- हिमआँधी र हिमपहिरोको जोखिम
बंगालको खाडीमा विकसित अतिशक्तिशाली चक्रवात अर्नबको असरले आज (बिहीबार)देखि शनिबारसम्म नेपालमा वर्षा र हिमपात हुने भएको छ । बिहीबार राति प्रभाव बढेर शुक्रबार र शनिबार भने देशका धेरै ठाउँमा पानी पर्ने तथा केही ठाउँमा ठुलो वर्षा हुने आकलन नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले चक्रवातको प्रभावले बुधबारदेखि बादल लाग्न थाले पनि बिहीबारदेखि असर बढ्ने बताए । ‘वर्षा बिहीबारदेखि नै सुरु हुने देखिन्छ । तर, शुक्रबार र शनिबार देशभर नै वर्षाको सम्भावना छ । केही ठाउँमा भारी वर्षा पनि हुन्छ,’ उनले भने, ‘यो प्रणालीले विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा अलि जोखिम छ । त्यहाँ विपत् निम्तिन सक्छ । समग्रमा धानबाली र पर्यटन क्षेत्र प्रभावित हुने देखिन्छ ।’
महाशाखाले बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बंगालको खाडीमा बनेको अर्नब चक्रवात भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान करिब ८:१५ बजे जमिनमा प्रवेश गरिसकेको छ । चक्रवात आफैँमा कमजोर हुँदै गए पनि त्यसले बोकेर ल्याएको शक्ति (जलवाष्पयुक्त हावा) उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । बिहीबार बिहानसम्म न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । ‘चक्रवातले नेपालमा सिधै असर गर्ने होइन । त्यसले बोकेर ल्याएको शक्ति कहाँसम्म पुग्छ भन्ने हो । बिहार र उत्तरप्रदेशसम्म यसको असर देखिन्छ । जलवाष्पयुक्त हावा नेपालमा पनि आउने र वायुमण्डलमा फैलिँदा पानी पर्ने हो,’ उनले भने ।
हिमआँधी र हिमपहिरोको जोखिम
चक्रवातको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहने महाशाखाले चेतावनी दिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेकालाई मौसम प्रतिकूल रहने अवधिमा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । यसबाट सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न अनुरोध गरिएको छ ।
धानबाली भित्र्याउने समय भएकाले किसानलाई पनि विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसम प्रतिकूल हुन सक्ने अनुमानका आधारमा आगामी शनिबारसम्म धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न भनिएको छ ।
बिहीबारदेखि शनिबारसम्म कुन दिन कहाँ के छ सम्भावना ?
बिहीबार दिउँसाे : मधेश प्रदेशलगायत कोशी र बागमतीका पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमतीका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्छ ।
बिहीबार राति : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा, हिमपात तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शुक्रबार दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको आकलन छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा, हिमपात सम्भावना छ ।
शुक्रबार राति : देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।
शनिबार : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान, लुम्बिनीको एक–दुई स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको पनि आकलन छ ।
आइतबार : देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कासम्मको वर्षा तथा हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ ।