जनमत खस्किएपछि फेरि वाम एकताको ‘कार्ड’

जनमत खस्किएपछि उचित समीक्षाविनै वाम राजनीति फेरि एकता र सहकार्यतर्फ मोडिँदै, विगतका टकराव यथावत् राखेर शीर्ष नेता पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणतिर नभई पद सुरक्षित गर्ने बाटोतिर

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

०७४ को ऐतिहासिक बहुमतबाट ०८२ को कमजोर प्रतिपक्षीय हैसियतसम्म आइपुगेका कम्युनिस्ट शक्तिहरू अहिले फेरि ‘एकता’को राजनीतिक कार्ड बोकेर बहसमा फर्किएका छन् ।

२१ फागुनको निर्वाचनबाट ०४८ यताकै कमजोर नतिजासहित सदनमा उपस्थिति जनाएका उनीहरूले पुनः शक्ति आर्जन गर्ने रणनीतिसहित वाम सहकार्य र एकताको एजेन्डा चर्चामा ल्याएका हुन् । तर, कुनै पनि पार्टीले ठोस र औपचारिक निर्णय नगरिसकेकाले यो राजनीतिक बहसमा मात्र पनि सीमित हुन सक्छ । 

पुनर्गठन, आत्मसमीक्षा र संगठनात्मक सुधारका गम्भीर बहसहरू ओझेलमा पार्दै एमाले–नेकपाबिच सम्भावित एकताको चर्चा तीव्र बनेको छ । नेताहरूको अस्पताल भेटघाटदेखि अनौपचारिक संवादसम्मले यो बहसलाई थप राजनीतिक ताप दिएको छ । सम्भावित घटनाक्रमलाई लिएर ती दुई पार्टीका नेता–कार्यकर्ता र विश्लेषकले शीर्ष नेताका भेटघाट, दौडधुप र अभिव्यक्तिमा नजर लगाएका छन् । मूल प्रश्न छ–पुनः वाम एकता सम्भव होला ? 

०७४ मा १७४ सहित करिब दुईतिहाइ बहुमत सिट जितेका तत्कालीन एमाले र माओवादी (हाल नेकपा) हालैको प्रतिनिधिसभा निर्वाचनमा २७५ मा क्रमशः २५ र १८ सिट मात्र जितेर अस्तित्व रक्षाकै अवस्थामा पुगेका छन् । वाम आन्दोलनको भविष्य र पुरानै समीकरण जोगाउने रणनीतिअनुसार उनीहरूले फेरि एकताको विषय चर्चामा ल्याएको विश्लेषण हुन थालेको छ । 

केन्द्रीय संयोजन समितिमा चुनावी समीक्षाका क्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हित, संविधान र व्यवस्थाको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरूबिच सहकार्यका लागि नजिक हुनुपर्ने र वामपन्थीहरू फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने ब्रिफिङ गरेका थिए । त्यसपछि उनले उपचारका लागि अस्पतालमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई भेटेलगत्तै एकताको विषय दुई पार्टीका शीर्ष नेतामा मात्र सीमित नभई सार्वजनिक बहसमा आएको छ । 

बिहीबार प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेटेर बाहिर आएलगत्तै नेकपाका नेताहरूले अहिलेको वस्तुगत परिस्थितिका कारण पनि विगतको समीक्षासहित एकता हुन सक्ने सम्भावना औँल्याएका छन् । यसबिचमै प्रचण्डले अस्पताल पुगेर ओलीलाई दुईपटक भेटवार्ता गरेका छन् । त्यस्तै, पित्तथैलीको पत्थरीको अप्रेसन गरेर आराम गरिररहेका ओलीलाई अर्का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि अलग्गै भेटेका थिए । 

ओलीलाई भेटेर फर्किएलगत्तै प्रचण्डले गरेको ब्रिफिङले अबको दिशा पार्टी एकतातिर बढ्न सक्ने संकेतका रूपमा धेरैले अर्थ्याउन थालेका छन् । केही दिनदेखि जारी बैठकमा नेकपाभित्र तत्काल महाधिवेशनमा गएर प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब चलिरहेकै वेला ओली स्वयं चुनावी गम्भीर क्षतिले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको चर्को दबाबमा छन् । 

नेकपा नेता गिरिराजमणि पोखरेलका अनुसार सचिवालय बैठकमा प्रचण्डले अहिलेको वस्तुगत परिस्थिति नै लोकतन्त्र र संविधान पक्षधर शक्तिहरू मिलेर जानुपर्ने अवस्था रहेको ब्रिफिङ गरेका थिए । साथै, प्रचण्डले पार्टी बैठकमा सहकार्य र एकताका विषयमा एमालेको संस्थापन र इतर पक्ष तथा कांग्रेससहित संविधान पक्षधर शक्तिहरूसँग संवाद चलिरहेको ब्रिफिङसमेत गरेको नेता पोखरेलले बताए ।

‘संयोजकले बैठकमा आजको वस्तुगत परिस्थिति र आगामी बाटोका सम्बन्धमा राम्रोसँग छलफल गरेर जानुपर्ने परिस्थिति बनेको जानकारी गराउनुभएको छ,’ पोखरेलले नयाँ पत्रिकासँग भने, ‘त्यही कारण एमालेभित्रका पक्ष (संस्थापन) र विपक्ष (इतर पक्ष)सँग पनि भेटघाट भइरहेको छ । संविधान पक्षधर शक्तिसँग पनि मिलेर भेटघाट र संवाद चलिरहेको छ, यो क्रम जारी रहन्छ भन्नुभएको छ ।’ 

दुवै पार्टीभित्र प्रमुख नेता र दोस्रो तहका नेताका व्यक्तिगत भेटघाटमा अनौपचारिक तहमा कुराकानी भए पनि एकताबारे ठोस र औपचारिक संवाद भने अघि बढिसकेको छैन । तर, चुनावी नतिजाले वाम शक्तिको भविष्यमाथि प्रश्न उठाएपछि दुवै पार्टीभित्र एकता र सहकार्यका विभिन्न सम्भावना र विकल्पबारे भने आन्तरिक मन्थन जारी छ । 

एमाले सचिव पद्मा अर्यालले पार्टीको औपचारिक निर्णयविनै कसको स्वार्थका लागि प्रचार भएको छ भन्ने बुझ्न गाह्रो भएको बताइन् । साथै उनले राजनीतिमा असम्भव भन्ने केही नहुने भएकाले पार्टीले सहकार्य र एकता महसुस गरी त्यहीअनुरूप कार्यदिशा तय गरे सार्थक बनाउनेतिर लाग्ने बताइन् । ‘औपचारिक बैठकमार्फत चुनावी समीक्षा गरेका छैनौँ ।

बैठकको मितिसम्म त तय भएको छैन । यस्तो अवस्थामा एकताको हल्ला किन, के उद्देश्य र कसको स्वार्थका लागि उठाइरहन्छन् बुझ्न सकेका छैनौँ । पहिला बैठकमा निर्वाचन समीक्षा गर्छौँ, त्यस आधारमा आगामी कार्यदिशा तय गर्छौँ,’ उनले भनिन्, ‘आगामी कार्यदिशा तय गर्ने सन्दर्भमा एकता आवश्यक छ भन्ने ठानिए यो छलफलको विषय होला । त्यो पार्टी निर्णयमा हुने कुरा हो । यो अहिल्यै तातै खाऊँ जली मरूँ जसरी प्रचार गर्ने विषय नै होइन । राजनीतिमा असम्भवै भन्ने त हुन्न । तर, पार्टीले सहकार्य र एकता महसुस गरी त्यहीअनुरूप कार्यदिशा तय गरे सार्थक बनाउनेतिर लाग्छौँ ।’ 


अर्कोतर्फ वाम एकताको चर्चाप्रति एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि प्रश्न उठाउँदै आपत्ति प्रकट गरेका छन् । उनले पार्टी पुनर्गठनबाट ध्यान मोड्न हल्ला फिँजाइएको हुन सक्नेप्रति पार्टीपंक्तिलाई सजग बन्नसमेत आग्रह गरेका छन् । ‘एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’ पौडेलले भनेका छन् ।

त्यस्तै, महासचिव शंकर पोखरेल, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलगायत एमालेका थुप्रै नेता–कार्यकर्ताले कुनै आधारविनै अनावश्यक बेमौसमी एकताको हल्ला फिँजाइएको भन्दै आपत्ति जनाएका छन् । एमालेका संस्थापन पक्षकै नेता प्रदीप ज्ञवालीले तत्काल एकताको सम्भावना नरहेको जनाउ दिए । उनले पहिले आफैँभित्र गम्भीर समीक्षा र मन्थनबाट रूपान्तरण तथा सुधारको आवश्यकता औँल्याएका छन् । उनको अभिव्यक्तिले पनि दुई पार्टीबिच प्रचण्डले अस्पतालबाट भेटेर बाहिर चर्चा चलेजस्तो एकता सम्भव देखिँदैन । तर, एमालेमा ओली नेतृत्वको विकल्पबारे भने गृहकार्य भइरहेको छ । 

ज्ञवालीका अनुसार मिडियातिर ‘वामपन्थी एकता’को चर्चा सुरु भएअनुसार कुनै संस्थागत निर्णय भएको छैन । पहिले आफू तंग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुने उनको भनाइ छ । ‘यतिवेला वामपन्थीसहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन् । धक्का एमालेले पनि खाएको छ, दर्जनभन्दा बढी समूह ‘एकीकृत’ गरेर बनेको नेकपाले पनि ।

‘विद्रोह’ गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि । समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन,’ शुक्रबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामा पहिलो कदम भनेकै संकटको गाम्भीर्यबोध, निर्मम आत्मसमीक्षा र व्यापक सुधार/पुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनु हो । पहिले आफू तंग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुन सक्छ ।’ 

ज्ञवालीले आन्तरिक समस्या समाधानविना एकताको प्रसंग केवल दाउपेचमै सीमित हुनेसमेत प्रस्ट्याएका छन् । ‘अन्यथा यस्ता छलफल या त बौद्धिक विलासितामा सीमित हुन्छन्, या आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुन जान्छन् । अहिलेको खाँचो आफैँभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो,’ उनले भनेका छन् । 

ज्ञवालीले जस्तै एमालेका अधिकांश पदाधिकारी, पूर्वपदाधिकारीदेखि तेस्रो तहका नेताहरूले अहिले पार्टी पुनर्गठनको मुद्दालाई प्राथमिकता दिएका छन् । उनीहरू विगतका एकता असफल हुनुका कारणको गहिरो पहिचान नगरी र स्पष्ट राजनीतिक दिशा तय नगरी एकता प्रक्रियामा जान नहुने पक्षमा छन् । 

केन्द्रीय सदस्य नरेश रोकायले एमालेलाई पुनर्जीवन दिन संक्रमणकालीन नेतृत्वमार्फत सम्पूर्ण संरचनाको ‘रि–स्टक्चरिङ’ र ‘रि–कन्स्ट्रक्सन’ गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको प्रतिक्रिया दिए । ‘नेपाली वाम एकता बारम्बार असफल प्रमाणित भइसकेको विषय हो । शीर्ष नेताहरूको स्वार्थपूर्तिबाहेक यसले उल्लेखनीय सफलता हासिल गरेको इतिहास छैन ।

एमालेले अहिले भोगिरहेको संकटको समाधान पनि निर्मम आत्मसमीक्षामार्फत मात्र सम्भव छ,’ रोकायले भने, ‘त्यसका लागि नेतृत्व हस्तान्तरण, संगठनात्मक व्यापक पुनर्गठन र पुस्तान्तरण अपरिहार्य छन् । अन्य कुनै विकल्प जीवित छैन ।’ 
चुनावलगत्तै पितृशोक र हिरासत बसाइ, प्रतिकूल स्वास्थ्य तथा शल्यक्रियाका कारण उनको अस्पताल बसाइका कारण एमालेको चुनावी समीक्षा बैठक निश्चित भइसकेको छैन ।

ओली अस्पतालबाट बाहिरिए पनि २३ भदौको ज्यान मुद्दाको आरोपमा छानबिन जारी रहेको र जुनसुकै वेला अहिलेको सरकारले पक्राउ गर्न पनि सक्ने अवस्थाका कारण चुनावको समग्र समीक्षा, ओलीको भूमिकालगायत समग्र विषयमा समीक्षासहित ओलीमाथि बहिर्गमनको दबाब बढ्न सक्छ । 

देशभर तल्ला कमिटीहरूले समीक्षा प्रतिवेदनमा पनि पार्टी नेतृत्व हस्तान्तरण र पुनर्गठनको विषयलाई विशेष जोडले उठाइरहेका छन् । इतर पक्षले ओलीले विकसित परिस्थिति बुझेर नेतृत्व हस्तान्तरणसहित पार्टीलाई तलैसम्म पुनर्गठनको बाटोमा नलगे विशेष महाधिवेशनको विकल्पमा जाने गरी आन्तरिक छलफल गरिरहेको छ । 

एकतामा नजाँदा आगामी एक वर्षभित्र हुने प्रदेश र स्थानीय तहका निर्वाचनसम्म वर्तमान जनमत अझै खस्किँदै झन् कमजोर परिणाम आउने जोखिम बढेको विश्लेषणसहित एमाले र नेकपा पुनः एकताबद्ध हुनुपर्ने दबाबमा परेका छन् । दुवै प्रमुख नेतामाथि नेतृत्व हस्तान्तरणको चर्को दबाब बढिरहेका वेला कतिपय विश्लेषकहरूले यो एकता प्रयासलाई पद जोगाउने रणनीतिका रूपमा पनि व्याख्या गर्न थालेका छन् ।

 साना कम्युनिस्ट दलहरू पनि हालको कमजोर अवस्थाबारे आन्तरिक समीक्षा र बहसमा सक्रिय छन् । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले वक्तव्यमार्फत समग्र कम्युनिस्ट आन्दोलन पुनर्जीवित गर्न नयाँ ढंगको एकताको आह्वान गरेका छन् । यो उनको पार्टीको निर्णय पनि हो । 

यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थायी समिति बैठकमार्फत चुनावी समीक्षा र आगामी राजनीतिक कार्यदिशामा केन्द्रित छलफल अघि बढाइरहेको छ । पार्टीका सचिवालय सदस्य तथा केन्द्रीय सदस्य विगुल सीका अनुसार बैठकमा समीक्षा र भावी रणनीतिबारे विस्तृत छलफल भइरहेको छ भने आगामी केन्द्रीय कमिटी बैठकमा कम्युनिस्ट एकतासम्बन्धी प्रस्ताव पनि प्रस्तुत हुन सक्ने सम्भावना छ । 

यसैबिच, नेकपा मशाल, नेमकिपालगायत अन्य साना कम्युनिस्ट दलहरू पनि चुनावी परिणाम र बदलिँदो राजनीतिक परिस्थितिको समीक्षा गर्दै छन् । उनीहरू आगामी कार्यदिशा तय गर्ने चरणमै छन् ।ठुलो जनमत नभएकासमेत गरेर दर्जनौँ कम्युनिस्ट पार्टी अस्तित्वमा छन् । एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, वैज्ञानिक समाजवादी पार्टीलगायत दलहरू अस्तित्वमा छन् । 

तर, नेमकिपा नेता प्रेम सुवालले सत्ता स्वार्थबाट गर्न खोजिने एकताको अर्थ नरहेको बताए । ‘सरकारमा गएर कांग्रेसले हिजो जे काम गर्त्यो र आज रास्वपाले जे–जे काम गरिरहेको छ, कम्युनिस्ट भन्नेले पनि उस्तै काम गरेका थिए । त्यसैले त्यस्तो काम गर्ने कम्युनिस्ट हुन् कि होइनन् भन्ने मूल कुरा हो,’ उनले भने, ‘यहाँ त कम्युनिस्ट एकता सत्ताका लागि हुन्छ, देश र जनताको हितका लागि हुँदैन । अहिले ज–जसले त्यो कुरा गर्न खोजेका छन्, त्यो व्यक्तिगत स्वार्थका लागि हो । एकताको हल्ला चलाउनु र गर्नुको कुनै अर्थ छैन ।’ 

