ट्रम्प, अन्याय र नयाँ अमेरिकी शैली

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण
  • लागुऔषध ओसारपसार र तस्करको आरोप लगाई एउटा देशका नागरिकलाई उनको अवासमै पुगेर थुतेर अमेरिका ल्याइयो भने तस्करको प्रमाण भेटिएका अर्का देशका पूर्वराष्ट्रपतिलाई किन माफी दिइयो ?

पछिल्लो समय हामीले अमेरिकामा धेरै समयदेखि नदेखेका विषय अन्तर्राष्ट्रिय उदाहरणमा देख्न पाएका छौँ, त्यो हो जवाफदेहिता । एन्ड्रयु माउन्टबेटन–विन्डसर (पूर्वराजकुमार एन्ड्रयु) बेलायतको थेम्स भ्याली प्रहरीले ‘सार्वजनिक पदमा रहँदा दुर्व्यवहार’ गरेको आशंकामा पक्राउ परे । अदालतले दोषी ठहर गरेमा आजीवन कारावासको सजायका भागीदार उनले जेलमा नै आफ्नो ६६औँ जन्मदिन मनाउन बाध्य भए । केही साताअघि सार्वजनिक भएका अमेरिकी एपस्टाइन यौन दुर्व्यवहार प्रकरणमा मुछिएपछि उनी चाँडै अदालतको कठघरमा उभिने प्रायः निश्चित छ । सार्वजनिक भएका फाइलमा एपस्टाइनका निकटका साथी पूर्वराजकुमारसँग जोडिएका र बाल यौन तस्करलाई पठाएको गोप्य इमेल समावेश छन् । माउन्टबेटन–विन्डसरलाई एपस्टाइनको यौन दुर्व्यवहारको ‘सर्कल’मा संलग्न भएको आरोप छ । पक्राउ पर्नुअघि माउन्टबेटन–विन्डसरको शाही उपाधि खोसिएको थियो र उनलाई परम्परागत शाही निवासबाट निष्कासनसमेत गरिएको थियो । न्याय उचित रूपमा सम्पन्न होस् भनेर अधिकारीहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता शाही परिवारले जनाएको छ । यो भयो बेलायतको उदाहरण ।

दक्षिण कोरियामा पनि न्यायिक फैसला उचित रूपमा सुनाइएको थियो, किनकि पूर्वराष्ट्रपति युन सुक येओललाई डिसेम्बर २०२४ मा उनको विद्रोहको प्रयासका लागि दोषी करार गर्दै त्यहाँको एक अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो । उनले त्यहाँ प्रजातन्त्रलाई उल्ट्याउन र आफ्ना राजनीतिक शत्रुविरुद्ध मार्सल ल घोषणा गर्न खोजेको अदालतको ठहर छ । यदि त्यहाँका नागरिक सरकारको रक्षा गर्न नउठेका भए उक्त कदम तानाशाहीमा रूपान्तरण हुन सक्थ्यो । यसका बाबजुद युनलाई उनको उमेर (६५) को अवस्था र त्यो भयानक दिनमा घातक बल प्रयोग नगरेकाले मृत्युदण्डबाट भने मुस्किलले जोगिए ।

उल्लेखनीय कुरा के छ भने युनलाई छिटो पक्राउ गरियो, मुद्दा चलाइयो र अन्ततः अदालतले दोषी ठहर गर्यो । यस फैसलाले कतिपय दक्षिण कोरियालीमा खुसी ल्याएको छ भने स्वाभाविक रूपमा पूर्वराष्ट्रपतिका समर्थक रुष्ट छन् । फैसलाअघि एउटा समूहको विरोध र फैसलाको स्वागतमा अर्को समूहको खुसियाली यसका उदाहरण हुन् । उनको अपराधका लागि मुद्दा चलाइयो । उनले आफ्नो उचित प्रक्रिया पूरा गरे, तर उनले गरेका अपराधका लागि उनलाई मुद्दा चलाइनेछ भन्नेबारे कहिल्यै प्रश्न उठेन । अब उनले आफ्नो सजाय भोग्नुपर्नेछ ।

हामीले देखेको कुरा अमेरिकामासँग तुलना गर्नुहोस् । हाम्रा वर्तमान राष्ट्रपतिलाई जनवरी ६, २०२१ मा सरकार उल्ट्याउने प्रयासका लागि कहिल्यै मुद्दा चलाइएन, जसका कारण धेरैको मृत्यु भयो र सम्पूर्ण देशलाई अस्तव्यस्त बनायो । बरु त्यसपछि उनी सत्तामा फर्किए र आफ्नो प्रयासलाई सहयोग गर्ने अपराधीलाई माफी दिए, जसले हाम्रो न्याय प्रणालीको खिल्ली उडायो ।

