प्रधानमन्त्री कप क्रिकेट : वर्षाले दुवै खेल नतिजाविहीन

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार काठमाडौंमा तय भएका दुवै खेल वर्षाले गर्दा नतिजाविहीन भएका छन् । लगातार काठमाडौंमा वर्षा भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पिएम कपका १५ र १६औँ खेल रद्द भए ।  त्यसपछि दुवै टोलीले समान एक अंक जोडेका छन् । 

विभागीय डर्बीमा एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेशसँग खेलेको थियो । 

तालिकामा पुलिस क्लब ४ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ । पुलिसले पाँच खेल खेल्दा चार खेलमा नतिजा आएको छ । उसले बागमतीलाई ७ विकेट तथा एपिएफलाई १८५ रनले हराएको थियो । आर्मीसँग भने पुलिस २२ रनले पराजित भएको थियो । 

समान अंक भए पनि नेट रनरेटमा अर्को विभागीय टोली आर्मी दोस्रो स्थानमा  छ । आर्मीले पुलिस र गण्डकीलाई हराएको थियो ।   एपिएफ ३ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा छ । ३ खेलमा १ अंक मात्र जोडेको गण्डकी प्रदेश पुछारमा छ । 

प्रतियोगितामा आइतबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब तथा एपिएफ क्लब र गण्डकी प्रदेश खेल्नेछन् ।

क्यानले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशसहित १० टिम सहभागी भएका छन् । सहभागी टिमबाट शीर्ष चार टिम जय ट्रफी खेल्न छनोट हुनेछन् ।

२२ ओभरको खेल हुँदा वर्षा
माथिल्लो मूलपानी मैदानमा गण्डकी र नेपाल पुलिसबिचको खेल तय थियो । तर, वर्षा हुँदा २६ ओभरको खेल मात्रै भयो । यद्यपि, लगातार वर्षापछि ५० ओभरको खेल २२ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङ गरेको उसले १८ ओभरमा १०३ रन बनाउँदा दुई विकेट गुमाएको थियो । त्यसपछि लगातार वर्षा भयो । वर्षा रोकिए पनि आउटफिल्ड भिजेका कारण खेल नै नहुने स्थिति बनेको थियो । गण्डकीका लागि दीपक डुम्रेले १२ बलमा अविजित ३२ रन बनाएका थिए । ओपनर अर्जुन कुमाल पनि ५४ बलमा २४ रन बनाउन सके । पुलिसका करण केसी र ललित राजवंशीले समान एक विकेट लिएका थिए ।

एपिएफले ८५ रन बनाउँदा रोकियो खेल
तल्लो मूलपानी क्रिकेट मैदानमा विभागीय डर्बी भएको थियो । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा थिए । रातिबाटै वर्षा हुँदा बिहानको खेलमा टस ढिलागरी सुरुभयो । आउटफिल्ड भिजेका कारण ढिला गरी खेल हुँदा २० ओभरमा छोट्याइएको थियो । टस आर्मीले जित्यो । त्यसपछि उसले बलिङ गर्दा एपिएफ ब्याटिङ सुरु गरेको थियो । 

९.६ ओभरको खेल पूरा हुँदा पुनः वर्षा भयो । यतिवेलासम्म एपिएफले ३ विकेट गुमाउँदा ८५ रन जोडेको थियो । लगातार वर्षापछि यो खेल नतिजाविहीन बन्न पुग्यो । एपिएफका कप्तान रोहित पौडेलले १७ बलमा २६ रन बनाएर अविजित थिए । सन्दीप जोराले ११ रन बनाए । यसअघि ओपनरद्वय दीपक बोहराले १८ र आसिफ सेखले २१ रन बनाएको थियो । आर्मीका अलराउन्डर कुशल मल्लले दुई तथा बसिर अहमदले एक विकेट लिएका थिए । 

सुझावित समाचार