- उपाधि दाबेदार एपिएफले मोफसलको क्लब पद्मा स्पोर्टिङविरुद्ध ६–० को सानदार जित निकाल्यो । एपिएफको जितमा रश्मिकुमारी घिसिङले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरिन् ।
नेपाल एपिएफ फुटबल क्लब झापाको भद्रपुरमा चलिरहेको पहिलो संस्करणको चन्द्रगढी महिला गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा मंगलबार पद्मा स्पोर्टिङ क्लबविरुद्ध ६–० को सानदार जित निकाल्दै एपिएफले अन्तिम आठको स्थान पक्का गरेको हो । एपिएफको जितमा रश्मिकुमारी घिसिङले चार गोल गरेकी थिइन् । रेनुका नगरकोटी र अनिता केसीले समान एक गोल गरे ।
एपिएफले पद्मामाथि निरन्तर दबाब सिर्जना गर्दै पहिलो हाफको २८औँ मिनेटमा मात्रै अग्रता लियो । एपिएफकी स्ट्राइकर रश्मिकुमारीले १–० का लागि गोल गरिन् । डिबक्सबाट कप्तान अनिता बस्नेतले गरेको क्रसमा पद्माका डिफेन्डरलाई बिट गर्दै रश्मिले सहजै गोल गरिन् । पहिलो हाफमा मोफसलको पद्मा स्पोर्टिङले नेपाली महिला फुटबलको सशक्त टोली एपिएफविरुद्ध सानदार प्रदर्शन गर्यो । तर, पद्माले एपिएफको बलियो डिफेन्स लाइन तोड्न सकेन ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका अधिकांश सदस्यसहित मैदानमा उत्रिएको एपिएफको दबाबलाई पद्माले पहिलो हाफमा विफल बनायो । पद्माको उत्कृष्ट प्रदर्शनका कारण पहिलो हाफमा एपिएफले एक गोल मात्रै गर्न सक्यो । पहिलो हाफमा पद्माको डिफेन्स लाइन बलियो रह्यो । गोलरक्षक झरना डुम्राकोटीले एपिएफका खेलाडीको बारम्बारको प्रहारलाई विफल बनाइन् ।
तर, दोस्रो हाफको सुरुवाती समयदेखि नै पद्माले कमजोर प्रदर्शन गर्यो । एपिएफले दोस्रो हाफको सुरुवाती समयमै आक्रामक खेल प्रदर्शन गर्यो । एपिएफले दोस्रो हाफमा पद्माको पोस्टमा पाँच गोल गर्न सफल भयो । खेलको ४१औँ मिनेटमा रश्मिले दोस्रो गोल गरिन् । मैदानको मध्यभागबाट अनिता केसीले दिएको पासमा गोलरक्षक बिट भएको मौकामा उनले गोल गरिन् ।
रश्मिको दोस्रो हाफमा ह्याट्रिक पूरा
खेलको ४२औँ मिनेटमा एपिएफका लागि रेनुकाले व्यक्तिगत पहिलो गर्दा एपिएफ ३–० ले अघि रह्यो । सरु लिम्बूको कटब्याकमा डिबक्समा अनमार्क रहेकी रेनुकाले गोल गरेकी हुन् । खेलको ५२औँ मिनेटमा एपिएफकी रश्मिले ह्याट्रिक पूरा गरिन् । मनमाया दमार्इंले दिएको लामो पासमा डिबक्समा रहेकी रश्मिले ह्याट्रिक गोल गरेकी हुन् । खेलको ५४औँ मिनेटमा एपिएफकी अनिता केसीले टिमका लागि पाँचौँ गोल गरिन् । मैदानको मध्यभागबाट डिफेन्डर प्रतीक्षा चौधरीले दिएको पासलाई मुभ बनाउँदै डिबक्सबाट अनिताले गरेको प्रहार गोलमा परिणत भयो ।
खेलको ५६औँ मिनेटमा रश्मिले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौँ गोल गरिन् । उनले पद्माकी डिफेन्डर सेमिहाङमा लिम्बूले हेडिङमा क्लियर गरेको बल डिबक्सनजिकैबाट रश्मिले गरेको प्रहार गोलमा परिणत भएको थियो । मंगलबारको खेलको प्लेयर अफ दी म्याच रश्मीकुमार घिसिङ हुँदै ११ हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताको बुधबार हुने क्वार्टरफाइनलमा नेपाल पुलिस फुटबल क्लबले भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीको सामना गर्नेछ ।