शीर्ष स्थानको आर्सनल कमजोर बर्नामाउथसँग पराजित भएसँगै इंग्लिस प्रिमियर लिगको उपाधि यात्रा खुला भएको छ । शनिबार भएको खेलमा आर्सनल घरेलु मैदान इमिरेट्समै २–१ ले स्तब्ध भयो । भ्रमणकारी टोली बर्नामाउथ तीन अंक हासिल गर्न सफल भयो ।
आर्सनलका लागि एक मात्रै गोल भिक्टोर ग्योकेरेसले गरेका थिए । बर्नामाउथका लागि इली जुनियर क्रोउपी र एलेक्स स्कटले समान एक गोल गरेका थिए । यो हारपछि पनि आर्सनल ३२ खेलमा ७० अंकसहित शीर्ष स्थानमा छ ।
तर, दोस्रो स्थानको म्यानचेस्टर सिटीले दुई खेल कम खेलेको छ । सिटीको ६१ अंक रहेको छ । यदि सिटीले सबै खेल जितेको अवस्थामा आर्सनलको उपाधि यात्रामा धक्का लाग्नेछ ।
आर्सनलसँग पराजित बर्नामाउथ ४५ अंकसहित दशौँ स्थानमा छ । उल्भ्स, बर्नली र टोटनह्याम रेलिगेसन क्षेत्रमा छन् । राति नै भएको अर्को खेलमा बेस्ट हम युनाइटेडले उल्भ्सलाई ४–० ले हराएको थियो ।