एक वर्ष पालो कुरेपछि बल्ल अप्रेसन

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण
  • सरकारी अस्पतालमा अप्रेसन गर्न त्यसै पनि महिनौँ पालो कुर्नुपर्थ्यो, आइतबार पनि बिदा थपिएपछि झन् धकेलिएको छ, टिचिङमा १३ महिना तथा वीर र पाटनमा नौ महिनासम्म कुरेपछि मात्रै अप्रेसनको पालो

पोखराका रमेश कार्की सोमबार छटपटाउँदै वीर अस्पताल पुगे । उनको दुखाइको कारण रहेछ पित्तथैलीमा ११ एमएमको पत्थरी । डाक्टरले अप्रेसन गर्नुपर्ने निर्णय सुनाइदिए, तर मिति तोकिदिए आगामी १५ माघ अर्थात् नौ महिनापछि । दुखाइबाट मुक्ति खोज्न अस्पताल आएका उनी डाक्टरले अप्रेसनका लागि तोकिदिएको मिति सुनेर निराश हुँदै फर्किए ।

अस्पतालको गेटमा भेटिएका उनले भने, ‘ज्वरो र दुखाइ बढेपछि अस्पताल आएको, जाँच्दा पत्थरी देखियो । तर, अप्रेसनको पालो माघमा पुर्‍याइदिए । त्यतिवेलासम्म कसरी कुर्नु ? निजी अस्पतालतिर जाउmँ भने धेरै खर्च हुन्छ, आर्थिक क्षमता छैन, यहाँ नौ महिना कुर्नुपर्ने भयो ।’

धादिङ गजुरीकी सीता थापाको ढाडमा नसा च्यापिएको छ । यो समस्याको अन्तिम समाधान अप्रेसन नै भएको चिकित्सकले नै बताइसकेका छन् । चार दिनदेखि वीरमा उपचार गराइरहेकी उनलाई मंगलबार अस्पतालले अप्रेसनको ‘डेट’ तोकिदियो, १९ माघ । नौ महिनापछि अप्रेसनको पालो दिएपछि सीताले नामै टिपाएकी छैनन् ।

‘समस्या अहिले छ, अप्रेसनको पालो नौ महिनापछि आउँछ भन्छ । त्यति धेरै समय रोग पालेर कसरी बस्नू ? आर्थिक रूपमा राहत होला भनेर वीरमा आएको, अब घरसल्लाह गरेर ऋणधन जुटाएर भए पनि अरू अस्पतालतिरै अप्रेसन गर्नुपर्लाजस्तो छ,’ उनले भनिन् । सीताले हाल वीरमा नियमित थेरापी भने गराइरहेकी छिन् । तर, थेरापीले केही आराम दिए पनि पूर्ण समाधान नदिएको पूरानो अनुभव पनि सुनाइन् । 

यी दुई उदाहरण समग्र ठुला सरकारी अस्पतालकै यथार्थ हुन् । उपचारमा ढिलासुस्ती विगतदेखिकै समस्या हो, पछिल्लोपटक आइतबारसमेत इमर्जेन्सीबाहेक सेवा बन्द हुन थालेपछि गम्भीर ‘साइड इफेक्ट’ देखिएको छ । दैनिक ओपिडीदेखि शल्यक्रियालगायत सेवाका लागि बिरामीको ठेलमठेल भिड हुने गरेको छ ।

सबैभन्दा लामो पालो त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा छ । टिचिङमा ०८४ असारसम्म अर्थात् १३ महिनासम्म पाँच हजार पाँच सय बिरामी पालोमा छन् । अब आउने नयाँ बिरामीले त्यसपछि मात्रै पालो पाउँछन् । तर, लामो पालो भएका कारण कतिपय पालोका बिरामी निजीतिर जाने अनुमान गरिएको छ ।

‘अहिले बिरामीको भिड धेरै छ, आइतबार बिदा भएपछि त्यस दिनका बिरामीको चाप सोमबार थपिन्छ,’ टिचिङ अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले भने, ‘शल्यक्रिया गर्नुपर्ने बिरामीको पालो ०८४ असारसम्म पुगिसकेको छ ।’

मिर्गौलामा १२ एमएमको पत्थरी भएपछि अप्रेसन गर्नुपर्ने कालिकोटका हितराज थापाको पालो टिचिङका डाक्टरले ५ असार ०८४ का लागि तोकिदिएका छन् । ‘गाउँकै अस्पतालमा जचाउँदा किड्नीमा पत्थरी छ भन्ने पत्ता लाग्यो, त्यहाँ अप्रेसन नहुने भएपछि काठमाडौं आएको, तर त्यति टाढाबाट आए पनि पालो पाइएन,’ मंगलबार टिचिङमा भेटिएका उनले भने, ‘अब अरू नै अस्पतालमा उपचार गराएर गाउँ फर्किनुपर्ला । नत्र एक वर्षसम्म कुर्दा मरिएला भन्ने डर भो ।’

