रौतहटमा इ–रिक्साको सिटमुनि लुकाएर राखिएको लागुपदार्थसहित एकजना चालक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म गौर र नेपाल प्रहरीको भन्सार सुरक्षागार्डको संयुक्त टोलीले शुक्रबार दिउँसो करिब १२ बजे गौर भन्सार बेरियरबाट लागुऔषधसहित इ–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका– ७, मुडलवानिवासी २० वर्षीय मोहन पण्डित छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको इ–रिक्सामा शंका लागेपछि चेकजाँच गर्दा चालकको सिटमुनि लुकाएर राखिएको अवस्थामा नशालु इन्जेक्सन फेला परेको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिए।
बरामद गरिएको लागुऔषधमा डाइजेपाम, प्रोमिथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिनका १००–१०० एम्पुल गरी कुल ३०० एम्पुल रहेका छन्। साथै चालकको साथबाट पाँच ग्राम गाँजा, नेपाली रुपैयाँ ४९०, भारतीय रुपैयाँ १०० र एक थान मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषध, इ–रिक्सा र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए।