नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टले सिक्किम प्रिमियर लिगको टोली थन्डरबोल्ट नर्थ युनाइटेडसँग सम्झौता गरेका छन् । नेपालमा राष्ट्रिय लिग नभएका कारण विष्ट सिक्किम जान लागेका हुन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘उही मैदान, उही सपना, तर फरक अन्त्य आउँदै छ ।’
व्यावसायिक फुटबलमा विष्टले पाँचौँ विदेशी क्लबसँग सम्झौता गरेका हुन् । यसअघि उनले मुम्बई केनक्रे, फोटिस एफसी, रियल कास्मिर तथा बोडर्स युनाइेटडमा आबद्धता जनाइसकेका छन् । सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले अहिले रोकिएको राष्ट्रिय लिगका लागि एनआरटीबाट प्रतिस्पर्धा गरेका थिए ।
उनले भारतको आई–लिग र बंगलादेशको लिगमा पनि खेलिसकेका छन् । मुलुकमा फुटबल प्रतियोगिता नहुँदा विदेशी क्लबबाट खेल्न पाउँदा आफूलाई खुसी लागेको विष्टले बताएका छन् । ‘फरक मैदानमा फुटबल खेल्न पाउँदा खुसी लागेको छ,’ उनले भने । सन् २०१५ बाट नेपाल एपिएफ क्लबबाट घरेलु फुटबलमा डेब्यु गरेका विष्ट नेपालकै युवा स्ट्राइकरमध्ये राम्रा मानिन्छन् ।
राष्ट्रिय टोलीबाट १३ गोल
विष्टले नेपाली राष्ट्रिय टोलीबाट १३ गोल गरेका छन् । नीराजन खड्का र हरि खड्कासँगको १३ गोलको बराबरी गरे पनि उनले दुई वर्षयता अन्तर्राष्ट्रिय गोल गर्न सकेका छैनन् । खराब फर्ममा रहेका कारण विष्टले तीन साताअघि एएफसी एसिया कप छनोटमा राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन् । राष्ट्रिय टोलीबाट उनले ६० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।