- १९औँ आइपिएलको सातौँ खेलमा चेन्नई सुपर किंग्सविरुद्ध निर्धारित समयमा बलिङ पूरा गर्न नसकेपछि पन्जाबका श्रयश एयरलाई २५ प्रतिशत म्याच फीबराबर आर्थिक कारबाही
पन्जाब किंग्सका कप्तान श्रयश एयरले १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सविरुद्ध स्लो ओभर फ्याँकेका कारण २४ लाख भारु जरिवाना तिर्नुपर्ने भएको छ । आइपिएलको सातौँ खेलमा पन्जाबले चेन्नईलाई पाँच विकेटले हराउँदा कप्तान श्रयशले निर्धारित समयमा टोलीको बलिङ पूरा गर्न नसकेको आइपिएलले जनाएको छ ।
सो खेलमा कप्तान मात्र होइन, पन्जाबका अन्य सबै खेलाडी पनि आर्थिक दण्डित भएका छन् । उनीहरूमाथि ६ लाख भारु जरिवाना आइपिएलले तोकेको छ । आइपिएलको नियमअनुसार फ्रेन्चाइज टोलीका कप्तानले अर्को खेलमा स्लो ओभर बलिङ गरे खण्ड ३० लाख भारु जरिवना लाग्न सक्छ । यसका साथै उसले एक खेल प्रतिबन्धको सजाय पनि पाउनेछन् ।
चेन्नईविरुद्धको प्रतिस्पर्धामा कप्तान श्रयशले २९ बलमा ५० रन जोडेका थिए । उनले नेहलसँग ५९ रनको साझेदारी गदै पन्जाबको जित पक्का बनाएका थिए । पन्जाबले २०९ रनको लक्ष्य सहजै पछ्याएको थियो ।
अभिषेकलाई २५ प्रतिशत जरिवाना
आइपिएलले सनराइजर्स हैदराबादका ओपनर अभिषेक शर्माले कोड अफ कन्डक्ट तोडेका कारण २५ प्रतिशत फी जरिवाना लगाएको छ । अभिषेकले कोलकाता नाइट राइडर्सविरुद्ध खेल भावनाविपरीत काम गरेको आइपिएलको भनाइ छ । गैरजिम्मेवारी कार्य गरेका कारण उनलाई एक डिमेरिट अंक दिइएको छ । अभिषेकले आफ्नो गल्ती स्वीकार गरेका छन् ।
उनले आइपिएलको लेभल १ अनुसार कारवाही स्विकार भएको अनुशासन कमिटीलाई जानकारी दिएका छन् । ‘खेल दौरान मैले भावनाविपरीत काम गरेको स्वीकार गर्छु,’ उनले भनेका छन्, ‘आइपिएलको नियमअनुसार अम्पायरले दिने कारबाही भोग्न तयार छु ।’ आइपिएलको आचारसंहिताको आर्टिकल २.३ अनुसार अभिषेकले नियम तोडेका हुन् । यस आर्टिकलमा खेलाडीले मैदानमा विपक्षी खेलाडी वा अस्वाभाविक काम गरे आर्टिक २.३ को नियम तोडिएको मानिनेछ । आचारसंहिताले यस्तो कार्यलाई अनुचित व्यवहार भनेको छ ।
क्याचआउट हुँदा रिसाएका अभिषेक
कोलकाताविरुद्धको खेलमा अभिषेक ८.४ ओभरमा क्याचआउट भएका थिए । ब्लेसिङ मुजरवानीले प्रतिघण्टा ११२ किमिको स्पिडमा फ्याँकेको बललाई उनले पुल सट लगाएका थिए । अभिषेकले प्रहार गरेको बल डिप स्क्वायरमा वरुण चक्रवर्थीबाट क्याचआउट भएका थिए । लगभग बाउन्ड्री लाइनमै क्याचआउट भएपछि अभिषेकले त्यसलाई सुरुमा स्वीकार गरेनन् । त्यसपछि क्याचआउटको निर्णय थर्ड अम्पायरबाट भयो ।
थर्ड अम्पायरको निर्णयबाट उनले असन्तुष्ट जनाएका थिए । टिभी रिप्लेमा वरुणले लिएको क्याच फरक–फरक कोणबाट हेरिएको थियो । क्याच आउट हुनुअघि उनले २१ बलमा ४८ रन बनाएका थिए । आइपिएलको लेभल १ को नियम उल्लंघन गर्ने खेलाडीको हकमा म्याच रेफ्रीकै रिपोर्ट अन्तिम हुने छ । फिल्ड रेफ्रीले प्रस्ताव गरेको कारवाही आइपिएलले गर्नुपर्ने छ ।
अभिषेकले आफ्नो गल्ति स्विकार गरेका कारण सजाय कम गरिएको आइपिएलले जनाएको छ । तर, एक अंक डिमेरिट पाउँदा उनले अव अर्को खेलमा सावधानी रूपमा खेल्नुपर्नेछ । आगामी कुनै पनि खेलमा यो अंक प्राप्त हुँदा उनले एक खेल गुमाउने पक्का छ । एक खेलाडीले चार डिमेरिट अंक पाउँदा दुई वा सो भन्दा बढी खेल गुमाउने छन् ।