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार वाम एकताको एजेन्डा अघि सार्नुले दुवै नेतालाई पार्टीभित्र उठिरहेको नेतृत्व हस्तान्तरणसम्बन्धी दबाब र त्यसले सिर्जना गरेको चुनौती व्यवस्थापन गर्न सहज हुन सक्छ । उनका अनुसार अन्तिम विकल्प भने एकता हुन सक्छ ।

‘अहिलेको अवस्थामा वाम एकताको एजेन्डा बोकेर मात्रै नेतृत्व हस्तान्तरणबारे उठिरहेको बहस र त्यसले सिर्जना गरेको चुनौतीलाई केही समयका लागि व्यवस्थापन गर्न सकिन्छ भन्ने दुवै प्रमुख नेतालाई लागेको हुन सक्छ, पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस चलिरहेकाले अहिलेको तत्कालीन निकास त्यो होइन । तर, ढिलोचाँडो नयाँ पुस्ताले नेतृत्व सम्हाल्दै अघि बढ्ने बाटो भने अन्ततः एकताकै दिशामा जानुपर्ने हुन सक्छ । नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको मुद्दा स्पष्ट रूपमा टुंगो नलागी हतारमा गरिएको कुनै पनि निर्णयले विगतझैँ पुनः विभाजनको जोखिम निम्त्याउन सक्छ ।’

अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार ओली र प्रचण्डले पार्टी नेतृत्वबाट अलग भई गहिरो पुनर्गठन नगरेसम्म व्यक्तिगत स्वार्थप्रेरित एकताको कुनै अर्थ रहँदैन र आजको अवस्थामा त्यस्तो एकता सम्भव पनि देखिँदैन । उनका अनुसार कम्युनिस्ट एकता मूलतः एमाले र नेकपाबिचको सम्भावित समीकरण हो, तर नेतृत्वमा रहेका व्यक्तित्वकै कारण अहिले तत्काल एकता अघि बढ्ने अवस्था छैन ।

‘पहिले पनि दुई नेताको व्यक्तित्वकेन्द्रित स्वार्थका कारण मिलेको एकता पछि त्यही स्वार्थको टकरावले टुटेको हो । अहिले पनि अवस्था धेरै फरक देखिँदैन,’ उनी भन्छन्, ‘वास्तविक एकताको आधार भनेको नेताहरूको आत्मरूपान्तरण, राजनीतिक संस्कारमा सुधार र आर्थिक–सामाजिक रूपान्तरणप्रति स्पष्ट प्रतिबद्धता हुनुपर्ने हो । तर, नेतृत्वले जिम्मेवारीबाट पन्छिँदै बाह्य कारण देखाएर उम्किन खोज्ने प्रवृत्ति दोहोरिएको छ ।’

नेपालको कम्युनिस्ट आन्दोलन अहिले गम्भीर खुम्चिएको अवस्थामा पुगेको उल्लेख गर्दै श्रेष्ठले थपे, ‘नेपालको निम्न–मध्यमवर्गीय मत स्वभावतः अस्थिर हुने भएकाले प्रमुख नेताले पद हस्तान्तरण गर्दै पार्टी पुनर्गठनमार्फत अघि बढेमा अन्य दलतर्फ गएको मत पुनः कम्युनिस्ट शक्तितर्फ फर्किन सक्ने सम्भावना पनि रहन्छ ।’

नेकपाका नेता पोखरेलका अनुसार वर्तमान वस्तुगत परिस्थितिले वाम एकताको माग गरे पनि अनौपचारिक भेटघाटबाहेक घटनाक्रम ठोस रूपमा अघि बढिसकेको छैन । उनका अनुसार बाहिर एकताको चर्चा तीव्र भए पनि पार्टी बैठकहरूकै बिचमा समेत यसबारे कुनै संस्थागत निर्णय वा औपचारिक छलफल प्रारम्भ भएको छैन । ‘विभिन्न कोणबाट भेटघाट भइरहे पनि अहिले एकताका लागि ठोस स्थिति बनिसकेको छैन,’ पोखरेलले भने ।

