विगत ९ वर्षदेखि पूर्वी पहाडी जिल्लामा व्यावसायिक किवी खेती गरिरहेका कृषि उद्यमीले वाइन उत्पादनका लागि आगामी बजेटमार्फत ८० प्रतिशत अन्तशुल्क छुट दिन माग गरेका छन्।
इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ र धनकुटाका किसानले स्थापना गरेको वसन्तपुर तिनजुरे प्रालि (किवी उत्पादन तथा प्रशोधन केन्द्र)का अध्यक्ष दुर्गामणि पौडेलले हाल कायम अन्तशुल्कमा छुट दिन अर्थ मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएको जानकारी दिए।
उनले आगामी साउन महिनादेखि किवीबाट वाइन उत्पादन गरेर वार्षिक १ अर्बको कारोबार गर्ने लक्ष्य राखेको र त्यसबाट सात जिल्लाका किसानसमेत लाभान्वित हुने बताए। ‘आगामी साउनबाट किवीको वाइन उत्पादन गर्नेगरी प्रशोधन उद्योग तयार गरेका छौं,’ सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारले अन्तशुल्कमा छुट दिएर प्रोत्साहन गर्ने अपेक्षा छ।’
आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत स्वदेशी फलफूलबाट निर्मित १२ देखि १७ प्रतिशत अल्कोहल भएको पेय पदार्थमा ५० प्रतिशत अन्तःशुल्क छुट दिने व्यवस्था गरिएको भए पनि ०७५ मा पुनः उक्त निर्णय उल्टाएकाले स्वदेशी उत्पादनलाई मर्का परेको पौडेलले बताए।
अहिलेको कर प्रणालीअनुसार १ लिटर वाइन तयार गर्न अन्तःशुल्क ८५० रुपैयाँ, किवी प्रतिकिलो १२० रुपैयाँ, बोतल–लेबल तथा बिर्को बापत १०५ रुपैयाँ, श्रमिक र कन्सल्टेन्ट लागत १०० रुपैयाँ र १३ प्रतिशत भ्याटसहित कूल लागत १२ सय ९१ रुपैयाँ लाग्ने उनले बताए। ‘यस किसिमको लागत प्रणालीले मुनाफा नहुने हुँदा स्वदेशी उद्योग धरासयी हुने अवस्था छ’ उनले भने।
उनले आगामी बजेटमार्फत अन्तःशुल्कमा ८० प्रतिशत छुट दिँदै प्रतिलिटर १२० रुपैयाँ मात्र शुल्क कायम गर्नुपर्ने बताए। उनले तिनचुरे किवी प्रशोधन केन्द्रमा ६५ घरपरिवार किसानको ४०० रोपनी र उद्योगका आफ्नै १०० रोपनी गरी कुल ५०० रोपनी जमिनमा व्यावसायिक किवी खेती भइरहेको जानकारी दिए।