कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा मध्यमसम्म र केही ठाउँमा भारी वर्षा हुन सक्ने प्रक्षेपण
किसान धानबाली भित्र्याउन व्यस्त रहेका वेला मौसममा फेरबदल हुने भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र (चक्रवातमा परिणत हुने)का कारण आगामी बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना छ ।
वर्षाले पाकेको धानबाली नष्ट गर्न सक्ने भएकाले त्यसअघि नै भित्र्याउन वा सम्भव नभए अर्काे सातासम्म कुर्ने गरी क्षति न्यूनीकरणका उपाय अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका कृषिमौसमविद् रामेश्वर रिमालले धान राम्रोसँग नपाकेको भए घाम लागेपछि काट्नु उपयुक्त हुने बताए ।
मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म विशेषगरी पूर्वी क्षेत्र र पश्चिममा गण्डकी, लुम्बिनीका पूर्वी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताए । कर्णाली र सुदूरपश्चिमका हिमालीबाहेक क्षेत्रमा भने धेरै ठुलो असर पर्ने देखिँदैन ।
‘बुधबारबाट हिमाली क्षेत्रमा छिटपुट पानी पर्ने सम्भावना छ । तर, बिहीबार दिउँसोबाट कोशी, बागमती र गण्डकीमा पानी पर्न थाल्ने देखिएको छ,’ मौसमविद् लामिछानेले भने, ‘बिहीबार राति, शुक्रबार र शनिबार बिहानसम्म अलि धेरै प्रभाव पर्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा मध्यमसम्म र केही ठाउँमा भारी वर्षा हुन सक्छ ।’ शुक्रबार र शनिबार बिहान पूर्वी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने आकलन गरिएको छ ।
तर, लगातार झरी पर्ने नभई केहीबेर पानी पर्ने र रोकिने मौसमविद् लामिछानेले बताए । ‘पश्चिममा लुम्बिनीको पूर्वी भूभागसम्मका धेरै ठाउँमा मध्यमसम्म पानी पर्न सक्छ । कहीँ–कतै भारी वर्षा पनि हुने देखिन्छ,’ लामिछानेले भने, ‘तर चक्रवात बन्ने क्रममा रहेकाले कहाँ कति पानी पर्न सक्छ भनेर अहिले नै भनिहाल्न सक्ने अवस्था छैन । छिनछिनमा मौसममा फेरबदल हुने भएकाले विभागको अद्यावधिक सूचना हेर्न अनुरोध छ ।’ आइतबारबाट भने मौसममा सुधार हुने विभागले जनाएको छ ।
काटेको धान भित्र्याउन नसके पानी नजम्ने अग्लो ठाउँमा राखेर त्रिपालले छोप्न सकिन्छ
रामेश्वर रिमाल, कृषि मौसमविद्, नार्क
धान राम्रोसँग पाकेको छैन भने घाम लागेपछि भित्र्याउन उपयुक्त हुन्छ । काटेको धान भित्र्याउन नसके पानी नजम्ने अग्लो ठाउँमा राखेर त्रिपालले छोप्न सकिन्छ । पाकेको धान काट्न नसक्नेले एक लाइन काटेर कुलो काट्नुभयो भने पनि जोगाउन सकिन्छ । तराईमा डुबान हुने भएकाले पानी निकास गर्न गाह्रो छ । हल्का हावाहुरी पनि चल्न सक्ने भएकाले धान ढाल्न सक्छ । अहिले पानी पर्दा धान मात्र होइन, उखु, केरालाई पनि असर गर्न सक्छ ।