डोनाल्ड ट्रम्पले अन्य तरिकाले पनि क्षमा प्रणालीलाई तहसनहस पारेका छन् । क्रूर तानाशाह निकोलस मदुरोलाई पक्राउ गर्ने ट्रम्पको तर्क थियो कि भेनेजुएलाका शक्तिशाली व्यक्ति अमेरिकामा फेन्टानिल मृत्युका लागि धेरै हदसम्म जिम्मेवार थिए (यद्यपि यो विवादित छ) । तर, ट्रम्पलाई होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई माफी दिन कुनै समस्या थिएन, जहाँ एनपिआरले हर्नान्डेजबारे एक रिपोर्ट गरेको छ, जसमा ‘अमेरिकामा ४०० टनभन्दा बढी कोकेन तस्करी गर्न मद्दत गरेकोमा अमेरिकामा दोषी ठहर्याइएको थियो ।’ त्यस अवस्थामा ट्रम्पका साथी र व्यक्तिगत सल्लाहकार रोजर स्टोनले हर्नान्डेजको क्षमाका लागि कडा रूपमा पैरवी गरेका थिए । लागुऔषध ओसारपसार र तस्करको आरोप लगाई एउटा देशका नागरिकलाई उनको अवासमै पुगेर थुतेर अमेरिका ल्याइयो भने तस्करको गम्भीर आरोप लागेका र यसमा प्रमाण भेटिएका अर्का देशका पूर्वराष्ट्रपतिलाई किन माफी दिइयो ?

ट्रम्पको शंकास्पद माफीको सूची लामो छ, यसमा बायनेन्सका संस्थापक चाङपेङ ‘सिजेड’ झाओजस्ता व्यक्ति समावेश छन्, जसलाई सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर्याइएको थियो र छोटो समयका लागि जेल सजाय सुनाइएको थियो, साथै ५० मिलियन जरिवाना तिर्न आदेश दिइएको थियो । उनीमाथि व्यापार प्रतिबन्धसमेत लगाइएको थियो । यो शंकास्पद छ कि झाओको कम्पनीले ट्रम्प परिवारको क्रिप्टोकरेन्सी उद्यमसँग सम्बन्धित दुई अर्ब डलर सम्झौता गरेको थियो । ट्रम्पले ३.५ मिलियन ‘दान’ प्राप्त गरेपछि प्युर्टो रिकोकी पूर्वगभर्नर वान्डा भाज्क्वेज र बैंकर जुलियो हेरेरा भेलुटिनीलाई पनि माफी दिएका थिए ।

ट्रम्पको संसारमा हामी दुई अमेरिका देखिरहेका छौँ, एफबिआईका पूर्वनिर्देशक जेम्स कोमी, न्युयोर्कका महान्यायाधिवक्ता लेटिसिया जेम्स वा पत्रकार डन लेमन –उनीहरूले ट्रम्पले लगाएका आरोपका लागि अनुसन्धानको सामना गरेका छन्) र अन्य व्यक्ति, जसले गम्भीर अपराध गर्छन् र राष्ट्रपतिको पक्षमा भएका कारण त्यसबाट उन्मुक्ति पाउँछन् । हामी सबैले निकोल गुड र एलेक्स प्रेटीको हत्या देखेका छौँ । त्यहाँ कुनै जवाफदेहिता मात्र थिएन, संघीय सरकारले न्यायिक कारबाही हुनबाट रोक्न सक्रिय रूपमा प्रयास गर्यो । आफ्ना एजेन्टलाई मास्क लगाउन र न्यायिक वारेन्टविना घरमा घुस्न अनुमति दिने प्रशासनका लागि अचम्मको कुरा होइन ।

तर, न्याय प्रणालीको हाम्रो मजाकको उदाहरण एपस्टाइनको केसजस्तै अस्पष्ट छ । जेफ्री एपस्टाइनले आफैँले २००८ मा सम्झौताको एक अंशमा छुट मात्र पाएनन्, उनीसँग सम्बन्धित सबै शक्तिशाली व्यक्तिले पनि कुनै न कुनै हिसाबले अनैतिक लाभ उठाएका छन् । कंग्रेसलाई उनको बयानका आधारमा महान्यायाधिवक्ता पाम बोन्डी यी शक्तिशाली व्यक्तिविरुद्ध अनुसन्धान गर्न पूर्ण रूपमा इच्छुक छैनन्, जसमा राष्ट्रपति मात्र होइन (२००३ मा एपस्टाइनसँग ट्रम्पको शंकास्पद थियो), बरु उनका वाणिज्यमन्त्री हावर्ड लुटनिक, डिओजिई पर्यवेक्षक र विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्क, ट्रम्पका साथी र सल्लाहकार स्टिव ब्याननलगायत छन् ।

अन्य देशले न्यायको खोजी गरिरहेका वेला हामी भने शक्तिशाली व्यक्तिलाई सार्वजनिक गरेर मुद्दा चलाउनुको सट्टा उनीहरूकै पछाडि लागेका छौँ, ट्रम्प, अन्याय र नयाँ अमेरिकी तरिका ।

रोजेनफेल्ड राजनीतिक लेखक हुन् ।

– न्युजविकबाट
 

सुझावित समाचार