सूचना अधिकारी रोसायराका अनुसार दाँत, पेट, युरोलोजी, न्युरो, अर्थोलागयतसँग सम्बन्धित अप्रेसनको पालो निकै पर धकेलिएको छ । टिचिङ अस्पतालमा दैनिक ७० मेजर अप्रेसन हुन्छन् भने ३० भन्दा बढी माइनर अप्रेसन हुन्छन् । आइतबार पनि बिदा हुन थालेपछि पालो लम्बिँदै गएको छ । टिचिङमा सरकारले भुक्तानी नदिएको भन्दै स्वास्थ्य बिमा कार्यक्रम पनि बन्द गरिएको छ ।

देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामीको अप्रेसनको पालो नौ महिनासम्म पुगेको छ । आइतबार बिदा थपिएपछि उक्त दिनको करिब ५० अप्रेसन अर्को दिनका लागि सर्ने गरेको वीर प्रशासनले जनाएको छ । ‘स्रोत–साधन सीमित छ, स्वास्थ्यकर्मीको संख्या पनि सीमित छ, आइतबार बिदा हुने भएपछि त्यो दिनको करिब ५० अप्रेसन अर्को दिनलाई सर्ने गरेको छ,’ वीरका निर्देशक डा. दिलीप शर्माले भने, ‘दैनिक ४०–५० शल्यक्रिया हुन्छन्, कहिलेकाहीँ एकै दिन ८०–९० बिरामी शल्यक्रिया गर्नुपर्ने अवस्थाका आउँछन्, तर उनीहरूको अवस्था हेरेर शल्यक्रिया गरिन्छ, कुर्दा समस्या नहुनेलाई पालो परेको दिन बताइदिन्छौँ । जेनतेन शल्यक्रियाको पालो तीन महिनापछि आउने गराएका थियौँ, अब फेरि निकै पर धकेलियो ।’

शर्माका अनुसार वीरमा क्यान्सरका बिरामीको अप्रेसन दुई साता, सिटिस्क्यान गर्नुपर्ने बिरामीको दुई साता, न्युरोका बिरामीको तीन महिना, डेन्टलका बिरामीको चार महिना, पत्थरीका बिरामीको नौ महिना, प्रोस्टेटको बिरामीको आठ महिनासम्म अप्रेसन पालो तोकिएको छ । त्यस्तै, वीरमा एमआरआई र सिटिस्क्यानका लागि १५ दिनभन्दा बढी पालो कुर्नुपरेको बिरामीको गुनासो छ ।

दुई दिन बिदाका कारण अस्पतालले सर्जरीदेखि ओपिडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ । यहाँ आउँदा पालो नपाएका बिरामीहरू अन्य निजी अस्पताल धाउन बाध्य छन् । सस्तो र भरपर्दो सेवा लिन भनेर वीरमा आएका कतिपय बिरामीले पालो नपाउने भएपछि निराश हुँदै फर्किने गरेका छन् । ‘आमाको पित्तथैलीको अप्रेसन गर्नुपर्ने थियो, सबै जाँच गराइयो, ८–१० हजार यसै खर्च भयो, अब माघमा आउनुस् भन्नुभएको छ,’ मंगलबार वीर अस्पताल परिसरमा भेटिएका नुवाकोटाका भोला दाहालले भने, ‘एकजना आफन्त छन्, एकपटक कुरा गर्छौँ, नत्र अन्त जानुपर्ला ।’

पाटनमा पनि देशैभरका बिरामीको भिड लाग्छ । अस्पताल प्रशासनका अनुसार युरोलोजी, न्युरो, दन्त, मुटु, नाक–कान–घाँटीलगायतको अप्रेसनको पालो २० माघसम्म पुर्‍याइएको अस्पतालले जनाएको छ । माइनर तथा जोखिम नहुने किसिमका कतिपय शल्यक्रियाको पालो पर सारिएको अस्पतालको दाबी छ ।

‘बिरामी धेरै आउँछन्, सेवा दिने समय उही हो, त्यसमा पनि आइतबार बिदा थपिएको छ । बिदाको दिन भवितव्यबाहेकका शल्यक्रिया हुँदैनन्, अहिले हाम्रो शल्यक्रियाको सूची हेर्दा माघसम्म पुगेको छ,’ अस्पतालका एक विशेषज्ञ चिकित्सकले भने, ‘जनशक्ति थप गरे बिरामीलाई राहत हुने थियो, तर सकिएको छैन ।’

