मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

भृकुटीमण्डपका सरकारी संरचनामा संघसंस्था र व्यापारीको रजाइँ, भाडा नतिरेपछि २० स्टलमा लगाइयो ताला

काठमाडौं भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा र संरचनामा विभिन्न संघसंस्था र व्यक्तिहरूले वर्षौँदेखि रजाइँ गरिहेका थिए । राजनीतिक पहुँच र प्रभावमा कतिपयले त जबर्जस्ती संरचना हडपेरै बसे । परिषद्ले दर्जनौँपटक सूचना प्रकाशन गर्नेदेखि पत्र काट्ने काम गरिरह्यो । तर, उनीहरूको राजनीतिक र प्रशासनिक पहुँचको बाहुबलीका अगाडि परिषद्को कुनै सिप चलेन । उनीहरूले भृकुटीमण्डपको महत्वपूर्ण ठाउँमा आफ्नो अड्डा जमाउन छाडेनन् ।

अन्ततः वर्षौँपछि एकै झमटमा फिल्डमा उत्रेर परिषद्ले शक्तिशालीहरूको अड्डामा ताला लगाइदिएको छ । सोमबार परिषद्को टोलीले भृकुटीमण्डपमा सञ्चालनमा रहेका २० वटा स्टलमा सिल गरिदिएको छ । वर्षौंदेखि भाडा नतिरेका र तिर्न पनि नमानेका उनीहरूको बक्यौता चुलिएको थियो । यो बक्यौता आठ करोड ११ लाख ५६ हजार नाघेको छ । बक्यौता तिर्न सात दिनको म्याद दिएर परिषद्ले स्टलमा ताला लगाइदिएको हो । त्यसपछि पनि बक्यौता नतिरे कानुनबमोजिम थप कडा कारबाहीमा उत्रिने चेतावनी परिषद्ले दिएको छ ।

इ–बिडिङ ह्याकिङ प्रकरण : सार्वजनिक खरिदका कर्मचारीको पनि शंकास्पद भूमिका

डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्ष आह्वान गरेको  बोलपत्रमा रौतहट कन्ट्रक्सनले तोकिएको समयभन्दा केही मिनेट मात्र अघि ‘बिड’ संशोधन गर्यो । २ जेठको १२ बजेसम्मलाई बोलपत्र प्रविष्ट गर्ने समय रहेकामा ११ः५६ मा सो कम्पनीले विद्युतीय बोलपत्र प्रणालीमा ‘बिड’ संशोधन गरेको थियो । तर, सो कम्पनी ठेक्काको मूल्यांकनमै परेन । बोलपत्रका लागि अत्यावश्यक कागजपत्र विद्युतीय बोलपत्र प्रणालीमा सडक डिभिजन कार्यालयले मूल्यांकन गरेन । 

त्यसविरुद्ध सो कम्पनीले सार्वजनिक खरिद अनुगमनको कार्यालयमा उजुरी दियो । कार्यालयले छानबिन गर्दा सोही कम्पनीको आइडीबाट ह्याकिङ भएको गतिविधि देखियो । १२ आइपी ठेगानाबाट ‘लग इन’ भएको, विदेशको आइपी ठेगानासमेत प्रयोग भएको एकैपटक धेरै नेटवर्कमा ‘लग इन’ भएको छानबिनमा देखियो । जसले सो कम्पनीको युजर आइडीबाट विद्युतीय बोलपत्र प्रणालीमा ह्याकिङ भएको प्रस्ट देखिएको थियो । तर, यति गम्भीर विषयमा थप छानबिन नै नगरी कार्यालयले सो कम्पनीलाई दोष लगाएर सचेत गराई कार्यालय पन्छियो । 

०८२ सुरक्षाका दृष्टिले नाजुक वर्ष

सुरक्षाको दृष्टिले ०८२ नाजुक वर्षका रूपमा उभिन पुग्यो । विशेष गरी गत २३ र २४ भदौको जेन–जी विद्रोह यसका कारक बन्यो । कठिन क्षण मुलुकका चारवटै सुरक्षा संयन्त्र (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) ले भोगे । तर, नेपाल प्रहरीले भोगेको कठिन क्षण अरूको भन्दा भिन्न थियो, जसलाई ऊ सधैँका लागि बिर्सन चाहन्छ । 

