काठमाडाैं- एकातिर आसन्न स्थानीय निर्वाचन तयारीका लागि कार्यकर्ताहरूको राष्ट्रिय भेला बोलाएको एमालेले अर्कोतर्फ सरकारविरोधी आन्दोलन गर्ने चेतावनी दिएको छ । सोहीअनुसार अध्यक्ष केपी ओलीले आन्दोलनको तयारीमा बस्न कार्यकर्तापंक्तिलाई निर्देशन दिएका छन् ।
केन्द्रीय कमिटीको पछिल्लो बैठकले स्थानीय निर्वाचन र आन्दोलन तयारीको दुई कार्यभार तय गरेको भन्दै ओलीले दुवै कार्यभार पूरा गर्नका लागि तयारीमा बस्न निर्देशित गरेका हुन् ।
‘केन्द्रीय कमिटीको बैठकले चुनाव र आन्दोलनको दुई कार्यभार तय गरेको छ । आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ । आन्दोलनको तयारीको मानसिकताका साथ सबै साथीहरू हरदम तयारीमा बस्नुस्,’ पार्टीसम्बद्ध अखिल नेपाल किसान महासंघको मंगलबारको कार्यक्रममा ओलीले भने, ‘आन्दोलन लामो तयारीबाट मात्र हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल स्वतः निस्किन्छ । त्यसैले आन्दोलन र चुनाव दुवै तयारी गर्नुस् ।’
ओलीले अहिले धक्का खाएजस्तो देखिए पनि एकताबद्ध भएर जुट्नेबित्तिकै पार्टी पुरानै अवस्थामा फर्किन सक्ने दाबी गरे ।
ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पछिल्लो मुद्दामा जनविश्वास गुमाउने गरी न्यायसम्पादनमा पूर्वाग्रह राखेको आरोप लगाए ।