जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी वैशाख–३ गतेदेखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ। कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्त रूपमा महोत्सव गर्ने भएको हो।
विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक एवम् शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिएका छन्। प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी महोत्सव जिल्लामा पहिलोपटक आयोजना गरिएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२, सोल्मास्थित शुभम् फाउन्डेसनमा आयोजना हुने महोत्सवमा रोबो–कार रेसमा प्रथम हुनेलाई नगद रु. १५ हजार, द्वितीय हुनेलाई रु. दश हजार र तृतीय हुनेलाई रु. पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ। पिपुल्स च्वाइस् अवार्ड र मोस्ट प्राक्टिकल इनोभेसन अवार्डअन्तर्गत नगद रु. पाँच-पाँच हजार प्रदान गरिने संयोजक राईले जानकारी दिएका छन् ।
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीहरूबिच एआईसम्बन्धी निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको आयोजकले जनाएको छ। निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद रु. १५ हजार, रु. दश हजार र रु. पाँच हजार प्रदान गरिने हिमालय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सप्तमणि राईले जानकारी दिनुभएको छ।
जिल्लामा पहिलोपटक आयोजना गर्न लागिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवमा नास्टका वैज्ञानिकहरूसँग विद्यार्थीको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षण, धीरज राईलगायतका राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति राखिएको आयोजकले जानकारी दिएको छ। महोत्सवमा आउने नास्टका वैज्ञानिकहरूसँगको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षणले विज्ञान, प्रविधि र नवप्रवर्द्धनका क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि थप प्रोत्साहन मिल्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन्।