२३ भदौको जेन–जी प्रदर्शन एकाएक हिंसात्मक बन्यो । प्रदर्शनमा उत्रिएका जेन–जीमाथि प्रहरीले घातक हतियार चलायो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको प्रदर्शनमा एकैदिन १७ जना युवा घटनास्थलमै ढले । आक्रोशित युवा २४ भदौमा झन् आक्रामक बने । युवाको आवरणमा उत्तेजक भिडले मुलुकभरका प्रहरी कार्यालय आगजनी गरे । प्रहरीको हतियार लुटे । रेडियो सेट कब्जा गरे । प्रहरीलाई बर्दी उतार्न लगाए । नांगेझार पारेर सडकमा मार्च गर्न लगाए । प्रहरी कार्यालय पूर्ण तवरले कब्जा लिए । 

उनीहरूको हर्कत यतिमै सीमित रहेन । काठमाडौंको महाराजगन्जस्थित प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटीकुटी हत्या गरे ।  भाग्दै गरेका उनलाई भिडले वृत्त प्रमुख डिएसपी निरन्जन थापा ठाने । उनीमाथि घेरा हालियो । समातिएका उनीमाथि अन्धाधुन मुक्का र लात्ती बर्सिए । उनले हात जोडेर ज्यानको भिख मागिरहे । तर, आक्रमण रोकिएन । असैह्य चोटपछि उनी सडकमै ढले । भित्तामा अढेस लगाएकै क्षण उनी अचेत बने । आक्रमण अनवरत चल्यो । उनको प्राण त्यहीँ गयो । 

प्रदर्शनको इपिसेन्टर बानेश्वर वृत्तलाई प्रदर्शनकारीले चौतर्फी घेरा हाले । कार्यालय परिसरतर्फ इँटा र पेट्रोल बम प्रहार भइरहे । पर्खालको काँडेतार नाघेर प्रदर्शनकारी कार्यालय परिसर छिरे । उत्तेजित भिडले कार्यालयको मूलगेट पनि तोडे । कोठा चहार्दै आगो लगाउन उत्रिए । भएका हतियार नियन्त्रणमा लिए । त्यही हतियार प्रहरीतर्फ सोझ्याएर बर्दी उतार्न लगाए । हात खडा गर्न लगाएर सडकमा मार्च गराए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सटल बस सेवा सुरु

सञ्चालनमा आएको ४० महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा सटल बस सेवा सुरु भएको छ। महानगर यातायात प्रालि काठमाडौं, कृषि विकास बै‌ंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले बस सेवा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। हाल सुविधा सम्पन्न विद्युतीय दुई बसबाट सेवा सुरु गरिएको हो। ती बस विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी सञ्चालन हुनेछ।

बस सेवाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यल शुभारम्भ गरेका थिए। विमानस्थलमा झरेका यात्रीहरूलाई बाहिर जान ट्याक्सीहरूले धेरै शुल्क लिएको गुनासो आएपछि त्यो गुनासोको अन्त्य गर्नेसँगै सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। सञ्चालनमा आएका बसहरू आउँदो १ साउनसम्म नि:शुल्क सञ्चालन गर्ने र त्यसपछि सशुल्क सञ्चालन गर्ने आचार्यले जानकारी दिए।

आउँदो असार मसान्तसम्मको प्रभावकारिता हेरेर त्यसपछि परिष्कृत रूपमा बस सञ्चालन गरिने जानकारी दिँदै आचार्यले साउन १ देखि पूर्वमा वेगनास ताल र पश्चिममा फेवातालसम्म बस सञ्चालन गरिने बताए। दुई सिफ्टमा सञ्चालन गरिने बस बिहान ६ बजेदेखि राति विमानस्थलमा जति समयसम्म उडान हुन्छ, सोही समयसम्म सञ्चालन हुने मेयर आचार्यले बताए।

