आठौँ बागमती गोल्डकपको उपाधिका लागि चित्लाङ र बागमती भिड्ने

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार चित्लाङ एफसी काठमाडौं र बागमती युवा क्लब सर्लाहीबिच प्रतिस्पर्धा हुँदै छ।

सहिद स्मृति रंगशालामा दिउँसो ३ बजे हुने फाइनल खेलमा दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रने तयारीमा छन्। प्रतियोगिताको फाइनलअघि शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा खेलाडीहरूले उपाधि जित्ने दाबी गरेका छन्।

चित्लाङ एफसीका प्रशिक्षक सुमन श्रेष्ठले टोलीको लय उत्कृष्ट रहेको भन्दै उपाधि जित्ने विश्वास व्यक्त गरे। अनुभवी तथा विदेशी खेलाडीको संयोजनले टोली थप बलियो बनेको उल्लेख गर्दै उनले फाइनलमा पनि आक्रामक रणनीति अपनाइने बताए। चित्लाङका खेलाडी सकल रेग्मीले टोलीमा अनुभवी खेलाडीहरूको राम्रो संयोजन रहेको बताउँदै ट्रफी जितेरै फर्किने दाबी गरे।

यता बागमती युवा क्लबका प्रतिनिधि विश्वराज लामिछानेले आफ्नो टोली उपाधिका लागि ‘भोको’ रहेको प्रतिक्रिया दिए। देशका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा नियमित सहभागिताले खेलाडीहरू अनुभवी बनेको उनको भनाइ छ। बागमतीका खेलाडी सुजन गुरुङले अघिल्ला खेलमा भएका कमजोरी सुधार गरेर फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए।

यस संस्करणको प्रतियोगितामा चित्लाङ एफसीले प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो। चित्लाङले प्रि–क्वार्टरफाइनलमा विभागीय टोली एपिएफलाई हराएको थियो भने क्वार्टरफाइनलमा साविक विजेता मछिन्द्र एफसीलाई पराजित गरेको थियो। सेमिफाइनलमा नवजनजागृति युवा क्लब, सिमरामाथि ५–१ गोलको फराकिलो जित निकाल्दै चित्लाङ पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो।

चित्लाङको आक्रामक खेल शैली, विदेशी खेलाडीको प्रभावशाली प्रदर्शन तथा मिडफिल्डको नियन्त्रण यसपटक टोलीको मुख्य बलका रूपमा देखिएको छ। विशेषगरी विदेशी खेलाडी सोलोमन किङ र एरोन थापाले सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई फाइनल पुर्याएका थिए।

बागमती युवा क्लबले पनि कठिन प्रतिस्पर्धा पार गर्दै उपाधिनजिक पुगेको हो। बागमतीले आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। त्यसपछि चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको बागमतीले फ्रेन्ड्स क्लब काठमाडौंलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।

बागमतीको टोली सामूहिक खेल, तीव्र काउन्टर अट्याक तथा निर्णायक क्षणमा दबाब सम्हाल्ने क्षमताका कारण बलियो देखिएको छ। सेमिफाइनलमा आयुष मगरको प्रदर्शन टोलीका लागि निर्णायक बनेको थियो।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

सुझावित समाचार