प्रधानमन्त्री कप क्रिकेट : गण्डकीले हरायो एपिएफलाई

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण


गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबलाई पहिलोपटक पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा बागमतीले एपिएफमाथि ४३ रनको जित निकालेको हो । मूलपानी मैदानको आउटफिल्ड भिजेको कारण खेल २१ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको गण्डकीले २१ ओभरमा सात विकेट गुमाएर एक सय ५० रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा एपिएफ १८.३ ओभरमा एक सय सात रनमा समेटिँदा गण्डकीले पहिलोपटक विभागीय टोलीलाई हरायो । गण्डकीको ऐतिहासिक जितमा बलर अपराजित पौडेलले घातक बलिङ गरेका थिए । उनले ३१ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे । दुवै इनिङ्समा एकै अर्धशतकसमेत बनेनन् । 

हारसँगै एपिएफको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ । एपिएफले जय ट्रफीमा स्थान बनाउन संघर्ष गर्नुपर्ने देखिन्छ । तीन अंकका साथ एपिएफ सातौँ स्थानमा छ । शीर्ष चार टोली मात्र जय ट्रफीका लागि छनोट हुने नेपाल क्रिकेट संघले जनाएको छ । गण्डकी तीन अंकका साथ आठौँ स्थानमा छ । लक्ष्य पछ्याएको इनिङ्समा एपिएफका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाएका थिए । 

एपिएफका भरपर्दा ओपनर लोकेश बमले नौ बलमा एक छक्का र दुई चौका प्रहार गरी १४ रन तथा आसिफ शेखले १४ बलमा दुई चौका प्रहार गरी १४ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेल तीन रनमा आउट भए । अमर रौटेला र अभिनाश बोहरा भने डक आउट भए । गण्डकीका लागि ओपनर गौरव विकले सर्वाधिक रूपमा ३७ रन जोडेका थिए । उनले ३६ बलमा तीन चौका र दुई छक्का हिर्काएका थिए । एपिएफका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभरमा ३५ रन खर्चिएका थिए । 

बागमतीविरुद्ध आर्मीको रोमाञ्चक जित
प्रधानमन्त्री कपअन्तर्गत १८औँ खेलमा विभागीय टोली त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध रोमाञ्चक तीन विकेटको जित निकालेको छ । मूलपानी मैदानमा २८ ओभरमा झारिएको प्रतिस्पर्धामा बागमतीले पहिलो ब्याटिङ गरी २८ ओभरमा सात विकेट गुमाएर दुई सय आठ रनको बलियो योगफल बनाएको थियो । प्रत्युत्तरमा आर्मीले २७.५ ओभरमा सात विकेटको क्षतिमा दुई सय १० रन जोड्दै रोमाञ्चक जित निकाल्यो । आर्मीको जितमा कुशल मल्लले ५८ बलमा ९० रनको आक्रामक इनिङ्स खेलेका थिए । उनी खेलकै म्यान अफ दी म्याच भए । उनले आठ छक्का र तीन चौका प्रहार गरेका थिए । लक्ष्य पछ्याएको इनिङ्सको २७.५ ओभरमा कुशलले छक्का प्रहार गरी जित दिलाएका हुन् । बागमतीलाई हराएको आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । अन्तिम ओभरमा आर्मीलाई १३ रन आवश्यकता थियो । कुशल र साहव आलम क्रिजमा थिए । बागमतीका बलर रिजन ढकालले अन्तिम ओभर फ्याँकेका थिए । उनले अन्तिम ओभरमा आशा गरेअनुरूप प्रदर्शन गर्न सकेनन् । जितपछि आर्मी चार खेलमा सात अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको पुलिस र तेस्रो स्थानको मधेशले समान ५ अंक बनाएका छन् । बागमती २ अंकसहित नवौँ स्थानमा छ । हारले बागमतीको जय ट्रफीमा स्थान बनाउने सम्भावना निकै कमजार बनेको छ । 

बागमतीविरुद्ध चम्किए कुशल 
आर्मीको जितमा कुशलले सर्वाधिक अविजित ९० रन बनाए । शतकीय इनिङ्स खेल्न १० रनले चुके पनि उनले टोलीलाई महत्वपूर्ण दुई अंक दिलाउन सफल भए । बागमतीविरुद्ध जित निकाल्न आर्मीलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । कुशलले रिजनको ओभरमा समान चौका र एक छक्का हिर्काउँदै जित दिलाएका थिए । आर्मीका लागि ओपनर तृतराज दासले ४८ बलमा ५४ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काएका हुन् । नरेन साउदले २६ रनको योगदान गरेका थिए । आर्मीका कप्तान विनोद भण्डारीले नौ रन र अर्जुन साउदले १४ रन बनाए । बागमतीका लागि ईशान पाण्डे र विवेक राना मगरले समान दुई विकेट लिए । कप्तान सन्दीप र सोनु देवकोटाले समान एक विकेट लिएका थिए । ओपनर आशुतोष घिरैयाले सर्वाधिक ३८ रन बनाएका थिए । ३६ बलको सामना गरेका उनले पाँच चौका हिर्काएका थिए । पवन थापाले ३७ बलमा ३५ रन र विवेक थापामगरले २४ बलमा ३० रन बनाए । 

सुझावित समाचार