चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार सहिद स्मृति रंगशालामा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा चित्लाङ एफसीले काठमाडौंको मछिन्द्र एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्णायक गोल चित्लाङका एरोन थापाले ८६औँ मिनेटमा गरेका थिए । अन्तिम क्षणमा आएको उक्त गोलले चित्लाङलाई ऐतिहासिक जित दिलायो । उत्कृष्ट प्रदर्शन गरेका थापा ‘प्लेयर अफ दी म्याच’ घोषित भए र उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

हारसँगै मछिन्द्र एफसी प्रतियोगिताबाट बाहिरिएको छ। मछिन्द्र छैटौँ संस्करणको बागमती गोल्डकप विजेता टोली हो भने गत संस्करणको उपविजेता पनि हो । चित्लाङ एफसीले अब सिमराको नवजनजागृति क्लब (एनजेसी)सँग सेमिफाइनल खेल्नेछ। यो खेल बिहीबार हुने तय भएको छ।

त्यस्तै, पहिलो सेमिफाइनल बुधबार हुनेछ, जसमा फ्रेन्ड्स क्लब, ललितपुर र बागमती युथ क्लब, सर्लाहीबिच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते हुनेछ। विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
 

सुझावित समाचार