उदयपुरको बेलका नगरपालिका–८ स्थित बोप्ताङ डाँडामा पहिलोपटक कोशी प्रदेशस्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताले जिल्लामा साहसिक खेल पर्यटनको नयाँ सम्भावना उजागर गरेको छ।
बिहीबार आयोजित एक कार्यक्रमबिच बेलका नगरपालिकाका नगर प्रमुख अशोककुमार कार्कीले प्रतियोगिताको औपचारिक उद्घाटन गरे। नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघ, जिल्ला समिति उदयपुरको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो।
प्रतियोगितामा चार विदेशी पाइलटसहित कुल ३५ पाइलट सहभागी छन्। उद्घाटनसँगै पहिलो चरणमा आज २८ जनाले तीन–तीन राउन्ड टेकअफ गरेका छन् भने बाँकी प्रतिस्पर्धा दोस्रो चरणमा भोलि हुने संघको जिल्ला समिति अध्यक्ष ईश्वरमा राईले जानकारी दिए।
संघका जिल्ला समिति सचिव जितु रोइलाका अनुसार एक्युरेसी विधामा निर्धारित ‘पिन पोइन्ट’ नजिक अवतरण गर्ने पाइलटलाई कम अंक दिइने प्रणाली लागू गरिएको छ। सबैभन्दा कम अंक प्राप्त गर्ने प्रतियोगीलाई विजेता घोषित गरिनेछ। उनले भने, ‘मौसमले साथ दिएको खण्डमा भोलि सम्पन्न हुनेछ।’