बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने तयारी गरेको छ। भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबार बसेको बैठकले काठमाडौं उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सवारीसाधनको भाडा वृद्धि गर्न सिफारिस गरेको हो ।
प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रवीण श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको भाडा साविकको दरभन्दा २५.९६ प्रतिशतसम्म बढाउन सिफारिस गरिएको छ ।
त्यसैगरी, उपत्यकाबाहिर सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको भाडा १७.३५ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव गरिएको छ। ट्याक्सीको भाडादर १२.३९ प्रतिशतले बढाउने तथा मालवाहक सवारीसाधनको भाडा २६.७९ प्रतिशतले वृद्धि गर्ने निर्णय समितिले गरेको उनले जानकारी दिए।
‘प्रदेश भाडा निर्धारण समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८’ को नियम ४ को उपनियम (१) बमोजिम गठित समितिले नयाँ भाडादर निर्धारण गरी सिफारिस गरेको हो ।
उक्त समितिमा भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख संयोजक रहने व्यवस्था छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवस्था कार्यालयका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।
समितिले विद्युतीय सवारीसाधनको भाडादर भने हाललाई यथावत् राख्ने निर्णय गरेको छ । विद्युतीय सवारीको भाडादर ०७९ मै निर्धारण भइसकेकाले तत्काल कुनै फेरबदल नगर्ने निर्णय गरिएको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भाडा समायोजनको सिफारिस गरिएको हो । समितिले सिफारिस गरेको नयाँ भाडादर स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि निर्णय प्रदेश राजपत्रमा प्रकाशित गरिनेछ । राजपत्रमा सूचना प्रकाशित भएपछि नयाँ भाडादर औपचारिक रूपमा लागू हुने श्रेष्ठले जानकारी दिए ।