उनका अनुसार विगतका कमजोरीहरूको गहिरो समीक्षा, नीति र नेतृत्वको प्रश्न स्पष्ट रूपमा टुंग्याएपछि मात्र एकताको सम्भावना अघि बढ्न सक्छ । उनले २३ र २४ भदौको राजनीतिक परिस्थिति, चुनावी परिणाम, वाम आन्दोलनको वर्तमान अवस्था तथा पार्टी एकता असफल हुनुका कारणबारे समग्र मूल्यांकन आवश्यक रहेको बताए । ‘अब एकता केका लागि, कसरी अघि बढ्ने र नेतृत्व कसले गर्ने भन्ने प्रश्नहरूको उत्तर नखोजी एकतामा पुग्न सकिँदैन । अहिले समीक्षाकै चरणमा छौँ,’ पोखरेलले भने । 

एकताको साढे दुई वर्षमै अलग भएका थिए एमाले–माओवादी 
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि देखिँदै आएको टुटफुट र विभाजन अन्त्य गर्ने उद्देश्यसहित ३ जेठ ०७५ मा एमाले र माओवादीबिच भएको ऐतिहासिक एकता साढे दुई वर्षमै अन्त्य भएको निकट विगत छ । ०७४ को निर्वाचनमा करिब दुईतिहाइ बहुमतसहित १७४ सिट जितेका यी दुई शक्तिको एकता सत्ता र शक्तिको संघर्ष चुलिँदै जाँदा अन्ततः विघटनतर्फ पुगेको थियो । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले सत्ता जोगाउने क्रममा दुईपटक संसद् विघटन गरेपछि पार्टीभित्रको असन्तुष्टि तीव्र बनेको थियो । त्यसको प्रतिउत्तरमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथमा लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई विश्वासको मत नदिने र पार्टी नेतृत्वबाट समेत हटाउने रणनीति अपनाए । यही आन्तरिक टकराव ७ पुस ०७७ मा नेकपा औपचारिक रूपमा विभाजनको कारण बन्यो ।

०७७ फागुनमा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई अलग–अलग अस्तित्वमा फर्काए पनि पार्टीहरू पुनः सशक्त रूपमा एकीकृत हुन सकेनन् । त्यसपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टसहितको एउटा समूह एमालेमा रहँदा माधवकुमार नेपालसहितको ठुलो समूह ३ भदौ ०७८ मा अलग भएर नेकपा एकीकृत समाजवादी गठन भयो । माओवादी र एकीकृत समाजवादी मिलेर चुनावअगाडि नेकपा बनेको छ ।

युवा महाधिवेशन प्रतिनिधिले जनाए विरोध
यस्तै, एघारौँ महाधिवेशनका केही युवा महाधिवेशन प्रतिनिधिले पनि पार्टी पुनर्गठनको मुद्दा ओझेलमा पार्ने दुराशयले पार्टी एकताको हल्ला चलाइएको आरोप लगाएका छन् । सात भौगोलिक र गैरभौगोलिक प्रदेशका नौजना ४० वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिले शनिबार संयुक्त वक्तव्य जारी गर्दै कडा आपत्ति जनाएका हुन् । 

मूल नेतृत्वको गल्ती ढाकछोप र पार्टी पुनर्गठनको मूल मुद्दा ओझेलमा पार्न एकताको बेमौसमी बहस चलाइएको उनीहरूको भनाइ छ । ‘पार्टीलाई जनताको वास्तविक भावना, विशेषगरी युवा पुस्ताको आकांक्षा र आवाजसंँग जोड्नु आजको अपरिहार्य आवश्यकता हो । यही आधारमा मात्रै पार्टीले आफ्नो ऐतिहासिक भूमिका पुनर्स्थापित गर्न सक्छ । त्यसैले हामी कुनै पनि प्रकारको असामयिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति व्यक्त गर्दै त्यस्ता गतिविधिको कडा शब्दमा विरोध गर्दछौँ,’ उनीहरूले वक्तव्यमा भनेका छन्, ‘हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथाशीघ्र सम्बोधन गर्ने गरी अगाडि बढ्न जोडदार आग्रह गर्दछौँ ।’

