पिएसएल छाडेर आइपिएल खेलेका ब्लेसिङलाई दुई वर्षको प्रतिबन्ध

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

पाकिस्तानी सुपर लिग (पिएसएल) छाडेर १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न पुगेका जिम्बाबेली फास्ट बलर ब्लेसिङ मुजराबानी दुई वर्ष प्रतिबन्धमा परेका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले ब्लेसिङलाई दुई वर्षसम्म पिएसएल लिग खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । उनले आइपिएल खेल्नकै लागि पिएसएलसँगको सम्झौता तोडेको पिसिबीको दाबी छ । 

पिसिबीले ब्लेसिङलाई अनुशासनहीन कार्यका रूपमा कारबाही गरिएको जनाएको छ । ‘आइपिएल खेल्नकै लागि हामीसँगको सम्झौता तोड्नु गैरजिम्मेवारी कार्य हो,’ पिसिबीले भनेको छ, ‘विदेशी खेलाडी पनि अनुशासनको पाठ सिकाउन पनि यस्तो कारबाही गरिएको हो । यो घटनामा अन्य खेलाडीमाथि पनि कारबाही हुन सक्छ ।’ ब्लेसिङ अहिले कोलकाता नाइट राइडर्सबाट प्रतिस्पर्धा गरिरहेका छन् । उनले सनराइजर्स हैदराबादविरुद्ध चार विकेट लिएका थिए । रमाइलो पक्ष के थियो भने पिएसएल र आइपिएलको अक्सनमा ब्लेसिङ अनसोल्ड खेलाडीका रूपमा थिए । इस्लामाबाद युनाइटेडले फास्ट बलरका रूपमा अनसोल्ड खेलाडी ब्लेसिङलाई भित्र्याएको थियो । यसैबिच, कोलकाताले पनि बंगलादेश खेलाडी बाहिरिएपछि ब्लेसिङलाई खेल्न प्रस्ताव पठायो । 

ब्लेसिङले कोलकाताबाट खेल्ने अवसर पाउँदा तत्कालै आइपिएलमा सम्झौता गर्न जारी भए । ‘पहिले गरिएको सम्झौता हुँदाहुँदै अर्को लिगमा जानु पेसागत नियमको उल्लंघन हो,’ पिसिबीले भनेको छ, ‘राम्रो प्रस्ताव आउँदा अन्य खेलाडी पनि जान सक्छन् । यस्तो अवस्था आउँदा दिनमा आउन नदिन हामीले ब्लेसिङमाथि कडाइपूर्वक कारबाही गरिएको हो ।’ इस्लामाबादले पनि स्वदेशी तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले व्यावसायिकता धर्म निर्वाह गर्नुपर्ने जनाएको छ । ‘खेलाडीहरूले करिअरमा पारदर्शिता तथा प्रोफेसनलिजम अपनाउनुपर्छ,’ इस्लामाबादले भनेको छ, ‘यो कदम चाल्न नसक्नेहरूलाई कारबाही गरिनुपर्छ ।’ 

बंगलादेशी बलरको स्थानमा ब्लेसिङ
गत महिना भारत र श्रीलंकाले संयुक्त रूपमा आइसिसी टी–२० विश्वकप आयोजना गरेका थिए । विश्वकप सुरु हुनुअघि नै बंगलादेश र विश्वकपका आयोजक भारतसँग विवाद उत्पन्न भयो । आइपिएलको फ्रेन्चाइज टोली कोलकाताले बंगलादेशका बलर रहमानलाई रिलिज गरेको थियो । कोलकाताले रहमानलाई अक्सनमा नौ करोड रुपैयाँमाथि बोली लगाएर भित्र्याएको थियो । तर, भारतीय क्रिकेट बोर्डको दबाबमा कोलकाताले रहमानलाई रिलिज गर्दा बंगलादेश क्रिकेट बोर्डले निर्णय फिर्ता लिनुपर्ने चेतावनी दिएको थियो ।

रहमानलाई आइपिएलमा समावेश नगर्दा आफूहरूले भारतमा आएर विश्वकपमा नखेल्ने बंगलादेशले धम्की दियो । आइसिसीले बंगलादेशको प्रस्ताव स्वीकार्य नभएको जनाउँदा उल्टै निर्णय फिर्ता लिन आग्रह गरेको थियो । बंगलादेश आफ्नो अडानमा यथावत् रह्यो । 

आइसिसीले बंगलादेशको स्थाननमा स्कटल्यान्डलाई विश्वकप खेल्न अवसर दियो । यस घटनापछि कोलकाताले फास्ट बलरका रूपमा ब्लेसिङलाई प्रस्ताव गरेको थियो । उनले पनि कोलकाताको आकर्षक प्रस्ताव सहजै स्वीकार गरे । यसअघि ब्लेसिङले विश्वकपमा जिम्बावेका लागि उत्कृष्ट बलिङ गरिएको थियो । 

आइपिएलमा कोलकाताबाट दुई खेलमा चार विकेट लिएका जिम्बावेका फास्ट बलर ब्लेसिङ अनुभवी अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनले जिम्बावेबाट अहिलेसम्म ८९ टी–२० आईमा १०६ विकेट लिएका छन् । उनले टी–२० आईमा ७.२४ को इकोनोमीमा बलिङ गरेका छन् । यस फर्म्याटमा ब्लेसिङको १७ रन दिएर चार विकेट लिएका थिए । 

पिएसएल नखेलेका मेन्डिस र ओवेन 
जिम्बावेका बलर ब्लेसिङले मात्र सम्झौता तोड्ने खेलाडी होइनन् । पाकिस्तानी सुपरलिगमा अन्य दुई खेलाडीले पनि बिचमै सम्झौता तोडेका थिए । श्रीलंकाका कुशल मेन्डिस र अस्ट्रेलियाका मिचेल ओवेनले लिगबाट बाहिरिएका थिए । यी दुवै खेलाडी पेसाबरमा आबद्ध थिए । उनीहरूले पनि आइपिएलमा आबद्ध हुनकै लागि पिएसएल छाडेका थिए । ब्लेसिङले भने टी–२० विश्वकपमा १३ विकेट लिएका थिए । उनकै उत्कृष्ट बलिङ प्रदर्शनमा जिम्बावेले सुपर आठको स्थान पक्का गरेको थियो । 

सुझावित समाचार