- खेलको १४औँ मिनेटमा नियमित गोलरक्षक उषा नाथले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित नेपाल पुलिसले भारतको रानीलक्ष्मीबाईलाई ५–१ ले हरायो
१० खेलाडीमा सीमित भएको नेपाल पुलिस क्लब बुधबार पहिलो संस्करणको चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापाको भद्रपुर रंगशालामा भारतीय टिम रानीलक्ष्मीबाई फुटबल एकेडेमीविरुद्ध ५–१ को सानदार जित निकाल्दै पुलिसले अन्तिम चारको स्थान पक्का गरेको हो । पुलिसले भारतीय टोलीविरुद्ध पुनरागमन जित निकालेको हो । पुलिसको जितमा रेखा पौडेल, मीना देउवा, सम्झना लावती, अमृता जैशी र पूजा रानाले समान एक गोल गरे । जितसँगै पुलिसले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको १४औँ मिनेटमा पुलिस १० खेलाडीमा सीमित भयो । अनुभवी गोलरक्षक उषा नाथले डिबक्सबाहिर आएर बल समातेकी थिइन् । रेफ्री ज्ञानबहादुर मोक्तानले गोलरक्षक उषालाई सिधै रातो कार्ड देखाए । बाँकी ७० मिनेट पुलिसले १० खेलाडीमा प्रतिस्पर्धा गर्यो । उषाको गल्तीमा पुलिसविरुद्ध रानीलक्ष्मीबाईले डिबक्सअगाडि फ्रिकिक प्राप्त गर्यो । रानीलक्ष्मीबाईले प्राप्त डाइरेक्ट फ्रिकिकमा गोल गर्दै १–० को अग्रता लियो ।
रानीलक्ष्मीबाईकी कप्तान बिनी कुमारीले डिबक्सनजिकैबाट गरेको प्रहार बललाई पुलिसकी वैकल्पिक गोलरक्षक सपना राईले हातबाट फुत्काइन् । त्यसपछि हेमन्ती कुमारीले डिबक्सभित्र सहजै हेडिङ गोल गरिन् । रानीलक्ष्मीबाईले आफ्नो अग्रता मध्यान्तरअगाडि नै गुमाएको थियो । पुलिसले ३८औँ मिनेटमा बराबरी गोल फर्कायो । स्ट्राइकर रेखाले पुलिसलाई १–१ को स्थितिमा पुर्याइन् । मीना देउवाले दिएको लामो पासमा डिबक्समा अनमार्क रहेकी रेखाले हेडिङ गोल गरेकी हुन् ।
मध्यान्तरपछि पुलिस आक्रामक
पुलिसले दोस्रो हाफको सुरुमै आक्रामक खेल प्रदर्शन गर्यो । दोस्रो हाफको पहिलो मिनेटमै पुलिसकी कप्तान अमृता जैशीले टोलीलाई २–१ का लागि गोल गरिन् । पूजा रानाको कर्नर बललाई रानीलक्ष्मीबाईकी गोलरक्षक रूपाली कुमारीले पन्च गरेकी थिइन् । तर, उनले राम्रोसँग बल क्लियर गर्न सकिनन् । त्यसपछि अमृताले फर्स्ट टचमै गोल गरिन् । खेलको ४७औँ मिनेटमा पुलिसले तेस्रो गोल थप्यो । पुलिसकी सम्झनाले ३–१ को अग्रता दिलाइन् । पूजा रानाको लामो पासमा डिबक्समा अनमार्क रहेकी सम्झनाले गोल गरेकी हुन् ।
खेलको ६२औँ मिनेटमा मीनाले ४–१ को अग्रता दिलाइन् । मैदानको मध्यभागबाट आएको बललाई डिबक्समा रेखाले मीनालाई पास दिइन् । त्यसपछि मीनाले सहजै गोल गरिन् । खेलको खेलको अन्तिम इन्जुरी समयमा पूजा रानाले गोल गर्दै टोलीलाई ५–१ को सानदार जित दिलाइन् ।
पहिलो हाफमा भारतीय टिम रानीलक्ष्मीबाईले पनि उत्कृष्ट खेल प्रदर्शन गर्यो । नेपालको विभागीय टिम पुलिसको डिफेन्समाथि दबाबमा राख्यो । तर, दोस्रो हाफमा पुलिसले आक्रामक खेल खेल्दा रानीलक्ष्मीबाई कमजोर देखियो ।
नेपाल पुलिसकी पूजा रानाले खेलकै म्यान अफ दी म्याच हुँदै ११ हजार रुपैयाँ पुरस्कार पाइन् । बिहीबार अन्तिम क्वार्टरफाइनल खेल नेपाल एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबिच हुनेछ ।