न्यायाधीश नियुक्ति मेरिटोक्रेसी र प्रतिस्पर्धाबाट गर्ने

सरकारले न्यायाधीश नियुक्ति मेरिटोक्रेसी र प्रतिस्पर्धात्मक प्रणालीबाट गर्ने भएको छ। मंगलबार ‘राष्ट्रिय प्रतिबद्धता’सम्बन्धी मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सुसाशन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा सरकारले नियुक्तिमा इमानदारी र नैतिकता परीक्षणको विधि अवलम्बन गर्ने जनाएको छ।

त्यस्तै, राज्यका विभिन्न निकायमा कार्यरत कर्मचारीमा दलीय आबद्धता अन्त्य गर्न नीतिगत र कानुनी प्रबन्धका साथै सरकारी सेवाभित्रको दलीय ट्रेड युनियन खारेज गर्ने जनाएको छ । त्यस्तै, क्षमता, दक्षता र प्रतिस्पर्धात्मक सोच भएका थोरैले धेरै सेवा दिने आधुनिक निजामती सेवाको निर्माण गरिने मस्यौदामा उल्लेख गरिएको छ। 

चुनावले साँघुरिएको कांग्रेसमा फराकिलो विवाद

सदस्यता नवीकरणको मुद्दाले पुराना गुटगत टकराव पुनर्जीवित भएपछि कांग्रेसभित्रको अन्तर्द्वन्द्व फेरि उत्कर्षमा पुगेको छ । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै वेला संस्थापन पक्षले अघि सारेको निर्णयबाट इतरपक्ष आक्रोशित देखिएको छ । नेतृत्वबिचको अविश्वास, कार्यकर्तामा फैलिएको अन्योल र महाधिवेशनको अनिश्चितताले कांग्रेस विवाद झन्झन् फराकिलो हुँदै गएको छ ।

आधिकारिकता विवाद सुल्झिन नपाउँदै सदस्यता नवीकरणको मुद्दा पनि सर्वोच्च पुगेको छ, जसले दुई धारको विवाद पुनः सतहमा देखिएको छ । विशेष महाधिवेशनबाट आएको कांग्रेस कार्यसमितिले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने र आगामी असोजमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । उक्त निर्णयविरुद्ध पनि १४औँ महाधिवेशन पक्षधरले अदालतमा मुद्दा हालेको छ । उक्त मुद्दाको सुनुवाइ ३ वैशाखमै हुँदै छ ।

सदस्यता विवादकै कारण गत पुसमा निर्धारित १५औँ महाधिवेशन हुन नसकेपछि गगन थापा पक्षले तत्कालीन संस्थापन पक्षविनै विशेष महाधिवेशन गरेको थियो । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि त्यसको विरुद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च गएका थिए । उक्त मुद्दाको पनि ३ वैशाखका लागि पेसी तोकिएको छ । कांग्रेसको यो मुद्दालाई सर्वोच्चले अग्राधिकारमा समेत राखेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले मुद्दाको पेसी ३ वैशाखमा तोकेको छ । तर, दुवै पक्षका नेता आ–आफ्ना तयारी र प्रतिक्रियामा उत्रेका छन् ।

सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक (पूर्णपाठ)

सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’सम्बन्धी मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा राय–सुझाव दिन आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैशाख १० गतेभित्र सुझाव पेस गर्न अनुरोध गरेको हो।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त ६ दलका घोषणापत्र र प्रतिबद्धतालाई समेटेर तयार गरिएको उक्त मस्यौदा बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको शासकीय सुधार कार्यसूचीअन्तर्गत ल्याइएको जनाइएको छ।

मस्यौदामा आगामी पाँच वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। यसका लागि औसत सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने र कुल गार्हस्थ्य उत्पादनलाई करिब एक सय अर्ब डलरनजिक लैजाने योजना अघि सारिएको छ। कर प्रणाली सुधार गर्दै १० वर्षसम्म करदर स्थिर राख्ने र डिजिटल अर्थतन्त्रलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।

भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै ०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने तथा सूचना दिने व्यक्तिलाई संरक्षण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, सरकारी सेवाभित्र दलीय ट्रेड युनियन खारेज गर्ने, निजामती सेवामा दलीय प्रभाव अन्त्य गर्ने र नियुक्तिमा योग्यता प्रणाली लागू गर्ने प्रतिबद्धता पनि समेटिएको छ।