पार्टीलाई वैधानिक ढंगले समयानुकूल रूपान्तरण, पुनर्गठन र पुनर्जागरण गर्न अभियानलाई निरन्तरता दिने उनीहरूको प्रतिबद्धता छ । भर्खरै सम्पन्न आमनिर्वाचनमा एमालेले व्यहोर्नुपरेको लज्जास्पद पराजयले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकलाई स्तब्ध बनाएको भन्दै उनीहरूले हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको विद्यमान नीति, कार्यशैली र नेतृत्वमाथि जनताले गरेको गम्भीर अविश्वास र प्रश्न पनि भएको उनीहरूको भनाइ छ । आमकार्यकर्ता र युवापंक्तिले पार्टीको समग्र रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको अपेक्षा गरिरहेको भन्दै पुनर्गठन अभियानका लागि विशेष महाधिवेशनको माग गर्ने युवा अभियन्ता कमल जोशीले देशैभर दबाब र जागरण अभियान तीव्र बनाइने योजना रहेको बताए । 

गिरिराजमणि पोखरेल, नेता, नेकपा
संयोजक प्रचण्डले पार्टी बैठकमा आजको वस्तुगत परिस्थिति र आगामी बाटोका सम्बन्धमा राम्रोसँग छलफल गरेर जानुपर्ने परिस्थिति बनेको जानकारी गराउनुभएको छ । त्यही कारण एमालेभित्रका पक्ष (संस्थापन) र विपक्ष (इतर पक्ष)सँग पनि भेटघाट भइरहेको छ । 

 पद्मा अर्यालसचिव, एमाले
एकताको हल्ला के स्वार्थका लागि उठाइन्छ बुझ्न सकेका छैनौँ । पहिला निर्वाचन समीक्षा गरेर आगामी कार्यदिशा तय गर्छौँ । एकता आवश्यक ठानिए छलफल होला । राजनीतिमा असम्भवै भन्ने त हुन्न । तर, पार्टीले एकता महसुस गरी त्यहीअनुरूप कार्यदिशा तय गरे सार्थक बनाउनेतिर लाग्छौँ ।

 विश्लेषकहरूको टिप्पणी
तत्काल एकताको सम्भावना कमजोर देखिन्छ
 कृष्ण पोखरेल, राजनीतिशास्त्रका प्राध्यापक

अहिलेको अवस्थामा वाम एकताको एजेन्डा बोकेर मात्रै नेतृत्व हस्तान्तरणबारे उठिरहेको बहस र त्यसले सिर्जना गरेको चुनौतीलाई केही समयका लागि व्यवस्थापन गर्न सकिन्छ भन्ने दुवै प्रमुख नेतालाई लागेको हुन सक्छ, पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस चलिरहेकाले अहिलेको तत्कालीन निकास त्यो होइन । तर, ढिलोचाँडो नयाँ पुस्ताले नेतृत्व सम्हाल्दै अघि बढ्ने बाटो भने अन्ततः एकताकै दिशामा जानुपर्ने हुन सक्छ । नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको मुद्दा स्पष्ट रूपमा टुंगो नलागी हतारमा गरिएको कुनै पनि निर्णयले विगतझैँ पुनः विभाजनको जोखिम निम्त्याउन सक्छ ।

 श्याम श्रेष्ठ, विश्लेषक
पहिले पनि दुई नेता (ओली–प्रचण्ड)को व्यक्तित्वकेन्द्रित स्वार्थका कारण मिलेको एकता पछि त्यही स्वार्थको टकरावले टुटेको हो । अहिले पनि अवस्था धेरै फरक देखिँदैन । वास्तविक एकताको आधार भनेको नेताहरूको आत्मरूपान्तरण, राजनीतिक संस्कारमा सुधार र आर्थिक–सामाजिक रूपान्तरणप्रति स्पष्ट प्रतिबद्धता हुनुपर्ने हो । तर, नेतृत्व बाह्य कारण देखाएर उम्किन खोजेको छ । प्रमुख नेताले पद हस्तान्तरण गर्दै पार्टी पुनर्गठन गरे पुनः कम्युनिस्ट शक्ति फर्किन सक्छ ।
 

सुझावित समाचार