काठमाडौं/ भूमि प्रशासन कार्यालय, लगनखेलका कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा सेवाग्राहीबाट घुस लिई सरकारी अभिलेख हेरफेर गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले ललितपुर महानगरपालिका– ४ का वडाध्यक्ष सन्तोष खड्का, भूमि प्रशासन अधिकृतहरू अर्जुनदेव योङ्या र नवीनकुमार गोले, नायब सुब्बाहरू मनोज पोख्रेल, राजकुमार मगर र विशाल सुन्दास, खरिदारहरू नरेन्द्र्रबहादुर बस्नेत र भक्तबहादुर राना, सहायक कम्प्युटर अपरेटर इन्दु दाहाललाई प्रतिवादी बनाएको छ । त्यस्तै, लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाललाई मतियारका रूपमा मुद्दा चलाएको छ ।
उनीहरूले साबिक ललितपुर नगर वडा नं. ४ (ध) को जग्गाको अंश बुझेको भर्पाई लिखत पारित गर्ने बहानामा तीन लाख रुपैयाँ घुस लिई बाँडीचुँडी खाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । नापी कार्यालयबाट हालसाबिक भई पुनः नापीअनुसारको नयाँ स्रेस्ता र नक्सा प्राप्त भइसकेको भए पनि उनीहरूले सो विवरण लुकाएका थिए । भू–सेवा प्रणालीमा समेत अद्यावधिक नगरी, विनाआधार रद्द गराई, साबिककै पुरानो विवरणका आधारमा लिखत पास गराई स्रेस्ता पुर्जा तयार पारेको अख्तियारको दाबी छ ।
मुख्य कसुरदारसरह सजाय मागदाबी
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राष्ट्रसेवक कर्मचारी तथा वडाध्यक्षसहित नौजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१), दफा ९ र ११ बमोजिम ३ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय माग गरिएको छ ।
त्यसैगरी, घुस लेनदेन र अभिलेख फेरबदलमा मतियार बनेका लेखापढी व्यवसायी शैलेन्द्र्र रानामगर र समीर कटवाललाई ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशअनुसार मुख्य कसुरदारसरह नै कैद र जरिवाना सजाय गर्न मागदाबी लिइएको छ ।