मधेशका सांसदद्वारा नयाँ सरकारलाई शुभकामना, संघीयता कार्यान्वयनमा जोड

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

मधेश प्रदेशका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई शुभकामना दिँदै संघीयता कार्यान्वयन, समावेशिता र विकास निर्माणमा ठोस काम गर्न आग्रह गरेका छन्।

आइतबार बसेको मधेश प्रदेश सभाको १४औं बैठकमा सांसदहरूले नवगठित सरकारप्रति उच्च अपेक्षा व्यक्त गर्दै संघीयताको कार्यान्वयनलाई व्यवहारमा उतार्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

बैठकमा अधिकांश सांसदहरूले संविधानले दिएको अधिकार अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउन दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले प्रदेश स्थापना भएको आठ वर्ष बितिसक्दा पनि संघीयताको अनुभूति जनतासम्म नपुगेको उल्लेख गर्दै स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता सरोज यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको बताउँदै आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताए। पूर्व मुख्यमन्त्री समेत रहेका उनले सरकारलाई प्रतिशोधको राजनीति नगरी विधि र कानुनअनुसार अघि बढ्न सुझाव दिए। साथै, मधेश प्रदेशलाई कम प्राथमिकता दिइएको आरोप लगाउँदै जनमतअनुसार बजेट र विकास सुनिश्चित गर्नुपर्ने धारणा राखे।

जसपाका सांसद जयनुल राईनले बहुवर्षीय योजनाहरू अधुरै रहेको भन्दै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए। उनले ती योजनाहरू शीघ्र सम्पन्न गरी जनविश्वास कायम गर्नुपर्ने बताए। जनमतका सांसद चन्दनकुमार सिंहले संघीयताको मर्मअनुसार प्रदेशको अधिकार र पहिचान सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरे।

यसैबीच, सांसद जिवछी कुमारी यादवले दाइजो प्रथा अन्त्य र महिलामाथि हुने हिंसा नियन्त्रणका लागि प्रभावकारी नीति ल्याउन सरकारको ध्यानाकर्षण गराइन्। जसपाकी सासद ललिता दासले मधेशी दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्दै समावेशी शासनको आवश्यकता रहेको बताइन् । 

त्यसैगरी, कांग्रेसका सांसद तथा पूर्वमन्त्री कौशल रायले विगतका अधुरा योजनाहरू पूरा नगरेसम्म जनअपेक्षा पूरा नहुने उल्लेख गर्दै नयाँ सरकारलाई परिणाममुखी काममा केन्द्रित हुन सुझाव दिए।
 

सुझावित समाचार