कृषि क्षेत्रमा किसान क्रेडिट कार्ड, योगदानमा आधारित किसान पेन्सन र बाँझो जमिन चक्लाबन्दी गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ। पर्यटन क्षेत्र सुधार गर्दै पाँच वर्षभित्र पर्यटकको औसत खर्च दोब्बर बनाउने तथा सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’ का रूपमा मनाउने लक्ष्य राखिएको छ।

प्रधानमन्त्रीसँग बागमतीका संघीय सांसदहरूको छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गरेका छन् । चालू आर्थिक वर्ष ०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजना प्रस्तुत गरेका थिए । उनीहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझाव दिएका थिए । छलफलमा धादिङ– १ बाट निर्वाचित सांसद आशिका तामाङले सिसडोल र बन्चरेडाँडामा आधुनिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्न, सवारी प्रदूषण नियन्त्रणका लागि ‘ग्रिन स्टिकर’को प्रभावकारी अनुगमन तथा चेपाङ र तामाङ समुदायका लागि विशेष शिक्षा ‘प्याकेज’ ल्याउन गरिन् । उनले सीतापाइला–धार्के वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । सिन्धुपाल्चोकका सांसद युवराज दुलालले बाँदर नियन्त्रणसम्बन्धी कानुन निर्माण, मेलम्ची र इन्द्रावती नदी किनारका जोखिमयुक्त बस्ती संरक्षण तथा मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भुक्तानी समस्या समाधान गर्न आग्रह गरे ।

पोखरामा खुँडा प्रहार गरि महिला हत्या प्रकरण : भान्जा र ज्वाई गरि थप दुई पक्राउ

पोखराको व्यस्त बजार सभागृहचोकमा २५ चैतमा धारियो हतियार खुँडा प्रहार गरि हत्या गरिएकी सिर्जना पौडेल केसीको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतक सृजनाका आफनै भान्जा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किमी बस्ने वर्ष २४ का बसन्त के.सी. र सौतातर्फकी छोरी ज्वाई जिल्ला पर्वत फलेवास नगरपालिका ९ भंगारा स्थायी वतन भई हाल पोखरा १६ लामाचौर बस्ने वर्ष २७ को नवराज पौडेल क्षेत्री रहेका कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

यसअघि प्रहरीले सृजनाको हत्या गरेको आरोपमा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नम्बर ११ शिल्मी घर भइ हाल पोखरा ६ बैदाम डेरा गरि बस्ने वर्ष २७ का सन्तोष भन्ने शिशिर केसी र शिशिरलाई सहयोग गर्ने पोखरा १७ रातोपैह्रो बस्ने वर्ष ३२ का कुशल परियारलाई पोखराबाट पक्राउ गरेको थियोे । आज पक्राउ परेको केसी शिशिरका आफनै भाई हुन् । 

पोखराको पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आएकी सिर्जना पसल बन्द गरि हिड्दै पोखरा–५ मालेपाटनतर्फ जादै गर्दा सभागृहचोकबाट सृजनाचोकतर्फ जाने क्रममा शिवालय चोक जाने गल्लीको कुनामा पछाडिबाट धारिले हतियार प्रयोग भएको थियो। सृजनालाई हतियार प्रहार गर्नेहरु स्कुटर चढेर भागेका थिए भने सडकपेटीमा हिड्दै गरेकी सृजनालाई पछाडिबाट धारिलो हतियार प्रहारपछि उनी चिच्याउँदै ढलेकी थिइन् । घाइते भएकी उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा उनको राती करिव ८: ३० बजेतिर मृत्यु भएको थियो ।

पोखरामा प्रहरीको ‘स्विप अपरेसन’, १८ जना पक्राउ, ४१ सवारी नियन्त्रणमा

पोखरामा प्रहरीले स्विप अपरेसन चलाएको छ। जसमा १८ जना पक्राउ परेका छन् भने ४१ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने तथा सवारीसाधन मोडिफाई गर्नेविरुद्ध प्रहरीले स्विप अपरेसन चलाएको हो। 

सुझावित समाचार