इन्धन तथा निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ ताप्लेजुङले ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ।
संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रियस्तरमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धनजन्य सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिले निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको जनाएको छ।
विज्ञप्तिमा निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, छड, ढुंगा, वालुवा, गिटीलगायत सामग्रीको मूल्य पनि निरन्तर बढिरहेको र बजारमा अभाव देखिँदा निर्माण व्यवसायीहरू थप समस्यामा परेको उल्लेख गरिएको छ। यसका साथै देशका विभिन्न स्थानमा देखिएका अन्य उद्योगसम्बन्धी समस्याले पनि निर्माण क्षेत्र थप प्रभावित भएको जनाइएको छ।
संघका अनुसार निर्माण उद्योगमा देखिएको जटिल अवस्थाबारे पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि ठोस पहल नभएको गुनासो गरिएको छ। मूल्य समायोजन राष्ट्र बैंकको सूचकअनुसार हुने व्यवस्था भए पनि वास्तविक बजार मूल्यसँग मेल नखाँदा व्यवसायीहरू आर्थिक मारमा परेको संघले जनाएको छ।
संघले तत्काल ‘मूल्य समायोजन मार्गदर्शन–२’ लागू गर्न, सबै निर्माण आयोजनामा मूल्य समायोजनको व्यवस्था गर्न तथा व्यवसायीहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
संघका महासचिव युगराज गुरुङ र अध्यक्ष जस बहादुर चेम्जोङले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि नेपाल सरकारसँग तत्काल पहल गर्न अपिल गरिएको छ।