्न भएको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान भवनको पनि संयुक्त रूपमा उद्घाटन गर्ने कार्यसूची छ । भोटेकोशी बाढीबाट प्रभावितको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि भारतले अनुदान तथा सहुलियतपूर्ण ऋण घोषणा गर्न सक्ने कूटनीतिक स्रोतहरूले बताएका छन ।
भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री शाहसँग काठमाडौंमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग पनि भेटवार्ता गर्नेछन् ।
उनले नेपाली समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राईसँग प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा तथा नेपाल–भारत सहकार्यका विषयमा विस्तृत औपचारिक वार्ता गर्नेछन् । प्रधानमन्त्रीको भारत भ्रमणमा हुने सहमतिको खाका भारतीय विदेशमन्त्री मिश्रीको नेपाल भ्रमणमै तय हुने अपेक्षा गरिएको छ ।
कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला नेपाल आइपुग्नेछन् भने भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेको एग्रिमोसम्बन्धी प्रक्रिया भारतले पूरा गरिसकेपछि उनलाई दिल्ली जाने बाटो खुल्नेछ । ‘सचिवस्तरीय छलफल कसरी अघि बढ्छ भन्ने आधारमा प्रधानमन्त्रीको भ्रमण तय हुन्छ,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने ।
प्रधानमन्त्री मोदीले चैत दोस्रो साता नेपाली समकक्षी शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए । सरकार गठनको आठ महिनापछि प्रधानमन्त्री शाहको भारत भ्रमण हुँदै छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको औपचारिक भ्रमण गरिसकेका छन् । कार्यक्रमकै सिलसिलामा गृहमन्त्री सुधन गुरुङ भारत भ्रमण गरेर फर्किएका छन् ।
परराष्ट्र मन्त्रालयले दुई देशबिच विगतमा भएका सहमति र समझदारीहरूको समीक्षा थालेको छ । भ्रमणको तयारीस्वरूप परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारीले सरोकारवाला मन्त्रालयहरूसँग छलफल तीव्र पारेका छन् । परराष्ट्र अधिकारीहरूका अनुसार नेपाल र भारतबिच अस्तित्वमा रहेका करिब ४० वटा द्विपक्षीय संयन्त्रको समीक्षा परराष्ट्रसचिवस्तरीय भेटवार्तामा हुनेछ ।
शाह प्रधानमन्त्रीमा नियुक्त हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाई दिएका थिए भने प्रधानमन्त्री बनेपछि बधाई सन्देश पठाएका थिए । परराष्ट्रमन्त्री खनालका अनुसार मोदीले बधाई–पत्रमा समकक्षी शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा दिएका थिए । जवाफमा नेपालले प्रधानमन्त्री शाहबाट निमन्त्रणा स्वीकार भएको उल्लेख गर्दै आवश्यक गृहकार्यपछि कूटनीतिक च्यानलमार्फत भ्रमण हुने बताएको थियो ।