सूची हेर्दा माघसम्म ९२० बिरामीले पालो कुरिरहेका छन् । तर, क्रिटिकल अवस्थामा बिरामी आएर पालो मिचेरै शल्यक्रिया गरिरहेको अस्पतालले जनाएको छ । उस्ताउस्तै किसिमका र पालो कुर्दा फरक नपर्ने किसिमका बिरामीलाई अवस्था हेरेर निश्चित समय दिने गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, निजामती अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा तीन महिनापछि मात्रै शल्यक्रियाको पालो आउँछ । निजामती अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीका अनुसार आकस्मिकबाहेकका शल्यक्रियाको पालो तीन महिनासम्म पुगेको छ । ६–७ महिनापहिले नौ महिनासम्म पालो कुर्नुपर्ने थियो, अहिले सुधार गर्दै तीन महिनासम्म झारेका छौँ, तर फेरि दुईदिने बिदाले पालो कुर्नेको संख्या उकालो लाग्दै छ,’ उनले भने, ‘यहाँ अहिले दैनिक एक हजार तीन सय बिरामी आउँछन्, त्यसमध्ये सानाठुला गरी करिब सयजनाको शल्यक्रिया गर्नुपर्ने हुन्छ ।’ यहाँ दैनिक ३०–३५ वटा शल्यक्रिया हुन्छन् । अस्पतालका अनुसार तीन महिना पालो कुर्नुपर्ने बिरामीको संख्या ७५० भन्दा बढी छ ।

त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रियाका लागि आएका बिरामीलाई तीन महिनासम्मको पालो कुराउने गरिएको छ । हड्डी, हाडजोर्नी र चोटपटकसँग सम्बन्धित बिरामीलाई अस्पतालले अवस्था हेरेर पालो दिने गरेको अस्पतालको दाबी छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले अस्पतालले गुणस्तरीय सेवा दिनका लागि कुराउनुपर्ने अवस्था रहेको बताए । ‘अस्पताल आउँदाबित्तिकै सेवा दिन त सकिँदैन, त्यसरी दिइएको सेवा गुणस्तरीय पनि नहुन सक्छ,’ उनले भने, ‘फेरि अवस्था हेरेर पनि बिरामीलाई पालो दिने हो, आउँदाबित्तिकै शल्यक्रिया गर्नका लागि सबै स्रोतसाधन पुग्दो छैन ।’

हाल सरकारी अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्ने बिरामी अत्यन्तै भिड भएपछि स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अस्पतालमा पालो कुर्नेको संख्या ०८४ सम्म पुगेकोबारे जानकारी नभएको बताए । ‘पहिलेभन्दा अस्पतालमा केही सुधार भएको छ, शल्यक्रियाको पालो ०८४ सम्म पुगेको छ भनेर जानकारी आएको छैन, त्यस्तो नहुनुपर्ने हो,’ उनले भने, ‘यसबारे अस्पतालहरूबाट थप जानकारी लिन्छौँ ।’

निवर्तमान स्वास्थ्यमन्त्री डा. सुधा शर्मा भन्छिन्–निजीमा बिरामी जाऊन् भनेर पनि धेरै पछिको पालो दिएको हुन सक्छ
निवर्तमान स्वास्थ्यमन्त्री डा. सुधा शर्माले कतिपय अस्पतालले बिरामीलाई जानजान धेरै पछिको पालो दिने गरेको भन्दै यसमा मन्त्रालयले ध्यान दिनुपर्ने बताइन् । ‘अस्पतालले दैनिक कति शल्यक्रिया गर्छ, दिनमा वा सिफ्टवाइज शल्यक्रिया कति छ त्यो हेर्नुपर्छ, यदि त्यहाँ भएको टिम धेरै छ, तर शल्यक्रियाको पालो पछि–पछि दिएको छ भने त्यो त राम्रो हुँदै भएन,’ उनले भनिन्, ‘धेरै समयपछिको पालो दिएपछि बिरामी निजीमा जान बाध्य हुन्छन् । कतिपय अस्पतालले निजीमै बिरामी जाऊन् भनेर पनि धेरै पछिको पालो दिएका हुन सक्छन्, यसबारे वास्तविकता पत्ता लगाउन शल्यक्रियाको क्षमता, जनशक्ति र संख्या हेर्नुपर्छ ।’

See More On

सुझावित समाचार